पेट्रोलियम पाइपलाइन : पाइप नोभेम्बरभित्रै वीरगञ्ज आइपुग्ने, रुख कटानको टुंगो लागेन

  २०७४ कार्तिक १७ गते १७:४५     पवन तिमिल्सिना

काठमाडौं । पेट्रोलियम पाइपलाइन परियोजनाको काम अघि बढेको छ । पाइपलाइन बिछ्याउनका लागि भारतबाट पाइप ल्याउने तयारी भइरहेको आयल निगमले जनाएको छ ।

भारतले रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन अघि सारेको योजना अनुसार पाइप नोभेम्बर भित्रै आइपुग्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । उनका अनुसार पाइपलाइन बिछ्याउनका लागि चाहिने आवश्यक पाइप निर्माण भइसकेको छ, अब नोभेम्बरभित्रै नेपाल भित्रन्छ ।

‘अहिलेसम्म पेट्रोलिय पाइपलाइन सबैलाई हावा गफ हो की भन्ने छ,’ उनले भने, ‘यहि नोभेम्बर भित्र पाइप आपूग्छ, त्यसपछि कामले गति लिएको महसुस हुने विश्वास लिएको छु ।’

आयोजनाका लागि ११ देखि १२ मिटरसम्म लम्बाई भएको पाइपको गोलाई १०.७५ ईञ्चको रहेको छ । सोही पाइपलार्ई करिब ४० किलोमिटर लामो क्षेत्रमा बिछ्याउने योजना रहेको भट्टराईले जानकारी दिए । उनले भने, ‘पहिला पाइप बिछ्याउने स्थानमा खन्ने काम हुन्छ । त्यसपछि पाइपलाई फिट गरिन्छ, र त्यही पाइपमा वेल्डिङ गर्दै अन्य पाइप बिछ्याउदै गइन्छ ।’

पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपैयाँ बचत हुने निगमले जानकारी दिएको छ । अहिले रक्सौल–अमलेखगन्ज रुटमा सञ्चालित २ सय ट्यांकरको वार्षिक ढुवानी खर्च करिब ६० करोड रुपैयाँभन्दा बढी छ । सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र आईओसीबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो ।

ढुवानीका कारण बेला-बेला हुने अवरोधका कारण हुने समस्या हटाउन भन्दै गत वर्षको भदौंमा दुई देशबीच भारतको रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन सम्झौता भएको थियो ।

पाइप राख्न स्थान

निगमले पाइप तथा अन्य सामग्री राख्नका लागि बिरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । ३ विगाह क्षेत्रफलमा रहेको उक्त जग्गालाई मासिक २ लाख रुपैयाँ बुझाउने शर्तमा भाडामा लिइएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।

पाइप विछ्याउन टेण्डरको काम अन्तिम चरणमा

भारतीय आयल निगम (आईओसी)ले पाइप बिछ्याउने कामका लागि टेण्डरको काम अन्तिम चरणमा पुगेको छ । अब छिट्टै टेण्डर प्रक्रिया टुग्यांएर पाइप बिछ्याउन सुरु गर्ने आईओसीबाट जानकारी प्राप्त भएको भट्टराईले जानकारी दिए ।

रक्सौलदेखि होइन मोतीहारीअमलेखगञ्ज पाइपलाइन

भारतले रक्सौलको पेट्रोलियम डिपो सुरक्षाको कारण देखाउँदै मोतीहारी सार्ने तयारी गरेको छ । आईओसीले मोतीहारीको डिपो निर्माणका लागि टेण्डर अवार्ड गरिसकेको भट्टराईले जानकारी दिए ।

नेपालको सिमानादेखि ३५ किलोमिटरको दुरीमा मोतीहारीमा डिपो निर्माण भइरहेको उनले बताए । उनले भने, ‘आईओसीले उक्त डिपोलाई पाइपबाट नै तेल संकलन गर्न मिल्ने बनाउँदैछ ।’

रुखको लफडा

पेट्रोलियम पाइपलाइन बिछ्याउने क्रममा केहि भागमा रुख काट्नु पर्ने देखिएपछि ‘साइड क्लियरेन्स’को काममा अवरोध पुगेको छ । आपूर्ति मन्त्रालयले महत्त्वपूर्ण परियोजनालाई सघाउन तिव्र गतिबाट रुख काट्न वन मन्त्रालयलाई पत्राचार गरेको थियो । यद्दपी मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न निर्देशन दिएको थियो ।

२० दिन अगाडी इआइए सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको भट्टराईले जानकारी दिए ।

पेट्रोलियम पाइपलाइनमा पर्ने रुख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिएको भट्टराईले बताए । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रुख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालयमा प्रस्ताव पठाएको थियो।

आईओसीका टोली नेपाल आउँदै

आईओसीले आगामी मंसिर ९ गते तीन दिनका लागि पाइपलाइन सम्बन्धी अवलोकन गर्न आफ्ना प्राविधिक टोली काठमाडौं पठाउँदैछ । भट्टराईका अनुसार ती टोलीले तीन दिनमा सो परियोजनाको नेपाली भूभाग अन्तर्गतको गतिविधी अवलोकन गर्नेछन् । उनले भने, ‘प्राविधिक टोलीलाई अवलोकन गराउन सहज वातावरण निर्माण र छलफल गर्नेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.