तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

दमौली । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ । भानु नगरपालिकाका लागि चालुतर्फ ५२ करोड ७३ लाख र पुँजीगततर्फ पाँच करोड नौ लाख गरी कूल ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालतुर्फ ३९ करोड ६१ लाख र पुँजीगततर्फ चार करोड ९७ लाख गरी कूल ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ ७१ करोड ३९ लाख र पुँजीगततर्फ १४ करोड ३८ लाख गरी कूल ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ ४८ करोड २३ लाख र पुँजीगततर्फ रु नौ करोड १७ लाख गरी कूल ५७ करोड ४० लाख विनियोजन भएको छ । आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ २५ करोड ३४ लाख र पुँजीगततर्फ तीन करोड एक लाख गरी कूल २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ ३२ करोड ८३ लाख र पुँजीगततर्फ एक करोड ८१ लाख गरी कूल ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ २४ करोड ९६ लाख र पुँजीगततर्फ तीन करोड ८१ लाख गरी कूल २८ करोड ७७ लाख विनियोजन भएको छ । देवघाट गाउँपािलकाका लागि चालुतर्फ २८ करोड ६४ लाख र पुँजीगततर्फ दुई करोड ८६ लाख गरी कूल ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ २७ करोड ७९ लाख र पुँजीगततर्फ चार करोड ७४ लाख गरी कूल ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ २७ करोड ४९ लाख र पुँजीगततर्फ छ करोड दुई लाख गरी कूल ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ । रासस

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

काठमाडौं । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट ३७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई १६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन् ।

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

बागलुङ । बागलुङ जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ३४ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई ८५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई ५१ करोड एक लाख रुपैयाँ, जैमिनी नगरपालिकालाई ५२ करोड २४ लाख रुपैयाँ र ढोरपाटन नगरपालिकालाई ३७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । यस्तै बडिगाड गाउँपालिकालाई ४८ करोड चार लाख, काठेखोलालाई ३९ करोड ७६ लाख, निसीखोलालाई ३३ करोड १२ लाख, बरेङलाई ३० करोड पाँच लाख, ताराखोलालाई २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । रासस