नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध, सौराहाका पर्यटकको उद्धार 

  २०७४ साउन ३० गते ९:५१     विकासन्युज

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँच किलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ ।

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।

सौराहाका पर्यटकको उद्धार

यसैगरी अविरल वर्षाले बाढी पसेपछि जिल्लाको सौराहास्थित पर्यटकीय होटलका पर्यटकलाई आइतबार उद्धार गरिएको छ । राप्ती र बूढीराप्ती खोला सौराहामा शनिबार साँझबाट पसेपछि अधिकांश होटल डुबानमा परेका थिए ।

सबै होटलको पहिलो तलामा पानी पसेपछि पर्यटकलाई माथिल्लो तलामा राखिएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय र होटल व्यवसायी जुटेका थिए । उद्धारमा सक्रिय इलाका प्रहरी कार्यालय रत्ननगरका निमित्त प्रमुख प्रहरी निरीक्षक अभय विक्रमका अनुसार दिउँसो ट्याक्टर, गाडी, हात्ती, ¥याफ्टिङ डुङ्गामा राखेर केही पर्यटकलाई रत्ननगर र नारायणगढका होटलमा पठाइएको थियो । बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनबाट ३० जना पर्यटकको उद्धार गरिएको उहाँले बताए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै क्षेत्रबाट पर्यटकको उद्धार गरिएकाले यकिन तथ्याङ्क भने आई नपुगेको बताउनुभयो । सयजना भन्दा बढीलाई उद्धार गरिएको अनुमान गरिएको छ । आइतबार साँझ पानीको सतह घट्दै गएपछि कतिपय पर्यटक भने होटलमै रहेको र उनीहरुलाई सुरक्षित रुपमा राख्न र खुवाउन सकिने अवस्था सिर्जना भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए।

पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले मानवीय क्षति नभए पनि कुखुरा, बंगुर, बाख्रा लगायतका पशु चौपाय भने धेरै सङ्ख्यामा मरेको बताए । उद्धार र राहत वितरण कार्य तीव्र रुपमा भइरहेको जानकारी दिँदै उहाँले क्षति न्यूनीकरणका लागि हरसम्भव प्रयास भइरहेको बताए ।

सौराहामा दुई सय नेपाली, दुई सय भारतीय र दुई सय अन्य मुलुकका पर्यटक रहेको अनुमान गरिएको थियो । पर्यटक आगमन शुरु भएसँगै होटलमा बाढी पसेपछि व्यवसायी चिन्तित बनेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.