वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बनेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरे । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार रेणु र चित्रसेन विजयी

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेणु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् । विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मनुभएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिइन् । हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छिन् । यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहेकी थिइन् । भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरे । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । विसं २०२४ मा जन्मनुभएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो । विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बनेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए । विसं २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि विसं २०६२÷६३ मा सक्रिय सहभागिता जना एकानेता अधिकारी विसं २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत  भएका थिए । यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।

काठमाडौंमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा ९एमाले०का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित भएका छन् । काठमाडौंमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । कांग्रेस कागेश्वरीमनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा जितेको छ । एमाले टोखा र बूढानीलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । काठमाडौं महानगरपालिकाको भने मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता लिएकी छिन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार साहलाई कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितले पछाइरहेका छन् ।