साझा यातायातले समेतले समेत ताेकिएभन्दा बढी भाडा लियाे, सरकारी लगानीकाे दुरूपयाेग

  २०७४ जेठ २५ गते ७:२२     विकासन्युज

काठमाडौं । सरकार र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन हुने ५८ वटा यातायातका साधनको अनुगमन गरिएकोमा साझा यातायातसहितका ३६ वटाले तोकिएको भन्दा बढी भाडा लिएको पाइएको जानकारी गराएको छ। साझा बस चलाउन सरकारले हरेक वर्ष अनुदान दिदै अाएकाे छ ।

अनुगमन टोलीले तोकिएको भन्दा बढी भाडा लिने सवारीचालकलाई पाँच हजार जरिवानासहित तोकिएको भन्दा बढी लिइएको भाडा फिर्ता दिन लगाइएको विभागका प्रवक्ता एवं बजार अनुगमन संयोजक श्रेष्ठले जानकारी गराए। उनका अनुसार तोकिएको भन्दा बढी भाडा फिर्ता गर्न अटेर गर्ने दुई सवारीसाधनलाई नियन्त्रणमा लिइएको र तिनीहरूलाई उपभोक्ता ठगीको मुद्दा लगाई कारबाही अगाडि बढाइनेछ।

सरकारले पटक–पटक माछा मासु पसलको अनुगमन गरे पनि अधिकांश पसलले सडेगलेको र दुर्गन्धित माछामासु बिक्री वितरण गर्ने गरेको पाइएको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा विभाग, सुरक्षाकर्मी, पत्रकार उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले बुधबार भक्तपुर क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गर्दा यस्तो पाइएको हो ।

विभागका निर्देशक एवं बजार अनुगमन प्रमुख लक्ष्मण श्रेष्ठको नेतृत्वमा गरिएको अनुगमनका क्रममा भक्तपुरस्थित विके साह मिटसपको फ्रिजमा राखिएको कुखुराको मासुमा कीरा पर्नुका साथै पसलमा छिर्न नसक्ने गरी दुर्गन्ध रहेको पाइएपछि तत्काल मासुको कारोबार नगर्न र सफासुग्घर गर्न निर्देशन दिइएको छ ।

निर्देशक श्रेष्ठले उपभोक्ताको स्वास्थ्यमा हानि हुने खालको सडेगलेको मासु बिक्री गरेकाले निज व्यापारीको स्थानीय सुरक्षाकर्मीको निगरानीमा सरसफाई गरेर तत्काल दुर्गन्ध हटाउन निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार अनुगमनका क्रममा भक्तपुर ठिमी चारदोबाटोस्थित काठमाडौँ कोल्ड स्टोरमा विक्रीका लागि राखिएको २४ केजी खसी र कुखुराको मासु पनि दुर्गन्धित हुनुका साथै ढुसी लागेको देखिएपछि नष्ट गरियो । मासु पसलकै अनुगमनका क्रममा भक्तपुरकै व्यासीस्थित बारिहरी अनिमाको कोल्डस्टोरबाट पनि कुहिएको दुर्गन्धित १९ केजी मासु नष्ट गरिएको अनुगमन संयोजक श्रेष्ठले जानकारी गराए।

कैफियत देखिएका मासु व्यवसायीलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको भन्दै उनले व्यवसायीसँगको बयानपछि थप कारबाही प्रक्रिया अघि बढाउने बताए। मङ्गलबार भक्तपुर क्षेत्रमा सञ्चालित सातवटा मासु पसलको अनुगमन गर्ने क्रममा अधिकांशले सामान्य सरसफाईमा र नियम पालनामा ध्यान नदिएको पाइएकाले पसललेलाई मूल्यसूची र साइनबोर्ड राख्न, कामदारले माक्स, पन्जा तथा एप्रोनको प्रयोग गर्न, दर्ता गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिइएको पनि जानकारी गराइयो ।

यसैगरी अनुगमन टोलीले उपत्यकाका विभिन्न ठाउँमा वटा मिठाई पसल र तीनवटा पेट्रोल पम्प अनुगमन गरेकोमा सामान्य अवस्था पाइएको पनि जानकारी गराइएको छ । यस्तै बुधबार अनुगमनमा खटिएको अर्को अनुगमन टोलीले उपत्यकाका विभिन्न ठाउँमा चारवटा पेट्रोल पम्पको अनुगमन गरिएकोमा जोरपाटीस्थित जीएमवि इन्टरप्राईजेज जोरपाटीको मिटरमा कैफियत देखिएकाले उक्त पम्पको कारोबार रोक्का गरिएको जनाएको छ ।

विभागका अनुसार स्वास्थ्यसेवातर्फ जम्मा ११ वटा औषधि पसलको अनुगमन गरिएकोमा अधिकांशमा औषधि तथा कस्मेटिक आइटम बिना ईजाजत बिक्री वितरण गरेको पाइएकाले इजाजत लिएर मात्र बिक्री गर्न निर्देशन दिइएको छ । त्यसैगरी चारवटा खानेपानी उद्योगको अनुगमन गरी जार र बोटलको पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि विभागले जनाएको छ । गाेरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.