आर्थिक पत्रकारलाई ७ लाख ५० हजार बीमाङ्कको जीवन बीमा निःशुल्क, अब मोटर बीमा भन्दा जीवन बीमा सस्तो

  २०७४ वैशाख २१ गते १८:४१     विकासन्युज

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन) मा सदस्यता लिएका आर्थिक पत्रकारहरुको ७ लाख ५० हजार रुपैयाँ बीमाङ्कको निःशुल्क जीवन बीमा हुने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत आर्थिक पत्रकार समाजमा आवद्ध २५४ जना पत्रकारहरुलाई जीवन बीमा निःशुल्क गर्ने निर्णय गरेको हो ।

२ लाख ५० हजार रुपैयाँ बीमाङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ बीमा लेखमा २ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा र २ लाख ५० हजार पूर्ण अशक्तता बीमाको सुविधा थप गरी जनही ७ लाख ५० हजार रुपैयाँ बीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।
यो बीमा एक वर्षको लागि हुनेछ । त्यसपछि पुनः नविकरण गर्न सकिने सेजनका अध्यक्ष गोकर्ण अवस्थीले बताए । कम्पनीले सेजनसँग सहकार्य गरी जीवन बीमा गराउन गरेको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए ।

विहीबार राजधानीमा आयोजित कार्यक्रमा कम्पनीका अध्यक्ष रमेशप्रसाद गुप्ताले कुल १९ करोड ५ लाख बीमाङ्कको बीमा लेख सेजनका अध्यक्ष अवस्थीलाई हस्तान्तरण गरे । साङ्केतिक रुपमा एकमुष्ट बीमा लेख हस्तान्तरण गरिए पनि सेजनका सबै सदस्य विधिपूर्वक डकुमेन्टहरु कम्पनीलाई बुझाउनु पर्नेछ । डकुमेन्टहरु संकलन कार्य सेजन सचिवालयमार्फत हुने उनले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पत्रकारहरुले ठूलो जोखिम लिएर काम गरिरहेको बताउँदै उनीहरुको जोखिम वहन गर्न सहयोग गर्ने उदेश्यले सेजनसँगको सहकार्यमा आर्थिक पत्रकारहरुको सामूहिक बीमा गराउने कार्य गरेको बताए । उनले नेपालमा बीमाको इतिहास ५० वर्ष लामो भए पनि स्वेच्छाले बीमा गर्ने, बीमा लेखहरु मध्ये पनि राम्रो बीमा लेख छानेर लिने अभ्यास कम भएको बताए । ‘हामी कोट किन्दा १० वटा हेरेर एउटा छान्छौं । तर बीमा गर्दा करकापको भरमा गर्छौ । कुन बीमा पोलिसी बढी राम्रो छ भनेर छान्ने प्रयास गर्दैनौं’–झाले भने ।

जीवन बीमालाई जनस्तरमा व्यापक रुपमा लैजाने उदेश्यका साथ कम्पनीले दैनिक १० रुपैयाँमा १० लाखको जीवन बीमा पोलिसी ल्याएको उनले बताए । ‘मानिसहरुमा जीवन बीमा महँगो छ भन्ने भ्रम छ । त्यो भ्रम हटाउन हामीले नयाँ पोलिसी ल्याएको छौं’ उनले भने–‘एउटा मोटर साईकल वा कारको बीमा भन्दा जीवन बीमाको  प्रिमियम (बीमा शुल्क) कम भएको पोलिसी हामीले ल्याएका छौं ।’

कम्पनीको अध्यक्ष रमेशकुमार गुम्ताले सेजनसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले देशमा आर्थिक विकासको वहस चलाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न आर्थिक पत्रकारले खेलेको भूमिकाको प्रशंशा गरे । नेपाल चम्बेर अफ कमर्शका महासचिव समेत रहेका अग्रवालले भने–‘आर्थिक पत्रकारहरुको भूमिकाले निजी क्षेत्रलाई उत्साहित गरिरहेको छ । हामीलाई नयाँ काम गर्न प्रेरित गरिरहेको छ ।’