२०७४ कार्तिक २८ गते १४:०३ विकासन्युज
काठमाडौं मलेसियामा जारी एसिसी यू-१९ युथ एसिया कपअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए ।
बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए ।
यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए ।
मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.