२०७४ असार ६ गते १२:२० विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । मंगलबार बोर्डको पत्र पाएपछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकेको हो । धितोपत्र बोर्डको छानबिन नटुगिंदासम्म सेयर कारोबार नखुल्ने नेपाल स्टक एक्सचेञ्जका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए ।
बोनस, हकप्रद र साधारणसभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएपछि कारोबार बन्द भएको हो ।
६ वर्षपछि साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको छ । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
गोप्य सूचना चुहाएर सेयरको मुल्य बढाएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि एभरेष्टको सेयर कारोबार रोकिएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
बोर्डको पत्र प्राप्त हुनासाथ नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २६०० रुपैंयाको हाराहारीमा पुगेको थियो ।
एभरेष्ट इन्स्योरेन्सले गोप्य सूचना चुहाएर सेयर कारोबार गराएको भन्दै गत विकासन्युजले गत शुक्रबार मुख्य समाचार बनाएको थियो भने देशविकास पत्रिकामा अग्रपृष्ठमा समाचार प्रकाशित भएको थियो ।
याे पनि पढ्नुहाेस् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.