२०७४ फागुन २ गते ९:२८ विकासन्युज
काठमाडौं । ३ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीको प्रथम वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको हो ।
सभाले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसंग सम्झौता गर्न लगायत अन्य काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । यस्तै आईपीओ जारी प्रयोजनाका लागि सम्बन्धित निकायबाट स्वीकृति लिने क्रममा प्रवन्धपत्र तथा नियमावलीको कुनै दफा परिवर्तन गर्न परेमा सोको परिवर्तन गर्न सक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालकमा कल मोवलिटीका तर्फबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जनलाई निर्विरोध निर्वाचन गरेको छ ।
चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ हुने र यसमध्ये १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयर लगानी हुने छ । ६६ करोड रुपैयाँ सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो ।
ज्योतिले आईपीओ निष्कासनको तयारी गरेपनि सञ्चालनमा आएको १ वर्ष नपुगी आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था रहेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्कास गर्न नपाउने व्यवस्था रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.