२०७४ भदौ १६ गते १७:५४ विकासन्युज
काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको हो ।
दसैंको दुई साता अगाडीदेखि बसको अग्रीम टिकट बुकिङ खोल्ने यातायात व्यवस्थापन विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । लामो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क र पुरानो बसपार्कबाट सुविधा दिने उनले बताए ।
उपत्यकाभित्र टिकट बुकिङमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न विभाग, ट्राफिक प्रहरी, व्यवसायी उपभोक्तावादी संस्थाका प्रतिनिधी लगायतका पाँच जना टोली खटाइने भट्टराईले बताए । उपत्यका बाहिर अञ्चल कार्यालयबाट नै अनुगमन थाल्ने उनले बताए । उनले भने, ‘विभागको नेतृत्वमा विशेष टोली फिल्डमा जानेछन् । जसले अनुगमन टोलीको पनि अनुगमन गर्नेछन् ।’
नाडा अटो मोबाइल एसोसिएसनले बुकिङ काउण्टरमा सहायता कक्षको प्रबन्ध मिलाउन सहयोग गर्ने भट्टराईले बताए ।
सडक विभागले डोजर र क्रेनको व्यवस्था गर्ने
सरकारले दसैंमा सवारी आवगमनका समयमा आकस्मिक पहिरो व्यवस्थापन गर्नका लागि डोजर तथा क्रेनको व्यवस्था गर्ने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डमा व्यापक पहिरोको जोखिम भएकाले यसको तत्काल व्यवस्थापन गर्न सडक विभागले डोजर र क्रेनको व्यवस्था गर्ने प्रतिबद्धता देखाएको भट्टराईले जानकारी दिए ।
झीटीगुन्टा बढी राख्न नपाइने
दसैंमा सरकारले प्रति यात्रु २० किलो भन्दा बढी सामान बोक्ने व्यवसायीको इजाजत पत्र खारेज गर्ने भएको छ । दसैंमा यात्रुको चापमा गाडीमा ओभरलोडलाई निरुत्साहित गर्न यो व्यवस्था ल्याएको विभागका महानिर्देशक भट्टराईले बताए ।
दसैंमा घर जाने यात्रुले प्रति व्यक्ति २० किलो भन्दा बढी सामान बोक्न नपाइने उनले जानकारी दिए । उनले भने, ‘चालिस जना यात्रु ओगट्ने सिट क्षमता भएको गाडीमा २०/२० किलोको दरले सामान बोक्दा ८०० किलो पुग्न जान्छ । त्यसैले हामीले ओभरलोडलाई निरुत्साहित गर्न खोजेका हौं ।’
यातायात व्यवसायीले भने छतमा सामान राख्न पाउनुपर्ने अडान कायम राखेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले भने, ‘सरकारले भदौ २२ गते खोल्ने प्रस्ताव गरेको हो,’ उनले भने, ‘ हामीले छतमा यात्रुको सामान राख्ने व्यवस्था नभएसम्म टिकट नखोल्ने विचार राखेका छौं । यसमा सरकार केहि हदसम्म सकारात्मक देखिएको छ।’
महासंघका अनुसार दसैंमा उपत्यकाबाट ७० प्रतिशत मानिसहरु काठमाडौं बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुवाहक बस काठमाडौंबाट वाहिर जाने गरेको खनालले जानकारी दिए ।
गाडी भाडा नबढाउने
यातायात व्यवसायीले सरकारसँग दसैंको मुखमा बस टिकटमा भाडा नबढाउने सहमती गरेका छन् । खनालले भने, ‘हामीले यस अघि मूल्य समायोजनका लागि प्रस्ताव ल्याएका थियौं । तर अब दसैंको मुखमा भाडा तलमाथी नगर्ने सहमती भएको छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.