खाल्डाखुल्डी पुर्न तम्सियो महानगर

  २०७४ कार्तिक २० गते १३:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासका कामलाई तिव्रता दिन थालको छ । वर्षामा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने अडान राख्दै आएको महानगरपालिकाले वर्षा सकिएसँगै कामको गति अघि बढाउन थालेको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने, सडक निर्माण गर्ने जस्ता कामलाई पनि तिव्रता दिन थालेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । अहिले नरदेवी कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि मेयर शाक्यले जानकारी दिए । उनले यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने योजना रहेको पनि बताए ।

‘अब हिउँद लाग्यो खाल्डाखुल्डी पुर्ने, सडक निर्माण गर्ने जस्ता काम तीव्र गतिमा हुनेछन्।’ काठमाडौं महानगरपालिकाले केही पनि गतिविधि नगरेको भन्ने आरोप आइरहेका बेला उनले अब कामको गतिलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘विकासको गति अघि बढ्छ,’ उनले भने, ‘अब कसैले रोकेर पनि काम रोकिनेवाला छैन । महानगरका जनताको भावना अनुरुप नै काम अघि बढ्छ ।’ उनले मेयर अब महानगरको विकासका लागि जनताको घरदैलोमा पुग्ने पनि दाबी गरे ।

मेयर शाक्यले अब आफू दिनरात नभनी काममा खट्ने पनि दाबी गरेका छन् । आज मात्रै पनि मेयर शाक्यले काठमाडौं महानगरपालिकाको वडा नम्बर-३२ का विभिन्न स्थानमा भैरहेको सडक निर्माणको अवलोकन गरेका छन् । उनले सेती ओपी मार्ग कामनपा-३२ माभैरहेको सडक निर्माणबारे अवलोकन गर्दै इञ्जिनियहरुसँग पनि सडक निर्माणका बारेमा जानकारी लिए ।

त्यसैगरी, उनले वडा-३२ कै मदन भण्डारी स्मृति वाटिकाको पनि अवलोकन गरेका छन्। उनीसँगै एमालेका पोलिट्व्युरो सदस्य अग्नी खरेल, युवा तथा खेलकुद सचिव तथा सोही वडाका बासिन्दा महेश दाहाल, वडा अध्यक्षलगायत पनि मेयर शाक्यको साथमा थिए । साथै, मेयर शाक्यले अब महानगरविकासको काममा निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरेका छन्।