२०७४ साउन ३१ गते १३:५७ विकासन्युज
इलाम । थोरै लगानीमा यहाँका महिलाले ललीपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् ।
जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललीपप उद्योगमा संलग्न छन् ।
‘इलाम ललीपप उद्योग’ दर्ता गरी पाँच वर्षदेखि ललीपप बनाउँदै आएका साँखेजुङका दुर्गाकुमारी राई सीप र जाँगर भए स्वदेशमै आम्दानी गर्न सकिने बताउँछिन् । उनको उद्योगमा सात महिलाले मासिक ७ हजार रुपैयाँमा काम गर्दै आएका छन् ।
“मासिक ४५ हजार रुपैयाँ सम्म आम्दानी हुन्छ,” उनले भनिन् । अधिकांश महिलाले घरको काम सिध्याएर उद्योगमा काम गर्र्ने गरेका छन् । इलाम, फिक्कल र कुटीडाँडा ललीपपको मुख्य बजार हो ।
पूर्वाञ्चलमा भएको खाद्य वस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो भएको सो उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । ९० हजार रुपैयाँ पर्ने उक्त मेसिन पाएपछि ललीपप प्याकिङ गर्न सजिलो भएको राईले बताईन् ।
यस वर्ष जिल्ला कृषि विकास कार्यालयले ‘प्याक्ट’ परियोजनाअन्तर्गत चार लाख ४५ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । ललीपप बनाउने आधुनिक मेसिन खरिदका लागि प्याक्टले सहयोग गरेको हो ।
यस्तै पाँच वर्षअघि खुलेको कोसेली ललीपप उद्योगबाट मुना आचार्यले मनग्य आम्दानी गर्दै आएकी छिन् । सो उद्योगमा सात महिलाले रोजगारी पाएका छन् । जिल्लामा सहकारी संस्था खोलेर ललीपप उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । सहकारी संस्था मार्फत स्थापना भएका ललीपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा धेरै महिलालाई रोजगारी प्रदान गरेका छन् ।
तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा १६ महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगारी पाएका महिलाले मासिक ४ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउँछन् । बिहान क्याम्पस पढेर दिउँसो काम गर्न जाने महिलाको संख्या अत्यधिक छ ।
यहाँ उत्पादित ललीपप धरान, दमक, विराटनगर, काठमाडौँंसम्म पठाउने गरिएको छ । जिल्लामा आउने पर्यटकले ललीपप कोसेलीका रूपमा समेत खरिद गर्ने गरेका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.