महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

महोत्तरी । गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका छन् । लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भएका हुन् । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उनीहरु नेपाली कांग्रेसका उम्मेदवार हुन् । त्यसैगरी भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित भएका छन् । विसं २०७४ को स्थानीयतह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन् । यस्तै औरही र बलवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रो पटक निर्वाचित भएका छन् । विसं २०७४ मा तत्कालीन तमलोपाबाट निर्वाचित झा र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित भएका हुन् । यता २०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएकी छिन् । यसअघिका १० प्रमुख/अध्यक्षले यसपटकको प्रतिस्पर्धामा पराजित हुनुप¥यो । त्यस्तै उपप्रमुख/उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाएका सात जना पनि चुनाव जित्न असफल भएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षसमेत निर्वाचित हुने ३० सङ्ख्यामा २३ जना नयाँ अनुहार आएका छन् । निर्वाचितमा दलगत प्रतिनिधित्व हेरिँदा प्रमुख÷अध्यक्ष पदमा पाँच÷पाँच जसपा र लोसपाले पाएका छन् । त्यसैगरी कांग्रेसले दुई, एमाले र तमलोपाले एक÷एक र अर्को एक स्वतन्त्र उम्मेदवार जितेका छन् । त्यसैगरी उपप्रमुख/उपाध्यक्षमा जसपा छ, लोसपा चार, कांग्रेस तीन, एमाले एक र स्वतन्त्र एक निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका १३८ वडाका अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले ३६ मा जित हात पारेको छ । जसपा र लोसपाले क्रमशः ३१ र ३० पाएका छन् । एमालेले १८, माओवादी केन्द्रले १३, तमलोपा र जनमत पार्टी दुई/दुई एवं नेकपा (एकीकृत समाजवादी) ले एक वडामा जित हात पारेका छन् । स्वतन्त्र निर्वाचित वडाध्यक्षको सङ्ख्या पाँच छ ।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क राई निर्वाचित

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । राईले लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले ज्ञद्द हजार ८२५ मत पाइन् । यस्तै धरानको उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित भएका छन् ।

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थियो । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए । विहादी १ मा नेकपा (एमाले)का चित्रबहादुर गुरुङसँग खड्का पराजित भएका हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए । यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुननसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताइन् । जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन् । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन । जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिलानै विजयी भएका छन् । फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक विजयी भएकी हुन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष हुनुहुन्छ, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित भएका छन् । नगरप्रमुख तिवारीले आफ्नै गाडी प्रयोग गर्ने फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताएका छन् । निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाइ थियो । शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गररे । ‘पाँच दलीय होइन कि छ दलीय गठबन्धनबाट म निर्वाचित भएको हो । म सबैको साझा व्यक्ति हो । नेपालको नमूना नगरपालिका बनाएर देखाउन सकेमा सबैको चित्त बुझ्न सक्छ,’ उनले भने, ‘म पैसाको लागि नगरप्रमुख भएको होइन आफ्नै खर्चमा भए पनि जनताको सेवा गर्न पाए मेरो लागि सौभाग्य हो । म जनताको सेवा गर्न आएको हुँ शासक हुन होइन ।’ नगरप्रमुख तिवारीले नगरपालिकाको मोबाइल सेट प्रयोग नगरे पनि सिम भने प्रयोग गर्ने तर त्यसको रिचार्ज पनि आफ्नै खर्चले गर्ने, निजी सवारी साधन प्रयोग गरेर नगर प्रमुखले चढ्न पाउने गाडी समस्यामा परेका नागरिकको उद्धार, राहत र सहयोगमा प्रयोग गर्ने बताए । फलेवासकै उपप्रमुख शोभा क्षेत्रीले पनि शपथ तथा पदभार ग्रहण गर्दै आफू जनताकै माझबाट आएको एउटा प्रतिनिधि भएका कारण जनताकै सुझावको आधारमा काम गर्ने बताए । नागरिकले देखाएकै बाटोमा आफू जाने र त्यसका लागि उत्पादनमा आधारित अनुदान, किसानलाई सहज सेवा, कार्यालय सञ्चालन छिटोछरितो र नगरभित्र यातायातको सुविधालाई व्यवस्थित गर्नेलगायत महत्वपूर्ण योजना आफूमा रहेको उनको भनाइ थियो । मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले पनि पदभार ग्रहण गर्दै जनताको साथमा रहने प्रतिबद्धता जनाइन् । त्यसका लागि आगामी दिनमा सुत्केरीलाई ओसारपसार गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरिन् । महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर हुने परिवारले समयमा उपचार पाउन नसक्ने भएकाले यस्तो सहयोग कार्यक्रमको घोषणा गरिएको उनको भनाइ थियो । सोही गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय सरकार जनताको पहिलो सरकार भएकाले जनताको आधारभूत आवश्यकता पूरा गर्नका लागि पनि यस्तो घोषणा गरिएको उल्लेख गरे । गाउँपालिकाभित्रका विपन्न तथा गरिब जनताले यस्तो सुविधाबाट प्रत्यक्ष लाभ लिन पाउने भन्दै उहाँले वर्तमान पदाधिकारी गाउँपालिका गरिब, निमुखा र विपन्न परिवारको हित र भलोको लागि सधैँ तत्पर रहने बताए । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दोस्रो पटक पनि चुनाव जितेका छन् । उनले अघिल्लो कार्यकालमा जनताले सोचेका तर आफूले गर्न नसकेका कामहरू गर्ने प्रयासमा रहने बताए । पहिलो कार्यकालमा पूर्वाधार विकासका ठूला काम गर्दा नागरिकका साना मागको सम्बोधन हुन नसकेका कारण यस पटक जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने खालका काम गर्ने नगरप्रमुख जोशीले बताए । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले कृषि उत्पादनको निर्यातबाट नागरिकलाई समृद्धिको बाटोमा लैजाने सपना देखेको बताएका छन् । उत्पादनका लागि उर्वर जमिन रहेको जलजलाले उत्पादनमा नै जोड दिने हो भने सामान्य नागरिकको दैनिक जीवन पनि सहज बन्ने अवस्था रहेकाले जग्गा बाँझो नराख्ने, केही न केही उद्यममा नागरिकलाई जोडने, सडक, स्वास्थ्य र शिक्षामा गुणस्तर कायम गर्नेलगायत योजना आफ्नो रहेको उनले बताए । रासस