एक वर्षमा ३६५ दिन किन ? किन ७०० दिनलाई मानिएन ? – दिवाकर पन्त

  २०७४ साउन २१ गते १८:३१     विकासन्युज

दिवाकर पन्त नेपाली पत्रकारितामा डेढ दशकदेखि सक्रिय नाम हो । खासगरी देशको आर्थिक पत्रकारितामा पन्तले कलम चलाउदै आएका पन्त पछिल्लो समययता ज्योतिषका रुपमा समेत सक्रिय छन् । हालै मात्र ज्योतिषहरुको छाता संस्था “नेपाल ज्योतिष परिषद्” को सदस्य बनेका पन्त, युवा ज्योतिषका रुपमा परिचित छन् ।  त्रिभुवन विश्वविद्यालयबाट आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका पन्तले नेपाल ल कलेजबाट कानूनमा एलएलबी अर्थात स्नातक गर्दै छन् । ज्योतिषको सान्दर्भिकता विषयमा केन्द्रीत रहेर ज्योतिष पन्तसंग गरेको कुराकानी ।


ज्योतिष दिवाकर पन्त

तपाई अब पत्रकार की ज्योतिष ?

म डेढ दशकदेखि पत्रकारितामा छु । पत्रकारितामा रहँदै गर्दा मैले ज्योतिष विद्या अध्ययन गरें र यसलाई अहिले म सेवामा उतारेको छु । यसरी हेर्दा यो दुई विधा मेरा लागि छुट्याएर हेर्न सकिने विधा रहेन । संगसंगै हेर्यो भने ठिक होला कि ।

सरल शब्दमा भन्नुपर्दा ज्योतिष के हो ?

ज्योतिष हाम्रो पूर्विय जीवनको ठूलो सम्पत्ति हो । जसले विज्ञानमा आधारित गणितीय तथ्यांकमा टेकेर समाज र त्यसको सबै भन्दा सानो एकाई अर्थात हरेक व्यक्तिको विगत वर्तमान र भविष्यमाथि दृष्टि राख्दछ । खगोलिय ग्रहहरुको चाल समाजको युनिट अर्थात ब्यक्तिसम्म के कसरी पर्छ ? त्यसको प्रभाव कस्तो रहन्छ ? कुन समयमा कुन ग्रह उसको जीवनमा प्रभावी रहन्छ ? भन्ने शुक्ष्म अध्ययन यस विधाले गर्छ । अर्थात कुनै एक ब्यक्तिको समग्र जीवन अध्ययन गर्दछ । उसको सम्भावना केलाउछ, उसको कमजोरी केलाउछ, उसको अनुकुल समयबारे विश्लेषण गर्दछ, उसको कठिन समयका बारेमा अपनाउनु पर्ने सजगता दर्शाउछ ।

मानिसलाई केवल उसको आसपासको सराउण्डिङले मात्र प्रभाव पार्दैन । खगोलिय प्रभाव समेत उसको जीवनमा पर्छ र त्यसले उसको ब्यक्तित्व, जीवन, पारिवारिक जीवन, स्वभाव, आय आर्जन, स्वास्थ्य, पेशा ब्यवसाय लगायतका तमाम शुक्ष्म तहमा के कस्तो प्रभाव पार्दछ भनि अध्ययन ज्योतिषमा गरिन्छ ।

त्यसैले ज्योषित समाजको पथप्रदर्शक हो भन्दा हुन्छ । यसले जहिल्यै सकारात्मक मार्गदर्शन गर्दछ । ज्योतिषले कहिल्यै पनि नराम्रो बाटो अपनाउ भनेर कसैलाई पनि सल्लाह दिंदैन । सदैव सद्मार्गबाट जीवनलाई अघि बढाउ भन्ने थेमेटिक सन्देश ज्योतिषको रहन्छ । त्यसैले ज्योतिष ज्योति हो ।

आधुनिक युगमा विज्ञान प्रविधिको प्रभाव बढेको छ र ज्योतिष क्षेत्रलाई विज्ञान नभई परम्परागत विश्वास मात्र हो पनि भनिन्छ । ज्योतिष शास्त्र विज्ञान हो कि परम्परागत ज्ञान मात्र हो ?

संसारमा जति सुकै विज्ञान प्रविधिको विकास भए पनि आखिर मान्छे मान्छे नै हो । विज्ञान प्रविधिले मानिसको स्वरुपलाई पनि परिवर्तन गर्न सकेको छ ? सबै कुरो भनिए झै विज्ञान प्रविधिले मात्र गरेको भए यो संसारमा दुःख भन्ने चिज नै नहुनु पर्ने तर किन छ ? संसारका विकसित देशका समाजमा देखिएका समस्या कति जटिल खाले छन । र, त्यहाँ नयाँ समस्याहरु किन पैदा भैराखेको छ । अमेरिकामा एउटा १६ वर्षको केटाले बन्दुक पड्काएर आफना स्कूलका पचासौ सहपाठी मारिदिन्छ । यता नेपालमा यति जटिलताका बीच पनि नेपाली हासेर बसिराखेको देख्न पाइन्छ । यी दुई घटनालाई केलाएर हेर्नु भयो भने पत्ता लाग्छ कि सबै भन्दा प्रमुख तत्व “मन” हो । मन ठिक हुनुपर्छ । मन ठिक हुन “दवाईको गोलि” खाएर हुन्छ त ? अहँ हुदैन । हो त्यसैले मानिसको मन ठिक पारि समाजलाई ठिक अवस्थामा राख्ने पूर्विय सभ्यतामा विभिन्न संस्कृति तथा विधि छन् । त्यसमध्येको एक वैज्ञानिक आधारमा आधारित क्षेत्र ज्योतिष हो ।

ज्योतिषलाई परम्परागत विश्वास मात्र हो कि भनेर आशंका गर्नेहरु पनि भेटिन्छन् हाम्रो समाजमा । विश्वास सबै भन्दा प्रमुख तत्व हो । र, त्यो मनबाट आउाछ । त्यसैले मन ठिक हुनुपर्छ । अब रह्यो ज्योतिष विश्वासमा मात्र अडेको छ त ? होईन, ज्योतिष विज्ञान हो । दुनियाका समाज आफ्नो परिवेशमा जीवन जीउने संघर्ष वरिपरि घुमिराखेका बेला हाम्रा पूर्वज ऋषिमुनिले हामी यानेकी पृथ्वीलाई केवल पृथ्वीका गतिविधिले मात्र प्रभाव पार्ने होईन खगोलले पनि प्रभाव पार्दाे रहेछ भनि अध्ययन गरे र सृष्टि गरे यो ज्योतिष विद्या । दुनियाँलाई सौर्य प्रणालीको ज्ञान वैदिक ज्योतिषले दिएको हो । यो दुनियालाई सूर्य उर्जाको स्रोत भएको जानकारी यसले दिएको हो । सौर्य प्रणालीको अर्डर यसले भनेको हो, जसलाई आधुनिक विज्ञानले उही वैदिक ज्योतिषले भनेको अर्डरलाई सदर मात्र गरेको हो ।

अझ अर्काे महत्वपूर्ण कुरा सौर्य वर्ष गणना जसलाई अग्रेजीमा सोलार क्यालेण्डर भनिन्छ, चन्द्र वर्ष गणना जसलाई अग्रेजीमा लुनार क्यालेण्डर भनिन्छ त्यसको प्रादुर्भाव वैदिक ज्योतिषले गरेको हो । वर्षमा १२ महिना ३६५ दिन हुन्छ भन्ने तथ्य वैदिक ज्योतिषले भनेको छ, उसो भए आधुनिक विज्ञानले किन १८ महिनाको एक वर्ष अनि ७०० दिनको एक वर्ष गणना प्रणाली भनेन ? त्यही वैदिक ज्ञानलाई नै मान्यता दिएको हो नि आखिर । उसो भए यो वैदिक ज्योतिष कसरी परम्परागत विश्वास मात्र भयो, विज्ञान भएन ? यो विज्ञान हो ।

अर्काे कुरा ज्योतिष विद्याले जुन दिन चन्द्र ग्रहण, खण्डग्रास र खग्रास लाग्छ भन्छ त्यो दिन लाग्छ । जुन दिन सूर्य ग्रहण लाग्छ भन्छ त्यो दिन लाग्छ । यो विज्ञान नभए त फरक पर्नु पर्ने नि ? तसर्थ तपाई हामी जुन संस्कारका आधारमा हाम्रो जीवन पद्धति निर्धारित छ, हाम्रा पिता पुर्खा यसका सर्जक हुन यसमा गौरव गर्न सिकौ । पहिला यसको महत्व बुझौ । आज जसरी योग जसलाई पश्चिमाहरुले योगा भनि भन्छन यसको विश्वब्यापीकरण देखिरहेका छौ । त्यसैगरी शुक्ष्म रुपमा वैदिक ज्योतिष तर्फ विश्वको ध्यान मोडिंदै छ । तर तपाई हामी यो विज्ञान हो कि होईन भनि सधै एउटै वहसमा फसि रहेका छौ । खोई यसको थप विकासमा हामीले ध्यान केन्द्रीत गर्न सकेको ? यस भित्र तमाम सिमा होलान तर ज्योतिषको मूल तत्व विज्ञान हो ।

ज्योतिष विज्ञान शुद्ध विज्ञान हो कि सामाजिक ?

ज्योतिषमा मुलत दुइ विधा छन्, गणित र फलित । यसरी हेर्दा गणितले विज्ञानमा आधारित गणितिय गणनाबाट ग्रह प्रष्टा लगायतका अन्य अध्ययन गर्दछ । त्यसमा टेकेर फलितले विश्लेषण गर्दछ ।

ज्योतिषका विषयमा यस क्षेत्रमा लाग्ने विद्धानहरुको आ–आफनै केही दृष्टिकोण छन् । ज्योतिषमा केही भौगोलिक, सामाजिक र क्षेत्रगत मान्यता पनि छन् । मेरो अध्ययन र विश्लेषणमा ज्योतिष ६० प्रतिशत पियोर साइन्स र म्याथमेटिकल साईन्स नै हो । २० प्रतिशत सामाजिक विज्ञान हो । १० प्रतिशत मनोविज्ञान हो । १० प्रतिशत विश्वास अर्थात फेथ हो । यी सबैको शतप्रतिशत प्रतिबिम्व ज्योतिष हो । साथै यसमा अलिकति अध्यात्म विज्ञानको कुरा पनि जोडिन आउछ, यसलाई यहाँनेर मैले प्रतिशतमा ब्यक्त गरेको छैन ।

एउटा राम्रो ज्योतिषले केवल गणितिय गणनाबाट ग्रह प्रष्टा गरेर कुण्डली बनाएर मात्र पुग्दैन । उसले समाजको राम्रो अध्ययन गरेको हुनुपर्छ । ज्योतिष एउटा कुशल मनोपरामर्शदाता पनि हो । ज्योतिषकोमा मानिसहरु निकै गम्भिर खाले समस्या र अन्योल बोकेर आएका समेत हुन्छन् । त्यस्तो अवस्थामा राम्रो ज्योतिषले राम्रो सल्लाह दिएर त्यो समस्याबाट मुक्ति दिलाउने उपायहरु सल्लाह दिएको हुन्छ । उनीहरुलाई सहि परामर्श दिन सक्नु राम्रो ज्योतिषको खुवी हुन आउँछ । त्यसैले ज्योतिष केवल ज्योतिष शिक्षा लिएको मात्र होईन, आधुनिक दृष्टिकोण राख्न सक्ने, विश्व डाइमेन्सनलाई पनि बुझेको हुनुपर्छ । अन्धविश्वासलाई प्रवद्र्धन गर्ने होईन विज्ञानलाई प्रवद्र्धन गर्ने खालको हुनु पर्छ । भाग्यमा मात्र निर्भर गराउने होईन कर्म र भाग्यको मेल गराउने खालको दृष्टिकोण लिएको हुनु पर्छ । त्यसैले ज्योतिष विद्याले समाजको भलाई, ब्यक्तिलाई मानसिक, शारीरिक र मनोवैज्ञानिक रुपमा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह खेलेको हुन्छ ।

सामाजिक रुपमा हेर्नु हुन्छ भने समाजलाई सकारात्मक पाटोमा डोर्रयाउन भूमिका खेलेका हुन्छन् । ज्योतिषले कहिल्यै पनि नशा गर, रक्सी पिउ, चुरोट खाउ, रण्डीवाजी गर, खराब काम गर, लुट, हत्या गर, समाज बिगार, भाडभैलो मच्चाउ भन्दैन । मानिसका विभिन्न समस्यालाई विश्लेषण गरि उपयुक्त विकल्प सहितका परामर्श दिएर उनीहरुलाई समस्याबाट मुक्त राखि खुशी र सुखी बनाउन प्रयासरत हुन्छ । त्यसैले ज्योतिष विद्यामा सोसल साईन्स र मनोविज्ञानको पक्ष सिक्काको दुई पाटा झै जोडिन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.