२०७४ साउन ३० गते ७:४२ विकासन्युज
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराईमधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ ।
कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढीका कारण तराई/मधेसमा धान, तरकारी, फलफूलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ । बैठकमा मन्त्री यादवले अन्नभण्डार मानिने तराई(मधेसमा पछिल्लो समय भएको धान रोपाइँ पनि डुबानमा परेको बताए । खानाका लागि घरमा जोहो गरी राखिएको चामल, दाल र तरकारी पनि बाढीले बगाउँदा तराई(मधेसका सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् ।
‘बाढीका कारण तराई(मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ’, उनले भने ।बाढी आउनुअघि तराई/मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषा र सर्लाहीमा ५०/५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९/९९, रौतहट र चितवनमा ९०/९०, कपिलवस्तु र बाँकेमा ८५/८५, बर्दियामा ९१ र दाङमा ७५ प्रतिशतहाराहारी रोपाइँ भएको थियो ।
प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ । पूर्वका उक्त जिल्लामा मात्र १४ करोडको तरकारी नष्ट भएको छ भने घरमा सञ्चित गरी राखिएको १२ करोड मूल्यबराबरको खाद्यान्न नष्ट भएको छ ।
धानबाली डुबानका कारण यो वर्ष खाद्य सुरक्षामा गम्भीर असर पुर्याउन सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री यादवले बाढीका कारण किसानले पनि दीर्घकालीन रूपमा घाटा व्यहोर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा। सुरोज पोखरेलका अनुसार बाढीका कारण धानबाली, तरकारीबाली र माछासम्बन्धी फैलिन सक्ने विभिन्न प्रकारका रोगको प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।
कहाँ कति क्षति ?
मन्त्रालयका अनुसार पर्सामा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । २० हजार हेक्टरको तरकारी नष्ट भएको छ । बारामा ५५ हजार हेक्टरको धानबाली डुबानमा पर्नुका साथै १० हजार हेक्टरको तरकारी नष्ट भएको छ । त्यस्तै, धनुषामा २१ हजार हेक्टरको धानबाली डुबेको छ । सोही जिल्लामा एक हजार चार सय हेक्टरको तरकारी, एक सय ५० हेक्टरको मकैबाली, एक हजार सात सय हेक्टरको रहर दाल र दुई सय हेक्टरको मासको दाल नष्ट भएको छ ।
सर्लाहीमा दुई हजार सात सय हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच सय हेक्टरको तरकारी, सात सय हेक्टरको मकै, तीन सय हेक्टरको बेसार, एक सय एक हेक्टरको तरुल नष्ट भएको छ । रौतहटमा २८ हजार पाँच सय हेक्टरको धानबाली डुबेको छ । यहाँ एक सय ६० हेक्टरको तरकारी नष्ट भएको छ । महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच हजार हेक्टरको तरकारीबाली नष्ट भएको छ ।
रूपन्देही र नवलपरासीमा एक हजार पाँच सय हेक्टरको धानबाली डुबानमा परेको छ । चितवनमा पनि तीन हेक्टरमा लगाइएको केरा डुबानमा परेको छ । रसुवामा तीन सय ५० हेक्टरको धानबाली डुबानमा परेको छ । रामेछाप, ललितपुर, म्याग्दी, बझाङ, बैतडीलगायत क्षेत्रमा पनि धानबाली डुबानमा पर्नुका साथै मकै र तरकारीबाली नष्ट भएका छन् ।
१३ अर्बको माछा नष्ट
पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा तीन करोड मूल्यबराबरको माछा नष्ट भएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार पर्सामा एक करोड मूल्यबराबरको १० हेक्टरको माछा, बारामा ५० करोडको पाँच सय हेक्टर, धनुषामा ८० करोडको ८ सय हेक्टर, सर्लाहीमा ८० करोडको ८ सय हेक्टर, चितवनमा ६ करोडको ६० हेक्टर, महोत्तरीमा ११ अर्बको एक हजार एक सय हेक्टर र रौतहटको १५ करोडको १५० हेक्टरमा उत्पादन भएको माछा बगेर नष्ट भएको छ। पशुसेवा विभागका महानिर्देशक डा। विमल निर्मलका अनुसार तराई/मधेसमा बाढीका कारण दुई करोड मूल्यबराबरको पशुपन्छीतर्फ क्षति भएको छ । अन्नपूर्ण पोस्टबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.