प्राधिकरणले भूकम्पबाट हल्लिएको २५ हजार घरलाई आवासयोग्य बनाउने

  २०७४ चैत १३ गते १५:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ । प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको हो ।

हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् ।

प्राधिकरणले आगामी २ बर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने जनाएको छ । सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने छन् ।

यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ ।

प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीहरुले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत्र तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए ।

पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।

यस्ता छन्र  प्रबलीकरण गर्नुपर्ने घरको संख्या (जिल्लागत)

१) सिन्धुपाल्चोक – ३७६
२) काभ्रेपलाञ्चोक – २,४१५
३) दोलखा – ६३७
४) रामेछाप – २,१४९
५) गोरखा – २,०१९
६) धादिङ – १,४९४
७) नुवाकोट – ९३६
८) रसुवा – ११७
९) ललितपुर – ६६७
१०) ओखलढुंगा – १,६४३
११) सिन्धुली – २,४०८
१२) मकवानपुर – ४,१५२
१३) काठमाडौं – ५७५
१४) भक्तपुर – २७८
१५) लमजुङ – ५३९
१६) सोलुखुम्बु – ४५६
१७) खोटाङ – २५३
१८) स्याङ्जा – ५६७
१९) चितवन – ५९३
२०) तनहुँ – ४६६
२१) पाल्पा – ३८४
२२) बागलुङ – ८२
२३) गुल्मी – १९५
२४) कास्की – २४२
२५) पर्वत – ४१७
२६) म्याग्दी – ७
२७) अर्घाखाँची – ६७
२८) नवलपरासी – ८
२९) धनकुटा – ७०
३०) भोजपुर – ४५३
३१) संखुवासभा – ३२६