२०७४ साउन २९ गते १७:४१ विकासन्युज
काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढीका कारण तराईका जिल्ला डुवानमा परेपछि विधुतको माग घटेको छ ।
बाढीले तराइ क्षेत्रमा जगमग्न भएपछि माग घट्दा अधिकाँश जलविद्युत आयोजनाबाट आधा भन्दा कम मात्र बिजुली उत्पादन भइरहेको छ । तराइमा धेरै सव–स्टेशन तथा फिडर बन्द भएपछि १४४ मेगावाटको कालीगण्डकी ए बाट १००, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट २५, ६९ मेगावाटको मस्र्याङदीबाट ३२ मेगावाट मात्र बिजुली उत्पादन भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
पुर्वाञ्चलनमा ठुलो क्षति भएका कारण विद्युत आपूर्ति गर्न एक साता लाग्ने उनले जानकारी दिए । अन्य क्षेत्रमा पानी कम हुनसाथ विद्युत आपूर्ति सुचारु हुने छ ।
बालाजु–त्रिशुली ६६ केभी सर्किट ट्रिपिंग भएपछि चिलिमे र त्रिशुली ७÷७ र देबिघाट आयोजनाबाट ५ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । गण्डक विद्युत्गृह बाढीको कारणले विहान ५ बजेदेखि बन्द छ ।
ढल्केबर – मुजफरपुर अन्तरदेशिय लाइनबाट लिनुपर्ने १०० मेगावाट मध्ये माग नभएपछि ७ मेगावाट देखि ३३ मेगावाट मात्र आयात भइरहेको उनले जानकारी दिए । माग नभएपछि बिहारबाट हुने सम्पूर्ण आयात बन्द गरिएको छ्र । टनकपुरबाट हुने आयात पनि बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
सवस्टेशन बाढीले डुवाएपछि पुर्वी तराईका जिल्लामा विद्युत आपूर्ति पुरै बन्द भएको छ । यस्तै दमक–गोदक प्रसारणलाइन अवरुद्ध भएपछि माईलगायत अन्य करिडोरमा रहेका आयोजनाबाट गरी ५० मेगावाट बिजुली आपूर्ति बन्द भएको प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले जानकारी दिए ।
क्षति पुगेका मुख्य प्रसारणलाइन
दमक–गोधक खण्डको १३२ केभी लाइनअन्र्तगत चुलाचुलीमा रहेको टावर नम्बर १७ बाढीको कारण ढलेको छ । हेटौडा सव–स्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभी. टावर पल्टिन लागेपछि औद्योगिक फिडर सर्किट नम्बर १,२ बन्द गरिएकको छ । दुहवी सब–स्टेशन, दमकसब–स्टेशन, अनारमनी सव–स्टेशन जलमग्न हुँदा पूर्ण रुपमा बन्द छ ।
यसैगरी चपुर–पथलैया १३२ केभी. सर्किट नम्बर २, २७ गते रातिदेखि चालु हुन सकेको छैन् । ढल्केबर–चपुर १३२ केभी. सर्किट नम्बर १, २७ गते दिउसोदेखि अबरुद्ध छ । बालाजु–त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २, २७ गते रातिदेखि बन्द भएको छ ।
यस्तै नयाँ संरचनामा रक्सौल–परवानीपुर १३२ के.भीको भलुहीमा टावर नम्बर १७ र १६ मा बाढीले बेस खनेपछि आपूर्ति अबरुद्ध भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.