२०७४ माघ २१ गते ११:४१ विकासन्युज
काठमाडौं । कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापकहरुले हकप्रद सेयर भर्न नपाउने भएका छन् ।
कम्पनीले संस्थापक लगानी कर्ताहरुलाई माघ २९ गतेभित्रै आफ्नो हिस्सा बराबरको हकप्रद सेयरको रकम जम्मा गर्न भनेको छ । तर कम्पनीले कालो सूचिमा परेका संस्थापकहरुले भने हकप्रद भर्न नपाउने स्पष्ट पारेको छ ।
प्राइमले पहिलो पटक बैंकको कर्जा नतिरेर कालो सुचिमा परेका संस्थापक सेयरधनीलाई हकप्रद निदिने जानकारी गराएको हो । कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । सर्वसाधारणमा हकप्रद निष्कासन गर्नुअघि संस्थापकले आफनो हिस्सामा पर्न आउने सेयर रकम बुझाउन भनेको छ ।
कालो सुचीमा भएकाले हकप्रद सेयर किन्न नपाउने अनिवार्य व्यवस्था नभएपनि कम्पनी आफुले यस विषय निर्णय गर्न सक्ने छन् ।
प्राइमले चुक्तापुँजी बढाउन १ बराबर १ः६० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारण सेयरधनीलाई हकप्रद सेयर निष्कासनको सुचना प्रकाशित गर्नुअगावै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा भएको व्यवस्थाअनुसार हकप्रद निष्कासन गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौ, आठौ, नवौ र दशौं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुगेको छ । बीमा समितिले चालु आर्थिक वर्षभित्र जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्तापँुजी पुर्याउन निर्देशन दिएको छ ।
कम्पनी स्थापना गर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ कालोसुचिमा परेका व्यक्ति तथा संस्थाले संस्थापक सेयर खरिद गर्न नपाउने व्यवस्था छ । तर पछि हकप्रद सेयर खरिदको विषयमा यस्तो व्यवस्था नभएको बीमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.