बहुराष्ट्रिय कम्पनीले पेल्दै विवादित ट्रेडमार्कको प्रयोग रोकेन, सर्वाेच्चको आदेशको समेत अवज्ञा

  २०७१ फागुन २६ गते १०:५५     विकासन्युज

२६ फागुन । बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्ट्स प्रालीले सर्वाेच्च अदालत र उद्योग बिभागको समेत अवज्ञा गर्दै विवादित ट्रेडमार्कको प्रर्वद्धन गरिरहेको छ ।
सर्वाेच्च अदालत र उद्योग बिभागले उक्त ट्रेडमार्क प्रचलनमा नल्याउन नेरोलेकलाई दिएको आदेशको अवज्ञा गर्दै प्रसार प्रसार व्यापक बनाएको छ । सोमवार मात्रै बलिउड अभिनेता शाहरुख खान नेपाल ल्याएर कम्पनीले आफ्नो पेन्ट्सको प्रचारप्रसार गरेको थियो ।
‘बहुराष्ट्रिय कम्पनी भएकै कारण नेरोलेकले हामीलाई हेपेको छ, हामीले उद्योग बिभागमा यो ट्रेडमार्क दर्ताको लागि पहिले नै आवेदन दिएको भएपनि उद्योग बिभागले समेत हामीलाई ठगेको छ,’ रुक्मिनी इन्डष्ट्रिड प्रालीका अध्यक्ष श्रवण कुमार गोयलले बताए ।
नेपालको घरेलु कम्पनी रुक्मिनी इन्डष्ट्रिड प्रालीले २०६८ असार नौं गते उद्योग बिभागमा ट्रेडमार्क दर्ता गर्न निवेदन दिएको थियो । तर भारतको कन्साई नेरोलेकले २०६८ साउन १७ गते सोही ट्रेडमार्क दर्ताको लागि निवेदन दिएको थियो । नियम अनुसार पहिले दर्ताको लागि निवेदन दिनेले नै लोगो (ट्रेडमार्क) पाउँने भएपनि बिभागले समेत नेरोलेकको ट्रेडमार्क दर्ता गरिदियो ।
यसको बिरुद्धमा रुक्मिनी इन्डष्ट्रिड प्राली सर्वाेच्च अदालत गुहारेको थियो । सर्वाेच्चले २०७० सालमंसिर १८ गते अन्तरकालीन आदेश जारी गरेर यस विवादित ट्रेडमार्क प्रयोग नर्गन/नगराउन निर्देशन दिएको थियो । तर हालपनि भारतीय कम्पनीले नेपालमा विवादित ट्रेडमार्क सहित पेन्ट्स बिक्री गरिरहेको छ ।
रुक्मिनी इन्डष्ट्रिड प्रालीले आफुले यस ट्रेडमार्कको २०५२ सालदेखि प्रयोग गरिरहेको दाबी गरेको छ । बलिउड अभिनेता ल्याएर नेरोलेकले कार्यकाम गर्न लागेको केही दिन अघिमात्र थहापाएको भए कम्पनीका अध्यक्ष गोयलले यो कार्यक्रम रोक्न सर्वाेच्चबाट आदेश माग्ने जानकारी दिए ।