२०७४ माघ १४ गते ११:०५ विकासन्युज
सिन्धुपाल्चाेक जन्मेर ग्रामिण क्षेत्रमा नै हुर्किनु भएका अन्जन भण्डारी वाणिज्य शास्त्रमा स्नातक गरेपछि अभिकर्ताको रुपमा सन २००८ देखि काम थाल्नु भएको हाे । २८ वर्षिय भण्डारी सबैभन्दा बढी बीमा कारोबार गर्ने अभिकर्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँले गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउनु भएको भण्डारीले चालु आर्थिक वर्षमा १०० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउने लक्ष्य राख्नु भएको छ । १० वर्षभित्र वार्षिक १० अर्ब रुपैयाँ प्रिमियम संकलन हुने गरी ठूलो स्केलमा बीमा गराउने लक्ष्यसहित उहाँ अगाडि बढिरहनुभएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उहाँलाई विश्वकै सबैभन्दा बढी बीमा गराउने अभिकर्ताको रुपमा सम्मान पनि गरिसकेको छ । स्वेच्छिक रुपमा बीमा गर्ने अभ्यास नभएको समाजमा यति ठूलो भोलुमको विजनेश गर्ने उहाँको सीप, कला, क्षमता के हो ? देशविकासका लागि भण्डारीसँग गरिएको अन्तरवार्ता यस पटक ।
तपाई बीमा क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ? अहिलेसम्मको उपलब्धि कस्तो रह्यो ?
म एलआईसी नेपालमा सन् २००८ देखि अभिकर्ताको रुपमा कार्यरत छु । मैले बीमा अभिकर्ताको रुपमा काम गर्दा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, नेपाल लाईफ इन्स्योस्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी थिए । त्यसपछि १३ वटा नयाँ जीवन बीमा कम्पनी थपिएका छन् ।
गत वर्ष कन्भेन्सनल प्लानमा मात्र मैले २१ करोड रुपैयाँ भन्दा बढीका प्रिमियमको बीमा भएको छ । गत वर्ष नयाँ बीमाको पोलिसीबाट मात्र २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थिएँ । सबै गरी ५० करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन भएको छ । चालु आर्थिक वर्ष १०० करोडभन्दा बढीको प्रिमियम संकलन गर्ने लक्ष्यको साथ काम गरिरहेको छु ।
गत वर्ष नै मैले २/३ वटा कम्पनीलाई जितिसकेको छ । यस वर्ष खुलेका ९ वटा कम्पनी म भन्दा पछाडि हुनेछन् । पुराना कम्पनीमा पनि २÷३ वटा मभन्दा पछाडि हुनेछन् ।
वार्षिक १०० करोडको प्रिमियम संकलन हुने गरी बीमा गराउँदा तपाईलाई नाफा कति हुन्छ ?
अफिसको सबै खर्च कटाएर र सबै कर तिरेर करिव ४ प्रतिशत मात्र बचत हुन्छ । १०० करोड प्रिमियम संकलन हुँदा ४ करोड रुपैयाँ मलाई फाइदा हुन्छ । भन्न त जे भने पनि भनिन्छ । तर अभिकर्ताले कुल प्रिमियममा पाउने भनेको ४/५ प्रतिशत मात्र हो ।
एक्लैले यति ठूलो विजनेश कसरी गर्नुभएको छ ?
म एक्लै छैन । मेरो कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित ८ जना कर्मचारी छन् । मैले हेर्ने भनेको नयाँ ग्राहकलाई मात्र हो । पुराना ग्राहकलाई दिने सेवाहरु कर्मचारीले हेर्छन । हाम्रा ग्राहकलाई कर्जा चाहिएको हुन सक्छ, बीमा दावी गर्नु परेको हुनसक्छ, डकुमेन्टेशनको सेवा आवश्यक होला, मेडिकल इन्स्योरेन्सको सेवा दिनु होला, ती सबै काम कर्मचारीबाट हुन्छ ।
हाम्रा ग्राहक करिव २००० हजार ग्राहक भएका छन् । वर्षमा ५० करोडभन्दा बढी प्रिमियम संकलन हुन्छ । एकै दिन करोडभन्दा बढी प्रिमियम संकलन भएको हुन्छ । यी सबैं काम मैले गर्न सक्दिन । यी सेवाहरु कर्मचारीहरुबाट हुन्छ, सिस्टमबाट हुुन्छ ।
मैले १० वर्षअघि नै एउटा सिस्टम बनाउन लाखौं लगानी गरेको थिए । अहिले करोडौं रुपैयाँ लगानी गरेर नयाँ पोलिसी बनाउँदैछु । नयाँ रणनीतिको लागि मैले किन करोडौं लगानी गर्दैछु भने अब मेरो लक्ष्य अर्बौको कारोबार गर्ने हो ।
निकट भविष्यमा कति कारोबार गर्ने लक्ष्य लिनु भएको छ ?
१० वर्षभित्र वार्षिक १० अर्ब भन्दा बढी प्रिमियम संकलन गर्ने लक्ष्यसहित काम गरिरहेको छु ।
नेपालमा बीमा स्वेच्छिक रुपमा गर्ने अभ्यास छैन । धेरै आग्रह, अनुनय, विनय गरेपछि मात्र बीमा गर्छन भन्ने भनिन्छ । तपाईले मान्छेको विश्वास कसरी जिन्तुहुन्छ ?
नेपालका बीमा अभिकर्ता मध्ये प्रयाः सबैले यो पेशालाई आंशिक (पार्ट टाईम जब) रुपमा लिएका छन् । मैले बीमालाई नै पूर्णकालिन पेशाको रुपमा लिएको छु । मैले यस पेशामा ठूला लगानी गरेको छु । अध्ययन गरेको हुन्छु, ग्राहकलाई राम्रो प्रस्तुती दिन सक्छु । ‘बीमा गर्नुहोस्’ मात्र भन्दिन, यसको लाभको बारेमा राम्ररी बुझाउने क्षमताको विकास गरेको छु ।
अन्जन भण्डारी भनेको बीमाको प्रयाबाजी शब्द जस्तो भईसक्यो । मलाई चिन्ने सबैलाई थाहा छ कि म बीमा अभिकर्ता हुँ । म कसैसँग समय लिएर भेट्न जाँदैछु भने पहिलो नै भन्नेछु कि ‘म तपाईको बीमा गराउन आउँदैछु ।’ कफी खान आउँछु भनेर भेट्ने अनि बीमाको कुरा म गर्दिन । अरु व्यापार व्यवसाय वा सम्बन्ध जोडेर जाने अनि बीमाको कुरा गर्ने काम म गर्दिन । म सोझै बीमाको कुरा गर्छु । मान्छे भेटेपछि मेरो इतिहार र वर्तमान बुझाउँछु । बीमाको महत्व बुझाउँछु । मप्रति विश्वास गरेर बीमा गर्नेहरु धेरै छन् ।
कुनै पनि व्यक्तिले बीम कम्पनीलाई विश्वास गरेर बीमा गर्ने कि अभिकर्तालाई विश्वास गरेर ?
दुबै हो । कम्पनीप्रति पनि विश्वास हुनुपर्छ, अभिकर्ताप्रति पनि विश्वास हुनुपर्छ । नेपाली समाझमा ७० प्रतिशत मान्छे व्यक्तिगत सम्बन्ध, व्यक्तिको प्रस्तुति र प्रभावका आधारमा बीमा गर्छन । ३० प्रतिशत मानिस मात्र बीमा कम्पनीको बारेमा बुझेर बीमा गर्छन ।
तपाईले बीमा गराउने लक्षित वर्ग कुन हो ?
व्यवसायिक समूदाय । नेपालको ठूलो व्यवसायिक व्यक्तित्वमध्ये अधिकांशको बीमा मैले नै गराएको छु । जो मान्छे भेट्न सामान्य अभिकर्ताले सक्दैन, ३÷४ वटा गेट वा सुरक्षा जाँच पार गरेर मात्र पुग्न सकिन्छ । त्यसको लागि तपाईसँग रणनीति चाहियो ।
व्यवसायीहरु अधिक नाफामा केन्द्रीत हुन्छन । उनीहरु किन बीमा गर्छन ?
पारिवारिक सुरक्षा, जोखिम न्यूनिकरण र व्यवसायकि लाभ । बैंकले कर्जा दिदाँ बीमा गरे जस्तै व्यवसायीले आफ्नो व्यवसायिक जोखिमको आधारमा बीमा गर्नु राम्रो हुन्छ । कुनै व्यवसायीले ५ करोडको व्यवसाय गरेको छ । ३ करोड बैंकको कर्जा होला, २ करोड उसको आफ्नै लगानी होला । कुनै कारणबस उसको निधन भयो वा अशक्त भयो भने ५ करोडको जोखिम उसको परिवारलाई थेग्न गाह्रो हुन्छ । त्यसैले उसले अरुको भन्दा बढी बीमा गर्नु पर्छ । आज १००० करोड ऋण लिएर व्यवसाय गर्नेले १०० करोडको पनि बीमा गरेको छैन । भोलि ऊ तलमाथि पर्यो भने उसको परिवार त जोखिममा पर्यो नि । उसले ऋण लिँदा बैंकमा धितो मात्र राखेको हुँदैन, व्यक्तिगत जमानी पनि बसेको हुन्छ । त्यसैले व्यवसायीहरुले जति ऋण लिएका छन्, त्यति नै रकमको लागि जीवन बीमा गर्नुपर्छ ।
तपाईले लिएको अभिकर्ताको लाईसेन्स व्यक्तिगत हो कि संस्थागत ?
व्यक्तिगत हो । म आफ्नो नामबाट नै व्यवसाय विस्तार गर्न चाहान्छु ।
संस्थागत रुपमा अभिकर्ता आउने अभ्यास कत्तिको छ ?
शुरु भएको छ । जस्तै बैंकहरु नै बीमा कम्पनीको एजेन्टको रुपमा काम गर्न थालेका छन् । तर बैंकको मुख्य काम अभिकर्ताको सेवा दिनु होइन, उसको सहायक काम मात्र हो ।
अभिकर्ताको रुपमा राम्रो आम्दानी गर्नु भएको छ, लगानी कहाँ गर्नुहुन्छ ?
म विशुद्ध अभिधकर्ता हुँ । मेरो सम्पूर्ण मिहेनत बीमा अभिकर्ताको रुपमा मात्र हुन्छ । लगानीकर्ताको रुपमा म ग्रुप विजनेशमा छु । हाम्रो ग्रुपले सेयर बजार लगानी गरेको छ । इन्भेष्टमेन्ट कम्पनी पनि चलाएको छ । होटल, ट्राभल्स एण्ड टुर कम्पनीमा लगानी गरेका छौं ।
अरु बीमा अभिकर्तालाई तपाईको सुझाव के छ ?
पहिला बीमाको बारेमा अभिकर्ता आफैलाई ज्ञान हुनुपर्यो । ९० प्रतिशत अभिकर्तालाई बीमाको बारेमा राम्रो ज्ञान नै छैन । जोसँग बीमाको ज्ञान नै छैन, उसले कसरी अरुलाई बीमाको महत्वबारे बुझाउन सक्छ ? सक्दैन । नेपालमा चार लाख अभिकर्ता छन् । तर मासिक १ लाख आम्दानी गर्ने अभिकर्ता ज्यादै कम छन् । मासिक १ लाख रुपैयाँ पनि कमाउन नसक्ने अभिकर्तासँग कि ज्ञान छैन, कि उसले बीमा पेशालाई पार्ट टाईभ जब बनाएको छ भनेर बुझ्दा हुन्छ ।
विर्सन नहुने कुरा के पनि हो भने संसारभर नै सबैभन्दा गाह्रो काम भनेको बीमा अभिकर्ताको हो । नेपालमा बीमाको कल्चर पनि कम छ । किनकी मेरो बुबाले पनि गर्नु भएको थिएन । जसको परिवारमा अघिल्लो पुस्ताले पनि बीमा गरेको थियो, उसको परिवारले बीमाको महत्व बुझेको हुन्छ । बीमा गर्न राजी हुन्छ । घरमा पनि बीमाको महत्व नबुझेको, स्कूल, कलेजमा पनि बीमाबारे केही नसिकेको समाजमा बीमा गराउनु सजिलो काम होइन । गाह्रो कामको लागि बढी मिहेनत गर्नै पर्छ । ग्राहकको विश्वास जित्न सक्नुपर्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.