२०८१ फागुन २८ गते १७:१८ सन्तोष रोकाया
काठमाडौं । नेपाली कथन छ, ‘हुने हार, दैव नटार ।’ हो, बैंकर बालनरसिंह (बीएन) घर्तीको जीवनमा पनि यस्तै भयो । जे नहुनु थियो, त्यही भयो । तर, उनी त्यसबाट रत्तिभर पनि विचलित भएनन् । उनले आफूलाई जबरजस्त तेजमात्रै बनाएनन्, नेपाली समाज र सिंगो बैंकिङ क्षेत्रलाई पनि एउटा गतिलो पाठ सिकाए । र, ‘१२ वर्षपछि बगेको खोला पनि फर्कन्छ’ भन्ने कथनलाई पुनः स्मरण गराउन विवश बनाए ।
एउटा ऊर्जावान बैंकर बीएन घर्ती केही गरौं, पृथक र रचनात्मक गरौं, जे गरे पनि स्वदेशमै गरौं भन्ने मानसिकताका साथ बैंकिङ क्षेत्रमा प्रवेश गर्छन् । करिब ६ वर्ष पाल्पामा शिक्षण पेसामा बिताएका बिएनले २ वर्ष काठमाडौंमा बसेर एउटा प्रकाशन गृहमा मार्केटिङ म्यानेजरको काम गरे । विसं २०५३ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेका उनी विसं २०५४ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरे ।
उनले तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरे । त्यसपछि तत्कालीन एनआईसी बैंकमा काम गरे । एनआईसी बैंकमा हुँदा उनी नेपाली बैंकिङ क्षेत्रका एक अब्बल बैंकरको रूपमा परिचित भइसकेका थिए । बैंकरसँगको मिजासिलो सम्बन्ध र बैंकिङ क्षेत्रमा उनले देखाएको अब्बलताको तारिफ गर्नेहरू त्यतिखेर पनि धेरै थिए ।
त्यतिखेर अधिकांशले अनौपचारिक गफगाफमा कुरा गर्ने गरेका थिए, ‘बीएन घर्ती छिट्टै नै वाणिज्य बैंकको सीईओ बन्छन् ।’ उनी एनआईसी बैंकमा गनेमानेको बैंकरका रूपमा परिचित भइसकेका थिए । उनी सञ्चारमाध्यमको आँखामा परिसकेका थिए । बैंकका उच्च व्यवस्थापकको रोजाइमा पर्न थालिसकेका थिए । बैंकका लगानीकर्ताले पत्याउन थालिसकेका थिए ।
उनमा पनि थप फड्को मार्ने महत्त्वाकांक्षा पलायो । त्यतिबेलै उनको भेट भयो कमल ज्ञवालीसँग । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक थिए । बैंकका मूख्य लगानीकर्ता, सीईओ वा व्यवस्थापक उनै ज्ञवाली थिए । अहिलेजस्तो बैंकको सीईओ र सञ्चालक फरक-फरक व्यक्ति हुने नीति त्यतिखरे बनिसकेको थिएन । त्यसैले पनि किष्ट बैंकमा कमलको राज चल्थ्यो । उनी बैंकिङ क्षेत्रकै राजकुमारका रूपमा उदाइरहेका थिए ।
सञ्चारमाध्यम पनि कमल ज्ञवालीको सफलताको कथा सुन्न र सुनाउन तारान्तार गर्थे । तिनै ज्ञवालीसँग सहकार्य गरेर बैंकिङ क्षेत्रको नेतृत्व गर्ने योजना बीएनले पनि बनाए । र, सुरु भयो उनीहरूको सहकार्य । एनआईसी बैंकमा एक किसिमको छवि निर्माण गरेका बीएन विसं २०६६ सालमा किष्ट बैंकको सहायक महाप्रबन्धक बने । जसरी बीएनले छिट्टै नै बैंकिङ क्षेत्रको नेतृत्व गर्ने महत्त्वाकांक्षा बनाएका थिए, त्यसमा भरपुर साथ ज्ञवालीले पनि दिए । सह-महाप्रबन्धक भएको एक वर्षमै उनी नायब महाप्रबन्धक बने । बैंकको नेतृत्व गर्ने बीएनको रहर नजिकिँदै थियो ।
त्यहीबीचमा ज्ञवालीले प्रबन्ध सञ्चालकबाट राजीनामा दिएपछि विसं २०७० सालमा घर्ती किष्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए । किष्ट बैंकमा प्रत्येक वर्ष भएको उनको बढुवाले उनको मिहिनेत र इमानदारिता देखाउँथ्यो । बीएन बैंकिङमा कति इमान्दार र संवेदनशील छन् भन्ने विषय उनको बढुवाबाट बुझिन्थ्यो । तर विडम्बना, बैंकिङ क्षेत्रमा नाम, दाम कमाएका कमल ज्ञवाली अन्ततः बदनाम बने । त्यसबाट बैंकर बीएन घर्ती पनि अछुतो रहन सकेनन् ।
भएको के थियो ?
किष्ट बैंकले जम्को प्रकाशनलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । नियामक नेपाल राष्ट्र बैंकमा धितोको मूल्यांकनभन्दा बढी कर्जा प्रवाह भएको उजुरी परेपछि राष्ट्र बैंकले सो कर्जा र उच्च व्यवस्थापकमाथि छानबिन गर्यो । यो कर्जा ज्ञवाली प्रबन्ध सञ्चालक रहेकै बेला प्रवाह भएको थियो ।
नेपाल राष्ट्र बैंकले छानबिन गर्दा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा १५ करोड रुपैयाँ ऋण दिएको देखियो । राष्ट्र बैंकले किष्ट बैंकलाई तीन करोड रुपैयाँ फिर्ता ल्याउन निर्देशन दिएपछि साे रकम फिर्ता पनि आयो । तर, राष्ट्र बैंकले ज्ञवालीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्यो भने ऋणी जम्कोका सञ्चालक किशोर ढकाललाई बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गर्यो । पछि अनुसन्धानको क्रममा सो ऋण पनि ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि उनी पनि अनुसन्धानमा तानिए । उनले बैंकको प्रबन्ध सञ्चालकबाट राजीनामा दिए । बैंकका निक्षेपकर्ताबीच बैंकप्रतिको विश्वास गुम्न नदिन बैंकर घर्तीलाई कार्यवाहकसीईओको जिम्मेवारी दिइयो ।
तर, विषय त्यतिमै सेलाएन । अब ज्ञवालीसँगै बैंकको उच्च व्यवस्थापन र कर्मचारीमाथि पनि अनुसन्धान हुने भयो । बीएन पनि अनुसन्धानमा तानिए । अनुसन्धान गर्दा जम्कोको कर्जा स्वीकृत समितिमा संयोजक ज्ञवालीसँगै बैंकर घर्ती र अन्य दुई जना बैंकर पनि रहेको खुल्यो । बीएनले पनि कर्जाको फाइलमा हस्ताक्षर गरेको भेटेपछि उनी पनि अनुसन्धानमा तानिए । ज्ञवालीले ऋणीलाई राम्रोसँग चिनेको भनेर तलकाे कर्मचारीलाई कन्भिन्स गराएर ऋण स्वीकृत गराउन भूमिका खेलेको बयानको क्रममा बाहिरियो । सोही आधारमा बीएनले पनि कर्जाको फाइलमा ज्ञवालीको विश्वास गरेर हस्ताक्षर गरेका थिए ।
त्यही एउटा हस्ताक्षरले बीएनसँगै अन्य कर्मचारीलाई पनि जेल पुर्यायो । निकै विश्वास गरेका कमल ज्ञवालीको एउटा वचनले हस्ताक्षर गर्दा बीएनको जीवनमा धब्बा लाग्यो । त्यो धब्बा टकटक्याउन उनलाई एक दशक समय लाग्यो । यो एक दशकको समयमा उनले भोगेको शारीरिक, मानसिक र सामाजिक क्षतिको फेहरिस्त बताइनसक्नु छ । तर, उनले अन्ततः आफू स्वच्छ छविको बैंकर भएर प्रमाणित गराएका छन् ।
कर्जा अपचलन तथा बैंकिङ कसुरमा उनीसहित प्रगुण, मधुसुधन र ईश्वर गुरुङलाई तत्कालीन पुनरावेदन अदालत पाटनले दुई वर्ष कैद सजाय सुनाएको थियो । त्यसमा चित्त नबुझेपछि उनीहरू सो फैसलाविरुद्द सर्वोच्च पुगेका थिए । सर्वोच्चले केही महिनाअघि मात्रै उनीहरूलाई सफाइ दियो । अर्थात् कर्जा अपचलनमा उनीहरूको संलग्नता नरहेको प्रमाणित गरिदियो । ज्ञवालीसहितका केही सञ्चालक भने दोषी ठहर भए ।
फेरि बैंकिङमै फर्किए
उसो त एक दशकको समय बीएन घर्तीका लागि सम्झनलायक बनेन । तथापि, उनले त्यो समयमा पनि हरेस खाएनन् । बैंकिङ क्षेत्रबाट धेरै टाढा भएनन्, गुमनाम बनेन् । बैंकिङ क्षेत्रका प्यारा बनिरहे उनी ।
विभिन्न बैंकरलाई पढाउने, तालिम तथा प्रशिक्षण दिने कलेजका विद्यार्थीहरूलाई अनुभव प्रदान गर्ने काममा उनी सरिक बनिरहे । यहीबीचमा उनले ‘बैंकिङ अनुशान दीगो विकासका लागि’ पुस्तक पनि सार्वजनिक गरे ।
आफूमाथि लागेको निराधार आरोप एकदिन खुइलिएर जान्छ र आफू निर्दोष प्रमाणित हुन्छु भन्नेमा विश्वस्त थिए उनी। त्यसैले पनि उनले एक दशकको अवधिमा कुनै हार मानेनन् । निर्धक्कका साथ अगाडि बढे, आफ्नो काम गरे । बैंकिङ क्षेत्रको विकास र बैंकरको क्षमता अभिवृद्धिमा उनी लागिरहे ।
उसो त बैंकिङ क्षेत्र पनि ‘बीएनले गलत गरेको छैन’ भन्नेमा विश्वस्त थियो । किनकि आफ्ना कुरा तटस्थरूपमा राख्ने र आफ्नो बुद्धि र विवेकले भ्याएसम्म गलत नगर्ने ‘क्यारेक्टर’ बीएन घर्तीमा छ । धेरैले उनको यही स्वभाव मन पराउँछन् । आफू सकसमा हुँदा पनि बैंकिङ क्षेत्रको सुधारमा लाग्ने उनै घर्तीलाई गत पुसमा सामना बैंकिङ गुठीले ७५ हजार रुपैयाँ राशिको सामना बैंकिङ पुरस्कार प्रदान गर्यो ।
आफ्नो व्यक्तिगत विषयमा सामाजिक सञ्जालमा खासै राख्न नरुचाउने बीएनले पुरस्कार पाएको विषय सार्वजनिक गर्दै भनेका थिए, ‘विगत ११ वर्ष संघर्षपूर्ण रह्यो, जस्तोसुकै परिस्थितिमा पनि म बैंकिङभन्दा टाढा रहन सकिनँ, यसैलाई मेरो धर्म र कर्म सम्झें, प्रत्यक्ष-अप्रत्यक्षरूपमा यही क्षेत्रमा क्रियाशील रहें, मेरा दुःखका दिनहरूमा प्रेरणा दिनु हुने, तन, मनले सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णलाई यो पुरस्कार समर्पित गर्न चाहन्छु ।’
अहिले बैंकर बीएन घर्ती पुनः बैंकिङमा फर्किएका छन् । उनी चार वर्षका लागि बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । बितेको एक दशकलाई भुल्दै बैंकिङ क्षेत्रले बैंकर बीएनलाई पुनः स्वागत गरेको छ । बैंकिङ क्षेत्रले पुनः एउटा अनुभवी, क्षमतावान र अब्बल बैंकर पाएको छ । बैंकिङ क्षेत्र र बैंकरले गरेको भरोसा र विश्वासलाई पुनःस्थापित गर्नुपर्ने चुनौती बैंकर बीएन घर्तीमाथि छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.