२०७४ असार ६ गते ६:५१ विकासन्युज
काठमाडौं । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।
दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ ।
अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ईईजीुनामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट ९बिटा ब्रेन वेभ० विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।
अनुसन्धानकर्ता पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच/पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न इथिकल एप्रुवलु दिएको छ । धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्, अनुसन्धानकर्ता शाहले भन्नुभयो, प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।
नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो । नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ ।
आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उहाँहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गर्नुभएको थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ ।
प्रविधि विकासको सोच
बूढानीलकण्ठबाट ए लेभल उत्तीर्ण शाह र सेन्ट जेभियर्सबाट प्लस टु उत्तीर्ण पाण्डेले यस्तो प्रविधि विकास गर्ने सोच चार वर्षअघि नै बनाउनुभएको थियो । कक्षा ११ अध्ययन क्रममा शाह बिरामी भएका बेला माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उहाँको ईईजी गरिएको थियो । ईईजी गर्ने क्रममा उहाँ शान्त बस्दा ब्रेन वेभ स्थिर भएको र बढी सोच्दा ब्रेन वेभ पनि गतिशील भएका थिए ।
ब्रेन वेभको विशेषताबारे मनन् गर्नुभएका उहाँले त्यसबारे साथी पाण्डेलाई बताउनुभयो । त्यसपछि दुवै जनाले त्यस विषयमा अध्ययन गर्न थाल्नुभयो । आफ्नो अध्ययन पनि जारी राख्नुपर्ने बाध्यताले प्रविधि विकास समयमै सम्पन्न गर्न सक्नुभएन उहाँहरूले ।
अध्ययनपछिको फुर्सदमा उहाँहरू नास्टमा गई अनुसन्धानका लागि अनुमति माग्नुभयो । प्लस टु मात्रै सकेका उहाँहरूलाई यति ठूलो कामको अनुसन्धान जिम्मा दिन नास्ट डरायो । गम्भीर प्रकृतिका बिरामीमा प्रयोग गरिने साधनको परिकल्पना गरिएको थियो त्यसमा ।
तर, धाउन नछाडेपछि उहाँहरूको दृढता र लगनशीलता देखेर नास्टले स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिन आग्रह गर्यो । परिषद्को प्रोटोकलमा प्लस टु उत्तीर्णलाई अनुसन्धान गर्न दिने व्यवस्था थिएन ।
त्यसपछि उहाँहरूले अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख एवं न्युरो सर्जन डा।वसन्त पन्तलाई को इन्भेस्टिगेटरका रूपमा अनुसन्धानमा सहभागी गराउने निर्णय गरेपछि बल्ल अनुसन्धानका लागि परिषद् र नास्टबाट अनुमति पाउनुभएको थियो । अन्नपूर्ण पाेस्टबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.