२०७१ चैत ५ गते १६:४५ विकासन्युज
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरन्जीवी नेपाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. नेपाललाई आगामी पाँच वर्र्षका लागि गभर्नरमा नियुक्त गरेको हो ।
अर्थमन्त्री डा। रामशरण महतको संयोजकत्वमा गठन भएको गभर्नर छनौट समितिले मंगलबार तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा नेपालसहित राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी परेका थिए ।
डा.नेपाल यसअघि अर्थमन्त्री शंकरप्रसाद कोइरालाको आर्थिक सल्लाहकार, परराष्ट्रमन्त्री सुजाता कोइरालाको सल्लाहकार, नेपाल उद्योग बाणिज्य महासंघको सल्लाहकार र नेपाल चेम्बर अफ कमर्शको सल्लाहकारको भूमिका पनि उनले निर्वाह गरिसकेका छन् ।
डा. नेपाल बनेपाको आइटी पार्कको पहिलो प्रमुख हुन् । यस्तै उनले औद्योगिक ब्यवसाय प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी पनि बहन गरिसकेका छन् । केहि समय अघि उनी धितोपत्र वोर्डको अध्यक्ष पनि भएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.