गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन नपाइने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो । नगरप्रमुख दीपक रिसालका अनुसार, ‘नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो ।’ मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरले विपद व्यवस्थापन विभागलाई गर्यो दमकल हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । आज राष्ट्रिय सभा गृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख शाहले यस्तो बताएका हुन् । महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै, ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् । ८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् । घना बस्ती भएकाले काठमाडौं आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।’ नयाँ बाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।

महानगरले बन्द गरायो त्रिपुरेश्वरको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं । काठमाडौं महानगरपलिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिना अनुमति होर्डिङ बोर्ड राखेको पाएपछि महानगरपालिकाले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । महानगरको अनुसार स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्‍न पाइनेमा उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । महानगरले काठमाडौंको अन्य स्थानबाट पनि मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन जनाएको छ । महानगरले हाल नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको छ ।