२०७४ भदौ २७ गते १०:३६ विकासन्युज
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको छ ।
केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा कर्जा सहितको सौर्य ऊर्जा प्रणाली जडानका लागि मंगलबार प्रस्ताव आब्हान समेत गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि सहरी सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्नका लागि अनुदान र कर्जाको व्यवस्था गर्ने बजेटमा उल्लेख भएअनुसार केन्द्रले प्रस्ताव मागेको हो ।
सरकारले विद्युतभार कटौती (लोडसेडिङ) हटाउन सौर्य सोलार ऊर्जा अनुदान योजना ल्याएको हो । यो वर्षका लागि १ हजार ५ सय घरमा मात्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने केन्द्रले जानकारी दिएको छ । पहिला आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) आधारमा अनुदान रकम भुक्तानी हुने केन्द्रले बताएको छ ।
२ सय वाट पीक वा सो भन्दा ठुलो प्रणाली जडान भएपछि एकमुष्ठ २० हजार रुपैयाँ जडान अनुदान खर्च केन्द्रले उपलब्ध गराउने छ । यस्तै ५ सय वाट पिक वा सो भन्दा ठुलो प्रणाली जडानमा सरल कर्जाको व्यवस्था गरिएको छ ।
जसअनुसार घरायसीका लागि ७५ प्रतिशतसम्म ब्याजमा अनुदान र औद्योगिक प्रयोजनाका लागि ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ ।
सिभिल बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबाट सरल कर्जा उपलब्ध हुने केन्द्रले जानकारी दिएको छ ।
यो योजना आर्थिक वर्ष ०७०/०७१ देखि सुरु गरिएको हो । घरको छानमा सोलार प्रविधि जडान गरिने छ ।
पछिल्लो समयमा सडक बत्ति, घरयासी प्रयोजनमा सोलार प्रविधि जडान प्रभावकारी रुपमा अघि बढेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.