गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा

  २०७४ चैत २७ गते १६:१५     डा. युवराज खतिवडा

बढी कर संकलन हुने क्षेत्र मध्ये अटोमोवाईल क्षेत्र पर्छ । बढी कर तिर्ने अटोमोवाइल व्यवसायीहरु संस्था भएकोले, तपाईहरुलाई सम्मान गर्नु पर्छ भनेर म नाडाको यस वार्षिक साधारणसभामा सहभागि हुन आएको हुँ ।

अटोमोवाइल व्यवसायी करै घटाउने कुरा गर्नुहुन्छ भनेर मेरो मन्त्रालयको सचिवहरु त आउदै आउनु भएन । म पहिलो चोटी तपाईहरुको कार्यक्रममा आए । कुरा त्यही रहेछ भन्ने बुझेँ ।

म आटोमोबाइलको आयातालाई बढो ध्यानपूर्वक हेर्छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु ।

अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो, त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं ।

मूलतः यातायातको साधन उत्पादनसँगै जोडिने हो । यसमा कुनै शंका छैन । तर हामी आफै कति उत्पादनसँग जोडिएका छौं । मैले किनेको सवारी साधनले म कारखानासम्म जान पाउनुपर्दछ । मेरो कारखानाबाट बजारिकरण गर्न पाउनु पर्दछ । उत्पादनलाई निर्यात गर्ने बिन्दुसम्म जान पाउनुपर्दछ ।

कुनै चिज उत्पादन प्रयोगको हिसाबले हुन्छ । आफैमा त्यो उत्पादक अनुत्पादक हुँदैन । प्रयोग कसरी गर्छौ । मानौं तपाईको हातमा भएको मोबाइल ग्याम खेल्दा पनि भयो, विजनेशमा लाउदा पनि भयो, मार्केट इन्फर्मेशन लिदा पनि भयो, प्रविधिको लागि प्रयोग गर्दा पनि भयो । यो हेर्दा खेरी विलासी जस्तो देखिन्छ । तर यो तपाईको उत्पादनसँग जोडिएको पनि हुन्छ । के खायौ ? भनेरै लामो समयसम्म गफ मात्रै गरिराखेको पनि हुनसक्छ ।


त्यसो हुनाले हामीले भन्ने के हो भने हामी सबैले आयात गर्ने वस्तुलाई उत्पादनसँग जोड्न सकौं । निर्यात बढाउन सकौं । आयात प्रतिस्थापन गर्न सकौं र मुलुकलाई अघि बढाउनलाई एउटा आधार बनाउन सकौं भन्ने नै हो ।

मैले पहिले आदिकवि भानुभक्तको श्लोक पढेको थिए कान्तिपुरको बारेमा । त्यहाँ भनिए अनुसार काठमाडौंको ७ फुटको सडकमा ९ फुटको बस दगुड्छ । कवितामा केही अतिरन्जि गरिएको होला । तर कुरो के हो भने सडक साँगुरा छन् । गाडी ठूला भए । गाडीको संख्या कम छन् । गाडी चढ्ने बढी भए ।

हामीले दुईटा काम गर्नुछ । पहिलो, सवारी साधनको संख्या, आकार सबै बढाउनु पर्छ । दोस्रो, सडकको आकार पनि बढाउनुपर्छ । अब सडकको आकार यसै बढ्दैन पैसा लाग्छ । सरकारले राजस्व उठाउनु पर्छ । अनि सडकमा जे कुद्ने हो त्यसैबाट ट्याक्स उठाउनुपर्छ । मोटर चढ्नेसँग पैसा नउठाएर किसानसँग पैसा उठाउने र सडक बनाउने भन्ने कुरा हुन सक्दैन । जो सवारी साधन चढ्छ । उसले कर तिर्नु पर्यो । त्यहि पैसाबाट सडक चौडा गर्ने काम सरकारको हो ।

त्यो राजस्वलाई सरकारले दुरुपयोग गरेको अवस्थामा तपाईहरुले औला ठढ्याउने हो । राजस्व दुरुपयोग भयो भने तपाईहरुले प्रश्न गर्नुहोस् ।
तपाईहरु कर तिर्नुहोस् । तपाईहरुले तिरेको करको हामी राम्ररी सदुपयोग गर्छौ । नयाँ सडक, सडक विस्तार गर्ने काम हामी गर्छौ । धेरै भन्दा धेरै नागरिकले गाडी किन्न सक्ने गरि आर्थिक गतिविधि माथि लैजान्छौं । त्यसमा तपाईहरुको व्यवसाय पनि बढ्छ, देशको विकास पनि हुन्छ । यसमा वीन–वीनको कुरा छ ।

तपाईहरुले तिरेको राजस्वलाई हामीले राम्रो काममा उपयोग गर्न सक्नुपर्छ । त्यो हाम्रो प्रयास छ । तपाइहरु ढुक्क हुनुहोस् । तपाईहरुले तिरेको राजस्व हामी दुरुपयोग हुन दिदैनौं ।

दोस्रो कुरा हामी अहिले केही दिगो विकासका मोडलहरुको कुरा गर्दैछौं । दिगो विकासका कुरा गर्ने वित्तिकै उपभोग र उत्पादन प्रणालीमा पनि दिगो विकासका अबधारणा ल्याउनु पर्छ । वातावरणीय रुपमा उत्पादनको साधनहरुलाई प्रयोग गर्ने रुपमा, समाजको रुपमा तिनीहरु टिकाउ हुन् ।

अर्को हामी सुरक्षित सहर, सुरक्षित बस्ती, सुरक्षित आवागमनको कुरा गर्छौ, सहरी यातायात सुरक्षित भएन भने हाम्रो दिगो विकास लक्ष्य पनि प्राप्त हुदैन । त्यो हुनाले सुरक्षित सहरी यातायात, सुरक्षित सवारी साधनहरु र ती सुरक्षीत सवारी साधनहरु पनि वातावरण नविगार्ने किसिमको हुनु पर्दछ भन्ने हाम्रो मान्यता छ ।

त्यसो भएर हामीले सार्वजनिक ठूला सवारीका साधनहरुलाई विद्युतिय प्रणालीमा लैजाने भनेर काम शुरु गरिसकेका छौं । सार्वजनिक सवारीका ठूला साधनहरु भयो भने सडकको कन्जक्सन पनि कम हुने र विद्युतिय भयो भने प्रदुषण पनि कम हुनेछ । त्यो प्रयासमा यहाँहरुले हामीलाई साथ दिनुहोला । किनभने तपाईहरुले आयात गर्ने ठूला सवारीका साधन, अटोमोबाइलहरुले नै हाम्रो उद्देश्यहरु पूरा गर्नलाई सहयोग पुर्याउछ । त्यसको लागि सरकारले के–कस्तो सहकार्य गर्नु सक्छ, त्यो गर्न हामी तयार छौं ।

हामीसँग यतिधेरै अटोमोबाइलको माग छ । मुलुकमै इन्डस्ट्रि बनाउ अथवा केही चिज नेपालभित्र पनि उत्पादन गरौं । त्यसको लागि ठूलै औद्योसगक अथवा विशेष अर्थिक क्षेत्र चाहिन्छ भने त्यस्को पनि व्यवस्था गरौं भनेर हामीले ठूलठूला औद्योगिक तथा विशेष अर्थिक क्षेत्रहरुका परिकल्पना पनि गरेका छौं ।

अब प्रदर्शनी कक्षको मात्र होइन, उत्पादन कक्षको पनि कुरा गर्न थाल्यौं । हामीहरु डिलर्स मात्र नभएर एसेम्ब्लर्स पनि हौं । काँही काँही भ्यालु चेन्जको लागि कुनै–कुनै पार्टपूर्जाहरु हामीले पनि उत्पादन गर्न सकौं । तपाईहरुलाई उद्योगसँग पनि जोड्न पायौं भने हामी धेरै खुसी हुन्छौं । तपाईहरुको त्यस्तो उद्देश्यले पनि आइदिनुभयो भने हामी खुसी हुन्छौं र सहकार्य गर्न हामी तयार हुन्छौं ।

एक हातले तालि काँही पनि बज्दैन । तपाईहरु इमान्दर भइन्जेल नेपाल सरकारका कर्मचारीहरुले बेइमानी गर्ने ठाँउ नै हुदैन । अथवा नेपाल सरकारका कर्मचारी इमान्दार भइन्जेल तपाईहरुलाई बेइमान गर्ने पनि ठाँउ हुदैन ।

त्यसैले मेरो प्रयास के हो भने हामी सदाचारमा रहन्छौं । अर्थमन्त्रालय मातहतमा तपाईहरुलाई कसैले दस्तुरी मागेको, कसैले केही मोलाइहिज्जा गर्न खोजेको गुनासो छ भने हाम्रो हटलाईनको व्यवस्था छ । सिधै इलेक्ट्रोनिक मेलमा राख्न सक्नुहुन्छ । अर्थमन्त्रालयको वेवसाईटमा त्यस्तो एउटा पेज छ जहाँ तपाईले इलेक्ट्रोनिकली कम्प्लेन पनि राख्नुसक्नुहुन्छ । फिजिकल कम्प्लेन पनि मन्त्रालयमा पठाउन सक्नुहुन्छ । फोन नम्बरमार्फत पनि सम्पर्क गर्नुसक्नुहुनेछ । हाम्रो मन्त्रालयदेखि केही दिनमा पाउनुहुनेछ ।

त्यसो भएर हामीले तपाईहरुसँग सदाचारीताको अपेक्षा गरेका छौं । साथै हामी पनि त्यसमा बस्ने प्रतिवद्धता जाहेर गर्दछु ।


एउटा अर्को विषय छ । खुला सीमाना छ । अनि सवारी साधनहरुको आवगमन हुन्छ । कोही आएका फर्किदै फर्किदैन । कोही गएका फर्किदैनन् । कहिले भन्सार विन्दुभन्दा अर्को विन्दुबाट आउछ । नजानेको मान्छेले किन्छ । किनिसकेपछि पक्राउ पर्छ । उसले भन्छ ‘मैले त यहीँको सवारी साधन भनेर किने मलाई प्रहरीले पक्रर्यो भन्छ’ गुनासो गर्छ ।

यसको लागि हामीले हाम्रो खरिदकर्ताहरुलाई चेतना जगाउनु पर्ने काम छ भने, अर्को हामीले सीमा नियन्त्रण पनि त्यतिकै गर्र्नुछ । सीमा व्यवस्थित गर्नुको लागि र अस्वस्थ्य प्रतिस्पर्धा नहोस् भन्नका लागि त्यो काम हामीले गर्नुछ । हामीले सीमा सुरक्षा, व्यवस्थापन र भन्सार व्यवस्थापनलाई अलि कडाइका साथ अघि बढाउन खोजेका छौं ।

भन्सार वा अरु करका दरहरु मुलुकअनुसारको हुन्छ । चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा भन्दा भुटानमा मोटरमा लाग्ने कर कम छ, गाडी सस्तो छ भन्नुभयो । मैले भुटानमा काम गरेको हुनाले मलाई थाहा छ । भुटानको अर्थतन्त्र बिगार्ने अटोमोबाइल नै भएको छ । मैले त्यहाँ काम गर्दा भुटानको राजधानी थिम्पुमा कुनै समय ट्राफिक नै थिएन । ट्राफिक र ट्राफिक लाइट नभएको कुनै देशको राजधानी भन्न पर्दा थिम्पुलाई भनिन्थ्यो ।

अहिले ट्राफिक जाम हुन्छ । गाडीको आयात बढ्दा भुटानको ब्यलेन्स अफ पेमेन्टको समस्या आएको छ । आयात गरेको सामानको भुक्तानी गर्न पैसा भुटान अहिले अप्ठ्यारो स्थितिमा परेको छ । मुलुकका आकारअनुसार यस्ता कुराहरु हुन्छन् । सिंगापुरका कथाहरु पनि तपाईहरुलाई थाहा भएकै हो ।

मैले यो भनेर हामी गाडीको आयातलाई कुन्ठीत गर्नुपर्छ, रोक्नुपर्छ भनिराखेको छैन । मुलुकको विकासको आवश्यकता, व्यावसायिक सम्भावना र मान्छेको मोभीलीटीलाई व्यवस्थित गर्ने क्रममा अर्थतन्त्रको विकास सँगसँगै यसलाई अघि बढाउनु पर्दछ । निरपेक्ष ढङ्गले कुनै सेक्टर मात्रै अघि बढ्न सक्दैन ।

मुख्य कुरो नेपालीहरुको आम्दानी सृजना गर्ने अवस्था सृजना गर्न सक्यौं भने त्यो आम्दानीले कर पनि तिर्नु हुन्छ, गाडी पनि किन्नु हुन्छ । तपाईहरुले तिरेको करले हामी सडक बनाउछौं । तपाईहरु गाडी बिक्री पनि बढ्छ ।

अहिलेनै काठमाडौंको ट्राफिक हेर्नुभयो भने तपाईहरु आफैलाई एक किसिमले महशुस हुँदो हो नि कति गाडी बेचिएछ भनेर । भलै त्यो पनि सरकारकै कारणले हो । हामीले आयात गर्न छोडेकै छौं । तपाईहरुले व्यवसाय गरिरहनु भएको छ । त्यही कारण भएर । तर हाम्रो सडक विस्तारको योजना त्यसअनुरुप हुन सकेन । व्यवसायीहरु पनि काठमाडौं केन्द्रित भए ।

अब संघीयता कार्यान्वयनसँगै अलिकति केही हाम्रा क्रियाकलापहरु, राजनैतिक शक्ति वाँडफाँड क्षेत्रहरु केही विकेन्द्रीकृत भएका छन् । तर पनि कतिपय ठाँउमा यो समस्या छ । त्यसो भएको हुनाले हामीले काठमाडौं उपत्यकाभित्रको सवारी व्यवस्थापनमा तपाईहरुको सहयोगले केही कामहरु गर्नुपर्नेछ ।

सार्वजनिक यातायातको क्षेत्र बढाउने, हाम्रो अटोमोबाइलको क्षेत्रलाई कसरी व्यवस्थित गर्ने ? हामीले ल्याउने सवारी साधनहरु कस्तो प्रकृति, मोडेलको हुने, कुनलाई विलासीताको भन्ने ? कुनलाई आवश्यकताको भन्ने यसको पनि परिभाषा त होला नि ? वहस गरौं ।

२५/२६ सय देखि ३/४ हजार सीसीको पनि बाइक हुन्छ भन्ने सुनेको छु । त्यो के होला ? त्यसो हुनाले राज्यले विचार गर्नु पर्ने पक्ष हुन्छ । तपाईहरुले पनि बिचार गर्नु पर्ने हुन्छ । व्यवसायी जवाफदेहीता तपाईहरुको छ । तर त्यो व्यवसायिक जवाफदेहीता भित्रनै व्यवसाय गरेर तपाईहरुको संरक्षण, तपाईहरुको व्यवसायलाई संरक्षण गरिदिने र त्यसको आधारबाट राज्यले राजस्व लिएर देश विकास गर्ने हाम्रो जवाफदेहीता हुन्छ ।

त्यसैले हामी सहकार्यता गरौं । निजी क्षेत्रसँग यो सरकार धेरै नजिकमा रहेर काम गर्न चाहन्छ । चाहे उद्योग, व्यापार वा कुनै क्षेत्रमा होस् कोही पनि दुविधामा पर्नु हुदैन । हामी हाम्रो नीतिहरुलाई पछाडि फर्काउने पक्षमा छैनौं । तर जहाँ सुधार आवश्यक छ । जहाँ परिमार्जन आवश्यक छ । त्यो हामीले गर्नैपर्छ ।

किनभने हामीले रोजेको बाटो सबै नेपालीहरु सुखी हुन् । सबै नेपालीहरु समृद्ध होऊन् । कुनै एउटा वर्ग व्यक्ति मात्र धनी भएर मुलुक धनी हुदैन । हामी सबै धनी भयौं भने मुलुक धनी हुन्छ भन्ने हाम्रो सिद्धान्त हो । त्यसकै आधारबाट हामी अघि बढ्न चाहन्छौं ।

(नाडा अटोमोवाईल्स डिलर्स एशोसिएशन अफ नेपालको ४१ औं वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको विचार)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.