कोशी, गण्डक र टनकपुर बाँधको चावी नेपालको हातमा हुनुपर्ने, सिंचाइ मन्त्रालयले बुझायो १० बुँदे सुझाव

  २०७४ साउन ३२ गते ११:१३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भारत भ्रमणका क्रममा बाढी र डुवान समस्या समाधानका लागि छलफल हुने भएको छ ।

गत शुक्रबारदेखिको अविरल वर्षाले तराइका जिल्लामा बाढी र डुवानबाट ठुलो धन र जनको क्षति भएपछि सिंचाइ मन्त्रालयले डुवान नियन्त्रणका लागि १० बुँदे सुझाव प्रधानन्त्री देउवालाई बुझाएको हो ।

कोशी, गण्डकी र महाकाली नदीमा ठुला बाँधले गर्दा नेपाली भूभाग वर्षेनी डुवानमा पर्ने गरेको भन्दै यस विषयमा प्रधानमन्त्री स्तरिय बैठकमा कुरा उठाउन सिंचाइले सुझाव दिएको सचिव रामनन्दप्रसाद यादवले जानकारी दिए ।

कोशी, गण्डकी र टनकपुर बाँध भारतीय प्राविधिकको निन्त्रणमा हुदा समयमा बाँधका ढोका नखोल्दा नेपाली भूभाग डुवानमा पर्न गई ठुलो धनजनको क्षति भएपछि नेपाली प्राविधिकको हातमा बाँधको ढोका खोल्ने अधिकार हुनुपर्ने गरी छलफल गर्न सुझाएको उनले बताए । नेपालीको हातमा पनि बाँधको चावी हुनुपर्ने उनको भनाई छ ।

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बिहान बसेको बैठकमा बोल्दै सचिव यादवले कोशी, गण्डकी र महाकाली सम्झौताले नेपाली जमिन डुवानमा परेकाले नेपालीले बाँधको ढोका खोल्न पाउनुपर्ने व्यवस्था आवश्यक भएको बताए ।

यता बाढीले तराईमा कृषि र सिंचाइमा मात्रै साढे १५ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । बाढीले कृषिमा ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण सिंचाइ संरचनामा हालसम्म १२ अर्ब रुपैयाँ बराबरको क्षतिपुगेको मन्त्रालयले जनाएको छ ।

साँसदहरुले बाढी नियन्त्रणका लागि भारतसंग छलफल गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।