देवः विकास बैंकको शाखा चितवनको माडीमा

  २०७४ असार १७ गते १५:२८     विकासन्युज

चितवन। देवः विकास बैंक लिमिटेडले दक्षिण चितवनको माडी नगरपालिका वडा नं। ३, वसन्तपुरमा शाखा कार्यालय खोलेको छ । शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको औल्याएका छन् । साथै , उनले निर्यातमुखी व्यवसायमा जोड दिंदै बैंकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक बृद्धि उच्च हुने प्रष्ट पारेका थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरवासीहरुको आर्थिक आवश्यकता पूरा गर्न र माडी उपत्यकामा आर्थिक गतिविधि बढाउन आगामी दिनमा बैंक अझै क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । मन्तव्यको क्रममा उनले नगरको विकासका लागि बैंकसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

त्यस्तै , माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्यले शुभकामना मन्तव्य दिंदै माडी क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धिका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने आशा व्यक्त गरेका हुन्। बैंकका संचालक समितिका संचालक बज्र गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बैंकले हालसम्म रु। १० अर्ब निक्षेप संकलन गरी ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको र २०७३ चैत्र मसान्तसम्ममा रु. ३१ करोड ४० लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भएको बताइएको थियो । बैंकका संचालक विजयराज शर्मा भुषाल, महिला समाजसेवी श्रीमती सविता बराल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।