२०७४ माघ २५ गते १३:०४ विकासन्युज
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३२.५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट असार मसान्तसम्मको चुक्ता पुँजीको सो मात्रा अर्थात १९ करोड ८३ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको थियो । त्यसमा ३२.५ प्रतिशत बोनस पश्चात इन्स्योरेन्सको पुँजी ८१ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले सो बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागी आवश्यक रकम नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित हुनु पर्ने छ ।
कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौँ, आठौँ, नवौँ र दशौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियाे । हाल कम्पनी सो मात्राको हकप्रद निष्कासन गर्ने प्रक्रियामा रहेको छ ।
त्यस्तै, हकप्रद पश्चात कायम हुने पुँजीमा उक्त बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनेले पनि ३२.५ प्रतिशत बोनस सेयर पाउने इन्स्योरेन्सले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.