२०७४ असोज २७ गते १३:५४ भूमिका तिमल्सिना
काठमाडौं । सहरी क्षेत्रमा सोलार जडान गर्न ४ वटा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन् । सिभिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकले सहरी क्षेत्रमा रुफटप सोलार प्रविधि जडानमा ऋण दिनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसंग सहमति जनाएका हुन् । केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको हो ।
केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा कर्जा सहितको सौर्य ऊर्जा प्रणाली जडानका लागि प्रस्ताव आब्हान समेत गरेको छ । गत वर्ष पनि केन्द्रले प्रस्ताव आब्हान गरेको थियो । सरकारले चालु आर्थिक वर्षका लागि सहरी सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्नका लागि अनुदान र कर्जाको व्यवस्था गर्ने बजेटमा उल्लेख भएअनुसार केन्द्रले प्रस्ताव मागेको हो ।
सरकारले लोडसेडिङ हटाउन सौर्य सोलार ऊर्जा अनुदान योजना ल्याएको हो । यो वर्षका लागि १ हजार ५ सय घरमा मात्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने केन्द्रले जानकारी दिएको छ । पहिला आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) आधारमा अनुदान रकम दिने केन्द्रले बताएको छ ।
२ सय वाट पीक वा सो भन्दा ठुलो प्रणाली जडान भएपछि एकमुष्ठ २० हजार रुपैयाँ जडान अनुदान खर्च केन्द्रले उपलब्ध गराउने छ । यस्तै ५ सय वाट पिक वा सो भन्दा ठुलो प्रणाली जडानमा सरल कर्जाको व्यवस्था गरिएको छ ।
जसअनुसार घरायसीका लागि ७५ प्रतिशतसम्म ब्याजमा अनुदान र औद्योगिक प्रयोजनाका लागि ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । यो योजना आर्थिक वर्ष ०७०/०७१ देखि सुरु गरिएको हो । घरको छानमा सोलार प्रविधि जडान गरिने छ ।
सहरी क्षेत्रमा लोडसेडिङ हटेपछि माग कम आएको बैंकरहरुले बताएका छन् । सिभिलका माइक्रो बैकिङ प्रमुख युवराज गुरागाई लोडसेडिङ हटेपछि यो वर्ष सोलार राख्नका लागि कर्जा लिन नआएको बताउछन् ।
“गत वर्ष राम्रो कर्जा गएको थियो यो वर्ष ऋणको प्रस्ताव नै आएको छैन” उनले भने । गत वर्ष ९ प्रतिशत ब्याजमा सहरी सोलार प्रविधि जडानमा कर्जा दिएको उनले स्पष्टपार । सिभिलले गत वर्ष मात्र यो योजनामा १२ करोड बढी कर्जा लगानी गरेको थियो ।
यस्तै एनएमबी बैंकका सोलार विभाग प्रमुख दिनेश दुलालले पनि गत वर्षको तुलनामा यस्तो कर्जाको माग धेरै कम आएको जानकारी दिए । विकास न्युजसंग कुरा गर्दै उनले हालसम्म १० करोड रुपैयाँ बढी लगानी गरेको जानकारी दिए । बैंकले गत वर्ष ९ प्रतिशत ब्याजमा सहरी सोलारमा लगानी गरेकोमा यो वर्ष बढेर १२ प्रतिशतसम्म पुगेको उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.