संस्थापक लगानीकर्तालाई अछुतको व्यवहार भैराखेकोछ-अम्बिकाप्रसाद पौडेल

  २०७१ फागुन १७ गते १०:५०     विकासन्युज

 

 

 

 

अम्बिकाप्रसाद पौडेल
अध्यक्ष
एनबी इन्सुरेन्स कम्पनी लिमिटेड[divider]

तपाईको नेतृत्वमा एनबी इन्स्योरेन्समा सञ्चालक समिति बनेको एक महिना बित्न लाग्यो, सञ्चालन किन नभएको ?
कम्पनीको सञ्चालक समिति गठन भएको छ । आर्थिक क्रियाकलाप भने केही पनि अगाडि बढाएका छैनौं । कम्पनीको विगत तीन आर्थिक वर्षदेखि लेखापरीक्षण भएको छैन । चार वर्षदेखि वार्षिक साधारण सभा भएको छैन । हामी पहिले अडिट गरौं, नयाँ डीडीए गरौं, कम्तिमा माथिल्लो तहको कर्मचारी व्यवस्था पनि गरौं र त्यसपछि मात्र व्यवसायिक काम शुरु गरौं भन्ने सोचेका छौं । अहिले त हामीले बाँकी रहेका दाबी भुक्तानी गरिरहेका छौं । पुराना मुख्य समस्याहरु टुङ्गाएर नयाँ व्यवस्थापन टिमले यसलाई अगाडि बढाउनेछ ।
कम्पनी कहिलेदेखि सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ?
नयाँ वर्ष २०७२ सालमा हामी बीमा क्षेत्र क्षेत्रलाई नयाँ उपहार दिनेछौं । एउटा कोमामा रहेको कम्पनीले पुनर्जन्म लियो भन्ने सन्देश लगानीकर्ता तथा यस क्षेत्रलाई दिनेछौं । ढिलोमा बैशाख एक गते सञ्चालनमा आउनेछौं । हामी नयाँ वर्ष २०७२ सालको शुरुवातदेखि नै हामी कम्पनी ‘स्मुथली’ रन गर्छौ ।
आजको मितिमा एनबी इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ?
कम्पनीमा सर्वसाधारण र संस्थापक गरेर १४ करोड रुपैयाँको चुक्तापूँजी छ । कम्पनीको डीडीएको प्रारम्भिक तथ्यांक हेर्ने हो भने १५ करोड रुपैयाँ दायित्व रहेको देखिन्छ । अहिले सरसर्ती हेर्दा प्रतिसेयर नेटवर्थ नकारात्मक नै छ ।
बीमा समितिले गरेको ड्यु डेलिजेन्स रिपोर्ट प्रतिसेयर प्रति सेयर पाँच रुपैयाँ नेगेटिभ नेटवर्थ भएको कम्पनीमा प्रतिसेयर ८५ रुपैया तिरेर किन्नुको कारण के हो ? ambika_Prasad_paudel
कम्पनीको सम्पत्तिभन्दा दायित्व बढि भइसकेको अवस्थामा संस्थालाई सञ्चालन गर्न दिइरहेमा थप समस्या आउने देखेर बीमा समितिले कम्पनीको कारोबार पुरै बन्द गरेको हो । बीमा समितिको कम्पनीले गरेको ड्यु डेलिजेन्स अडिट रिर्पोट अनुसार दायित्व बढि देखिए पनि शंस्कास्पद देखिएका दायित्व समेत गणाना भएका छन् भने लिनुपर्ने शंस्कास्पद भुक्तानीहरु कुनै पनि गणना भएको छैन । लेखा सिद्धान्त अनुसार नै हो यो । तरपनि हामीले पनि त्यहा केही पैसा उठाउन सकौउला, कम्पनीमा रहँदा कसैले जघन्यै अपराध गरेका रहेछन भनेपनि त क्षतिपूर्ती लिन सक्ने अवस्था आउला नि । त्यही रकम पनि उठ्ला भन्ने हाम्रो अपेक्षा हो ।
हाम्रो बुझाइ र हेराईमा एनबी इन्स्योरेन्स भनेको एउटा स्थापित भइसकेको कम्पनी हो । कम्पनीको आफ्नो कर्मचारी, शाखा, राम्रो नराम्रो जे भएपनि गुडविल पनि छ । नयाँ कम्पनी खोल्नुभन्दा छिटोछरितो तरिकाले यस कम्पनीलाई एउटा ट्रयाकमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।
अर्काे महत्वपुर्ण कुरा, बीमा समितिले विगत लामो समयदेखि नयाँ बीमा कम्पनीको लागि अनुमति दिइरहेको छैन । यस्तोमा कतै न कतैबाट बीमा क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने उदेश्यले पनि यो उपयुक्त विकल्प लागेर गरेका हौं ।
कम्पनीको गुडविलको पनि कुरा गर्नुभयो, के तपाईहरु एनबी इन्स्योरेन्स कै नाम बाट कम्पनी चलाउँदै हुनुहुन्छ वा नाम परिवर्तन गर्ने सोच छ ?
सबै थोक नामले नै मात्र गर्छ भन्नेमा हामी विश्वास गर्दैनौं । एनबी इन्स्यारेन्सको नाम उही रहेपनि यो कम्पनी अर्काे समूहले सञ्चालन गरेको छ भन्ने सन्देश बजारमा गइरहेको पनि छ, जान्छ पनि । त्यस्तै, बीमा क्षेत्रमा कारोबार गर्ने ठुला–ठुला ग्राहक, हाउसहरुले हाम्रो उपस्तिथि थहा पाइसकेका पनि छन् । सासाना बिजनेशले एनबी वा गैरएनबी भनेर त्यती धेरै मान्यता राख्छ भन्ने मलाई लाग्दैन । तथापी नाम कै कुरामा पनि प्रक्रियागत कुरा हुन्छ । कसैले त्यति कै चहादैमा हुदैन । त्यसैले आम लगानीकर्ता सबैबाट नाम परिवर्तन गरौं भन्ने प्रस्ताव आएमा जाने छौं । तर तत्कालै नाम परिवर्तन गर्नुपर्छ भन्ने हामीले सोचेका छैनौं ।
कम्पनीको प्राथमिकता के के हुन् ?
पहिलो प्राथमिकता नेपालको ऐन नियमको परिपालन गर्नु हो । हामी त्यसैले पूँजी संरचनालाई प्राथमिकतामा राखिरहेका छौं । कम्पनीको नेटवर्थ नेगेटिभ भएपनि कम्पनीमा ९९ प्रतिशत संस्थापकले कल इन एड्भान्समा रकम जम्मा गरिसकेका छन् । नेपालको पुँजीबजार यस्तो उदाहरण यसअघि स्थापित भए जस्तो हामीलाई लाग्दैन । अहिले हामीसंग १० करोड रुपैयाँ रहेको छ । हाम्रो अडिट प्रक्रिया अगाडि बढिसकेको छ, हामीले भुक्तानी तथा राफसाफ अगाडि बढाइ रहेका छौं । हामी जुन दिन व्यवसाय गर्ने हिसाबले सार्वजनिक हुन्छौं, त्यो दिन भएका कामहरु पनि देखाउन सक्ने अवस्थामा आउछौं । पुरानो समस्या सल्टाउनु र नयाँ व्यस्थापन टिम बनाएर राम्ररी काम गर्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो ।
कम्पनीको सेयर दोस्रो बजारमा कहिलेदेखि कारोबारमा आउला, कतिमा कारोबार होला ?
हामीले गर्न लागेको डीडीएको प्रतिवेदन आइसकेपछि र सञ्चालन शुरु गरेसंगै नेप्सेमा कारोबारको लागि ओवेदन गर्ने छौं । सम्भवतः जेठसम्म सेयर कारोबार शुरु गर्न अवोदन दिनेछौं । हामी संस्थापकहरुले १० बराबर आठ अनुपातमा हकप्रद सेयर बराबर रकम पनि राखिसकेका छौं । एनबी समूहको पनि हकप्रद हामीले खरिद गरेका छौं । सर्वसाधारणमा पनि यही अनुपातमा हकप्रद सेयर जारी गर्छौ । हामीले यसको पुनर्बीमाको हिस्सामा पनि लगानी बढाउनु छ । नेप्सेमा सूचिकृत भएपछि कतिमा कारोबार हुन्छ भनेर मैले बोलेभने नेप्सेले मलाई स्पष्टीकरण लिने छ । त्यसैले यो विषयमा बोल्न चाहान्न ।
माथिल्लो व्यवस्थापनका कर्मचारी नियुक्ति प्रक्रिया कहा पुगेको छ ?
हामीहरुलाई बिभिन्न आवेदन प्राप्त भएको छ । हामी सम्भवतः यही फागुन भित्रमा नियुक्त गरिसक्छौं ।
यस कम्पनीका कतिसमयमा प्रतिफल पाउँने प्रक्षेपण गर्नुभएको छ ?
हामीहरुले हेर्दा दुई वर्षभित्र (आर्थिक बर्ष २०७२/७३) भित्रमा नेगेटिभ नेटवर्थलाई कम्तिमा पोजिटिभ बनाउछौं भन्ने लक्ष्य लिएका छौं ।
तपाई हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक पनि हुनुहुन्छ । यो कम्पनीले भने कुन कुन क्षेत्रमा लगानी गरेको छ ?
हाम्रो करिब ९० करोड रुपैयाँ बराबरको कुल लगानी छ । त्यसमध्ये १५ प्रतिशत रियलस्टेट क्षेत्रमा छ । एनबी इन्स्योरेन्स, दोर्दी लगायत हाइड्रोपावर जस्ता दीर्घकालिन क्षेत्रमा पनि केही लगानी छ । बाँकी भने सेयरमा लगानी गरेका छौं । बिशेषगरी बीमा, बैंक, विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानी गरेका छौं ।
बीमा कम्पनीहरुमा नेपाल लाइफ, नेशनल लाइफमा छ । नेपाल लाइफमा हाम्रो ५०/६० हजार कित्ता बराबर रहेको छ । अन्य लाइफ र नन लाइफमा पनि छ । बैंकहरुमा भने प्राय सबैमा छ । रकमको हिसाबले हेर्दा नविल, एभेरेष्ट लगायत ठूला बैंकहरुमा छ तर सेयर संख्याको आधारमा सानामा धेरै देखिन्छ ।
लघुवित्त कम्पनीहरुमा लगानी गर्नुभएको छैन ?
लघुवित्तमा लगानी छैन । बीमा कम्पनीमा हामीले अन्य क्षेत्रभन्दा धेरै कमाइ गर्यौं । हामीले बीमा कम्पनी छ सात सय मै किनेका थियौं, त्यसो त संस्था नै लघुवित्त भनेको जस्तो नि रह्यो । त्यस्तै बैंकहरुको प्रतिफलसंग तुलना गर्दा लघुवित्तमा लगानी उचित देखिएन । त्यसैले त्यस क्षेत्रमा लगानी गरेनौं ।
लघुवित्त कम्पनीहरुको मूल्य त अहिले निकै बढेको छ , लगानी गनुपर्ने रहेछ जस्तो लागेको छैन ?
म बजारमा कुन वेभ आएको छ भन्नेमा त्यति विश्वास गर्दिन । हामी प्राविधिक, आधारभुत र मनोवैज्ञानिक विश्लेषण गर्छाै । यो क्षेत्रमा मनोवैज्ञानिक रुपमा वृद्धि भएको हो । बीमा पनि कहिले काँही यस्तै देखिन्छ । खासमा यो माग र आपूर्तिको कारणले मूल्य बढेको हो । ‘माग र आपूर्ति’ ले आएको कुरामा हामी त्यति विश्वास गर्दैनौं । जस्तो कुनै जगमा आधा पानी राखेर छल्काइदियो भने पनि पानीको सतह माथी आएको देखिन्छ । तर जब पानी छछल्किन छोड्छ पुरानै अवस्थामा आउँछ । त्यसैले माग र आपुर्तिमा खेलेर बढाइएको सेयरमा पछि लाग्नु हुँदैन ।
तर बोनस सेयरकै आशामा लगानीकर्ताहरुले बीमा र लघुवित्तमा लगानी गरिरहेका पनि देखिन्छन त ?
बीमा क्षेत्रमा हेर्ने हो भने दैनिक रुपमा वृद्धि छ । बीमा कम्पनीहरु खोलिने क्रम रोकिएको छ । बजार बढिरहदा बीमा कम्पनी संख्या बढेको छैन । त्यसैले बीमा कम्पनीको वृद्धि २०/२५ प्रतिशतसम्म छ । त्यसको बजारको वृद्धि अझ बढी हुन्छ ।
लघुवित्त तर्फ समस्या चुनौति के छन् भने लगालग नयाँ लघुवित्त कम्पनीहरु आइरहेका छन । कम्पनी बढेको छ, तर व्यवसाय संकुचित हुदैछ । वाणिज्य बैंकहरु आफैले एसएमई भनेर ५० हजार रुपैयाँ सम्मको कर्जा दिन्छन् जिल्ला जिल्लामा । विकास बैंक, वित्त कम्पनीले समेत साना तथा मझौला कर्जा बढाइरहेका छन । यस क्षेत्रमा कर्जा विस्तारमा डुब्लिकेशनको धेरै कुराहरु आइरहेको छ । कम्पनीहरुको उदेश्यभन्दा बाहिर रहेको लुप होलबाट कमाइरहेका छन । त्यसैले भोलीको सम्भावना कम होला भनेर लगानी नगरेका हो । अल्पकालमा लगानी गर्ने उदेश्यले सामूहिक लगानी कोष जस्ताले पनि यी कम्पनीका सेयर खरिद गरिरहेका देखिन्छन् । तरपनि अल्पकालमा लगानी गर्ने सेयर त तत्काल बिक्री गर्न सकिने ‘लिक्विड’ हुनुपर्दछ । यी क्षेत्रको सेयर ‘हाइली लिक्विड’ हुनुपर्छ । तर यो क्षेत्रको सेयर सिजनेवल देखिन्छ । तपाईले चाहेको समयमा बिक्री गरेर निस्कन हुन समस्या छ । मलाई अल्पकालमा ठूलो परिमाणमा यस्ता सेयरमा लगानी गर्न हुन्छ भन्ने नलागेर हो । केही लगानी भने गरेका छौं ।
संस्थापक सेयर र सर्वसाधारण सेयरमा विभिन्न विभेद छ त्यसलाई कसरी हेर्नुभएको छ ?ambika_P_paudel (5)
यो विभेद हुनुहुदैनथ्यो भन्ने मेरो बुझाइ हो । संस्थापक सेयरमा एउटा निश्चित समयपछि खुला गरिनुपर्छ । संस्थापक संस्था जन्माउने आमा हो । बच्चा नहुर्किउन्जेलसम्म जसरी आमाबाबुको दायित्व हुन्छ, कम्पनीको पनि त्यस्तै हो । तर बच्चा परिपक्व भएपछि छोरालाई च्यापेर राख्नु पर्छ भन्ने जस्तै विभेद संस्थापक सेयरमा छ । संस्थापकलाई निश्चित अवधिपछि सेयर किनबेचमा खुकुलो बनाइदिनु पर्दथ्यो । अर्काे कुरा तपाईले लगानी गर्ने पनि त्यही सय रुपैयाँ हो भने संस्थापक लगानीकर्ताले गर्ने पनि उही ।
प्रवद्र्धक र साधारण सेयरबारे अन्तराष्ट्रिय अभ्यास कस्तो छ ?
प्राय सबैजसो देशमा निश्चित समयअवधि पछि संस्थापक सेयर माथिको बन्धन फुक्का गरिन्छ । यस्तो अवधिपछि सर्वसाधारण र संस्थापक सेयरबीचको अन्तर नै रहदैन । मैले नेपालको लागि सुझाउन पर्यो भने यस्तो वर्गिकरणको अवधि पाँच वर्षको उचित मान्छु । यदी यसभन्दा लामो समय राख्ने हो भने पनि चरणबद्ध रुपमा निश्चित प्रतिशत संस्थापक सेयरलाई फुक्का गर्दै जाने छुट दिनुपर्छ । हुनसक्छ, दायित्व लगायतका विषयमा त्यही अनुसार चरणबद्ध रुपमा परिवर्तन गर्दै लैजानु पर्दछ । तर कारोबार मूल्य र रकममा नै विभेद गरिनु हुदैन ।
हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रमोटर सेयरमा लगानी गरेको छ कि छैन ?
हामीले संस्थापक सेयरमा भन्दा सर्वसाधारण सेयरमा नै बढी लगानी गरिरहेको हुन्छ । मैले चाहेर पनि संस्थापक सेयर किन्न सक्दिन । बाफियाले पनि तीन बर्षसम्म नाफामा गएको कम्पनीले मात्र बैंक तथा वित्तीय संस्थाको सेयर किन्न सक्ने व्यवस्था गरेको छ । मेरो इन्भेष्टमेन्ट कम्पनी यो बीचको एक बर्षमा नोक्सानमा गयो भने पनि सेयर किन्न पाउँदिन । यदी कुनै कम्पनीले १० हजार मात्र रुपैयाँ कमायो भने पनि उसले सेयर खरिद गर्न सक्ने तर मेरो कम्पनीले नोक्सानमा गएपछिको अर्काे वर्ष नै एक करोड कमाए भनेपनि किन्न नपाउने ? यस्तो नियम व्यवहारिक भएन ।
संस्थापक सेयरधनीका मुुख्य पीडा के के हुन् ?
पहिलो समस्या सेयर खरिद बिक्री नै नहुनु हो । संस्थापक सेयरधनी आफैले खरिदकर्ता खोज्नु पर्ने हुन्छ । बजारमा कुनै पनि ब्रोकरले खरिद कर्ता खोजि दिदैनन् । दुनियाँका कुनै पनि देशमा कर्जा तथा स्वआर्जनले संस्थापक सेयर खरिद गर्न पाइन्छ, यहाँ कर्जा लिएर संस्थापक सेयर खरिद गर्न नै पाइदैन । संस्थापक सेयरको सूचीकरण मै विभेद छ । व्यवस्थापनमा बस्ने संस्थापकलाई त ठिकै होला, अन्यलाई अछुत नै मानेको छ । अन्यलाई कम्पनीहरुले बार्षिक साधारण सभामा पनि बोलाउँछ, बोलाउँदैन त्यतिकै पिडा, सेयर बेच्न गयो मूल्य आधा भन्छ । खरिद गर्ने मान्छे आफैले खोज्नुपर्छ । लाभांशमा एक रुपता छ र चित्त बझाउन सकिरहेका छन् ।

One comment on "संस्थापक लगानीकर्तालाई अछुतको व्यवहार भैराखेकोछ-अम्बिकाप्रसाद पौडेल"

  • कुमार नेपाली says:

    यहाँ को अछुत छ ? कसलाई अछूत भनेको ? पत्रकार जी सब्द चयन राम्रो भएन अनि यी अन्तरवार्ता दिने अम्बिका जी ले पनि कसरि यो बोल्नु भाको येत्रा विद्वान ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.