२०८१ फागुन २७ गते १७:५६ नरेन्द्र विष्ट
काठमाडौं । अटो व्यवसायीहरूको दशैंको रूपमा हेरिने ‘नाडा अटो शो’को विषयमा धेरैको चासो हुन्छ । नयाँ अटो शोमा नयाँ सवारी साधनको प्रदर्शनले सेवाग्राहीलाई नयाँ सवारी खरिद गर्न लालायित मात्रै बनाउँदैन, व्यवसायीहरुले नाडा अटो शोमा स्टल राखेर आकर्षक आम्दानी र ब्राण्डिङ गर्ने अवसर पनि पाउँछन् ।
लामो समयदेखि एकजुट भएर नाडा अटो शोको आयोजना गर्दै आएका अटो व्यवसायी यस पटक भने विभाजित बने । अर्थात् नाडाजस्तै अर्कै संस्था खोलेर ‘हामी अब फरक-फरक भयौं’ भन्ने सन्देश अटो व्यवसायीले दिएका छन् ।
उसो त नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रका केही पदाधिकारीले औपचारिक रूपमा अटो व्यवसायी विभाजन भएको विषय स्वीकार गर्न तयार नभए पनि उनीसँगको अनौपचारिक कुराकानीमा भने नाडाभित्रको विवाद खुलस्त रूपमा सुनाउँछन् । परिणामस्वरूप नाडा विभाजन भएर अहिले अर्को संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसन’ दर्ता भइसकेको छ । जसको तदर्थ समितिको संयोजक रितुसिंह वैद्य बनिसकेकी छन् । अबको ६ महिनाभित्र साधारणसभा बोलाएर नयाँ कार्यसमिति निर्माण गर्नुपर्ने दायित्व व्यवसायी वैद्यसामु छ ।
अटो व्यवसायीहरू विभाजित हुँदा धेरैको चासोको विषय थियो अब नाडा अटो शोको आयोजना कुन संस्थाले गर्छ ? नाडा अटो शोको आयोजना नाडाले गर्दै आएको भएपनि त्यसमा सहभागी हुने अधिकांश ठूला अटो व्यवसायीहरु अहिले नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसनमा सक्रिय बनेका छन् ।
उनीहरूले नाडाको सदस्यता नत्यागेर कायमै राखे पनि उनीहरु अब नाडाभन्दा बढी सक्रिय र प्राथमिकता नयाँ संस्थालाई राख्नेछन् भन्ने विषय बुझ्न धेरै कठिन छैन । यही विषयलाई अड्कल गर्दै अब नाडा कुन संस्थाले आयोजना गर्छ ? नाडा अटो शोमा उनीहरु सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषय चासोको रूपमा हेरिएको थियो ।
यही बीचमा नाडाले आगामी आर्थिक वर्षको भदौमा हुने १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ को स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरेर नाडा अटो शो आयोजना गर्ने अधिकार आफूमा भएको प्रष्ट्याएको छ । विगतमा केही ढिला रजिष्ट्रेशन खुल्ला गर्ने गरेको नाडाले यस पटक भने धेरैको कौतुहलता मेट्न चाँडै नै जिष्ट्रेशन खुल्ला गरेको छ ।
नाडाका उपाध्यक्ष पुस्कर ओझाका अनुसार नाडा अटो शो आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुनेछ । यसवर्ष पनि गोलाप्रथा प्रक्रियाबाटै स्टल उपलब्ध गराइने उनको भनाइ छ ।
उपाध्यक्ष ओझाले नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल्स कम्पनीहरूबाट सोधखोज भएपछि छिट्टै नै रजिष्ट्रेशन खुल्ला गरिएको जानकारी दिए ।
नाडा अटो शोको लागि रजिष्टेशन खुल्ला भएपनि अब देशका ठूला व्यवसायीहरु सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई पनि चासोको रुपमा हेरिएको छ । किनकि नाडा विभाजन भएर गाडी आयात गर्ने ठूलो व्यवसायी नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसनमा आवद्ध भएका छन् । यो संस्थामा आवद्ध व्यवसायीले अब नाडाभन्दा बढी प्राथमिकता नयाँ संस्थालाई दिन्छन् । नाडासँगको विवादले उनीहरु अब नाडा अटो शोमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई चासोका रुपमा हेरिन थालिएको छ ।
किनकि नाडामा विवाद भएर नै अहिले टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स, बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक, किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ, होन्डा आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ, एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टर्स, हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स, ओमोडा गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स र फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्डले नयाँ संस्थाको सदस्यता लिएका छन् ।
यस्तै, एमडब्लू, टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्ककर्पोरेट, बजाज बाइकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी र रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमेटिभ पनि नयाँ सदस्य बनेर नयाँ संस्थामा आवद्ध भएका छन् । नेपालका बिग कर्पोरेट हाउसले नेतृत्व गरेका यी कम्पनीहरुको कारण नै विगतमा नाडा अटो शो सफलताका साथ सम्पन्न हुने गरेको थियो भने यी अटो कम्पनीले लै नाडा अटो शोमा बढी स्पेस प्रयोग गरेर नाडाको बिजनेस बढाउन पनि सहयोग गर्ने गरेका थिए ।
अहिले अटो व्यवसायीबीच नै विवाद बढ्दा अब बिग कर्पोरेट हाउसले सञ्चालन गरेका यी कम्पनी नाडा अटो शोमा सहभागी हुन्छन् वा नयाँ संस्था आफैले यस्तै किसिमको पृथक प्रदर्शनी आयोजना गर्छ भन्ने विषय चासोका रुपमा हेर्न थालिएको छ ।
नयाँ संस्था स्थापना भएपनि ठूला कर्पोरेट आउसले सञ्चालन गरेका कम्पनीका सदस्य नाडामा निष्कृयजस्तै बनेको एक अधिकारी बताउँछन् । विगतमा नियमित छलफल तथा भेटघाट हुने भए पनि अहिले उनीहरू नाडाप्रति वेवास्ता गरेको जस्तो देखिएको नाडाका एक पदाधिकारीले बताए ।
नाडाले भने नाडा अटो शो २०२५ मा मा विगतको जस्तै सबै व्यवसायीले सहभागी जनाउने अपेक्षा र विश्वास गरेको छ । नाडामा हाल गाडी बिक्रेतासँगै वर्कसप सञ्चालकदेखि स्पेयर पाट्र्स बिक्रेता र सबडिलरहरु पनि आवद्ध छन् ।
‘नयाँ संस्था खोलिए पनि त्यहाँ सदस्य नाडामा पनि छन्, दुवै संस्थालाई सँगै अगाडि बढाउनुपर्ने सबैको जिम्मेवारी हो, नाडा अटो शो नाडाले नै आयोजना गर्ने हो, यस विषयमा कुनैको केही आपत्ति छैन,’ उपाध्यक्ष ओझाले भने ।
नाडाका उपाध्यक्ष उपाध्यक्ष तेजनारायण शाह पनि नयाँ संस्था स्थापनाले नाडालाई कुनै प्रभाव र असर नपर्ने धारणा राख्छन् । ‘संस्था विभाजन भएर बलियो हुँदैन, बलियो बनाउनलाई सबैले मिलेरै जानुपर्छ, संस्था खोलिनु सामान्य हो । तर, त्यसलाई कार्यान्वयन गरेर गरेर अगाडि बढाउन सक्नु पनि चुनौती छ,’ उनले भने ।
नयाँ संस्था खोल्नुलाई नाडा अध्यक्ष करण चौधरीले भने आपत्ति जनाउँदै आएका छन् । उनले व्यवसायी विभाजित भएर काम गर्न नसकिने धारणा राख्दै आएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.