एनसीसी बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र लाईफ इन्स्योरेन्स कर्पोरेशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशनको पोलिसी बिक्री गरिनेछ ।
भूकम्प पीडितलाई २ प्रतिशत ब्याजकाे ऋण १० वर्षसम्म दिने तयारी, राष्ट्र बैंक एेन संशाेधन हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजमै १० वर्षसम्म भूकम्प पीडितलाई कर्जा दिने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले भूकम्प पीडितका अतिरित्त बाढी पीडित र अग्नी पीडितलाई दिने समेत सहुलियत व्याजदरकाे आवास कर्जाको अवधि पनि १० वर्ष पुर्याउन पहल गरेकाे छ । नेपाल राष्ट्र बैंक एेन २०७३ मा अावश्यक संशाेधन गरी विपत्मा परेका नागरिकलार्इ अावास निमार्ण गर्न दिन पुर्नकर्जाकाे अवधि १० वर्षसम्म गर्न लागिएकाे डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । हालकाे व्यवस्थामा सहुलियत व्याजकाे पुर्नकर्जा १ वर्षका लागि दिन मिल्छ । यस्ताे कर्जामा राष्ट्र बैंकले थप एक वर्षकाे लागि मात्र व्याज छुट दिन सक्छ । भूकम्क पीडितले दुर्इ वर्षअघि लिएकाे कर्जामा राष्ट्र बैंकले पुर्नकर्जा दिन सकेकाे थिएन । यस्ताे अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले भूकम्प पीडितसँग १२ देखि १४ प्रतिशन व्याज लिन थालेका थिए । व्याज बढेपछि भूकम्प पीडितहरूकाे गुनासाे राष्ट्र बैंकमा अाएकाे, याे विषयमा संसद्मा पनि अावाज उठेकाेले एेन संशाेधन गरी एउटा बुँदा थप गर्न राष्ट्र बैंकले अर्थ मन्त्रालयमा सिफारिस गरेकाे उनले जानकारी दिए ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखा धादिङ्को गजूरी र गल्छीमा
काठमाडौं । एनआईसी एशिया बैंकले धादिङ्मा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले धादिङ्को गजूरी र गल्छीमा थप शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त गजूरी शाखाको उद्घाटन सोही गाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले गरेका छन् । त्यस्तै, गल्छी शाखाको उद्घाटन सोही गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले गरेका छन् । यी शाखा सहित बैंकको शाखा संख्या २३४ पुगेको छ । त्यस्तै, बैंकले २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामासन नेपाल लाईफ इन्स्योरेन्सकातर्फबाट विभागीय प्रमुख बिनोदशर्मा पौडेल र संग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बिभागीय प्रमुख तेजबहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात संग्रिलाका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी अब सन नेपाल लाइफबाट सजिलै पाउन सक्नेछन् । साथै, सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु संग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखामा पाइने कम्पनीले जनाएको छ ।
श्रीभद्भागवद्गीता र सरल नेपाली गीता विमोचन
काठमाडौं । नेपालमा गीताप्रेस पुस्तक बिक्री केन्द्र स्थापना भई २ वर्ष पूरा भएको अवसरमा श्रीभद्भागवद्गीता एवं सरल गीता नेपाली भाषामा प्रकाशन गरी विमाेचन गरेकाे छ । नेपाली भाषामा अनुवाद भएको श्रीभद्भागवद्गीता र सरल नेपाली गीता प्रेस गोरखपुरले सुपथ मूल्यमा प्रकाशन गरेको छ । उक्त उपलक्ष्यमा “प्रत्येक नेपालीको घरमा श्रीभद्भागवद्गीता हाम्रो अभियान” को लक्ष्य लिई गीताप्रेस सेवा केन्द्र नेपाल र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको पहलमा गत साउन २० गते श्रीभद्भागवद्गीता र सरल नेपाली गीता विमोचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि सहित लव्ध प्रतिष्ठित विद्वानहरुको उपस्थिति थियो । कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष एवं बरिष्ठ उद्योगपति बिनोदकुमार चौधरीले पठाएका शुभकामना संदेश पढेर सुनाइएको थियो । सन्देशमा उनले श्रीभद्भागवद्गीता एवं सरल गीता नेपाली भाषामा अनुवाद एवं प्रकाशन गरेर गीताप्रेस पुस्तक बिक्री केन्द्रले सम्पूर्ण नेपालीहरूलाई अनुगृहित बनाएको उल्लेख गरेका छन् । साथै, उनले यस्ता विशिष्ट कृतीहरू नेपाली भाषामा प्रकाशित गर्न प्रोत्साहित गर्न आग्रह गरेका थिए ।
लक्ष्मी बैंकको १८औं शाखा काठमाडौंको मनमैजुँमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १८औं शाखा काठमाडौंको मनमैजुँमा संचालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखा सहित बैंकको ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।
२८१ प्रतिशत हकप्रदले लगानीकर्तालाई लोभ्यायो, प्रोगेसिभ फाइनान्सको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । फाइनान्सको साधारण र संस्थापक दुबै सेयर बढी कारोबार भएको हो । संस्थापक सेयर प्रतिकित्ता १०१ र साधारण सेयर प्रतिकित्ता ११७ रुपैयाँमा करोबार भएको छ । २८१ प्रतिशत हकप्रद सेयर पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् । चुक्तापुँजी बढाउन फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने भएपछि लगानीकर्ता लोभिएका हुन् । साउन २२ गतेसम्म अर्थात मंगलबारसम्म सेयर किन्नेले २८१ प्रतिशत हकप्रद सेयर भर्न पाउने भएपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् । फाइनान्सले भदौ ५ गतेदेखि ५९ करोड रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन असोज ८ गतेसम्म हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । संस्थापक शेयरधनीको ५१ प्रतिशत अर्थात ४० करोड ८० लाख रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ३९ करोड २० लाख रुपैयाँ पँुजी पुग्नेछ ।
‘स्पोर्टस् सिटी’का लागि तुलसीपुर उपयुक्त, २४ करोडको लगानी
काठमाडौं । प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्धारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन कार्यदलले सो निष्कर्ष निकालेको हो । सो कार्यदलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली, खेल विज्ञद्वय निलेन्द्रराज श्रेष्ठ र शिवराज भट्ट तथा दाङ जिल्ला खेलकूद विकास समतिका अध्यक्ष डिल्लीबहादुर डाँगी सदस्य थिए । कार्यदलले करीब सात महिना लगाएर तयार पारेको उक्त प्रारम्भिक प्रतिवेदनअनुसार पर्याप्त खेल मैदान, संरचनाको निर्माण थालनी प्रक्रिया, स्थानीयवासीको खेलकूदप्रतिको सकारात्मक सोच, यातायातको सुविधा, खाना तथा बसोवासका लागि आवश्यक पूर्वाधार निर्माण, थप जग्गा उपलब्धताका लागि आवश्यक पहललगायत कारणले तुलसीपुर मुलुककै पहिलो स्पोर्टस् सिटीका लागि उपयुक्त भएको ठहर गरेको थियो । कार्यदलले फुटबल, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस, पौडी तथा मार्सलआर्टस्सहितको स्पोर्टस् सिटी र एकेडेमीलगायत पूर्वाधार निर्माण तथा विकासका लागि तुलसीपुर उपयुक्त भएको सुझाव दिएको छ । “समथर भू–भाग, प्रदेश नं ५ को आर्थिक हब, बलियो सुरक्षा घेरा, मौसम तथा हावापानी अनुकूल, शिक्षा र स्वास्थ्यको पहुँच, खेलमैत्री परिवेश तथा पर्याप्त मात्रामा जग्गा उपलब्ध हुनुले तुलसीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त देखिएको हो,” कार्यदलका सदस्य भट्टले भने । विश्व खेलजगतमा स्पोर्टस् सिटीलाई देश विकासको परिसूचकसँग दाँजेर हेर्ने गरिन्छ । देशको आर्थिक, साँस्कृतिक तथा सामाजिक पक्षलाई सबल बनाउन स्पोर्टस् सिटीको उल्लेख्य योगदान रहन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रको गरिमा बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि खेल संरचनाको निर्माण तथा विकास, खेल उद्योग र खेल पर्यटनको विकास गर्न ‘स्पोर्टस् सिटी’को अवधारणा अगाडि बढाइएको हो । कार्यदलले स्थलगत अध्ययन तथा अवलोकन, स्थानीय सरोकारवाला व्यक्ति, संस्था तथा निकायसँग छलफल र अन्तक्रिया, सन्दर्भ सामग्रीको अध्ययन एवं विश्लेषण तथा भौगोलिक वस्तुस्थितिको स्थलगत निरीक्षण गरी सो प्रतिवेदन तयार गरेको हो । स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्न तुलसीपुर उपमहानगरपालिकालाई आवश्यक सहयोग गर्न सक्दो सहयोग पर्ने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डाँगी बताउँछन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्पोर्टस् सिटीको अवधारणा कार्यान्वयनका लागि उपमहानगरपालिकामा २४ करोड रूपैयाँको लगानीमा रंगशाला तथा दुई करोड रुपैयाँको लागतमा वडा नंं ६ मा कभर्ड हल निर्माण भइरहेको जानकारी दिए । उनले समग्र खेल क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले काम अगाडि बढाएको र पूर्वाधार निर्माणपछि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तुलसीपुरमा आयोजना गर्न सकिने पाण्डे बताउँछन् । रासस