जुम्लाका ६० मध्ये कांग्रेसको २६ वडामा जित

खलङ्गा । आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले यहाँ गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ । एमालेले जिल्लाका कुनै पनि स्थानीय तहका प्र्रमुख उपप्रमुखमा जित हासिल गर्न सकेको छैन । एमालले जिल्लाका छ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायतले स्वतन्त्रबाट जित हासिल गरेका छन् । नेमकिपा एक वडा र स्वतन्त्र दुई वडामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २२ वडा जितेर पहिलो पार्टी बनेको थियो ।

लमजुङका आठ स्थानीय तहमा कांग्रेस र एमालेका चार/चार विजयी

congreलमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा कांग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो । जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकामा अर्जुन गुरुङ निर्वाचित भएका छन् । बेँसीशहरका अर्याल र मस्र्याङ्दीका गुरुङ पुनः दोहोरिन सफल भएका छन् । त्यस्तै गठबन्धनतर्फ नेपाली कांग्रेसबाट सुन्दरबजार नगरपालिकामा कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकामा रमेशकुमार पाण्डे, राइनास नगरपालिकामा खड्काबहादुर गुरुङ र दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङ निर्वाचित भएका छन् । उपप्रमुख तथा उपाध्यक्षतर्फ एमालेले पाँच तहमा जितेको छ भने, कांग्रेसले एक र माओवादी केन्द्रले दुई पालिकामा जितेको छ । एमालेका तर्फबाट उपप्रमुख पदमा बेँसीशहर नगरपालिमामा पद्मा गुरुङ, सुन्दरबजार नगरपालिकामा भवानी केसी, मध्यनेपाल नगरपालिकामा सीता गुरुङ, क्व्होलासोथर गाउँपालिकामा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिकामा जुनामाया थापा निर्वाचित भएका छन् । माओवादी केन्दबाटे दूधपोखरी गाउँपालिकामा क्षेत्रबहादुर गुरुङ र राइनासमा नगरपालिकामा पुष्पराज खनाल निर्वाचत भएका छन् भने कांग्रेसका विच्छबहादुर घले दोर्दी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए । रासस

मोहन्याल गाउँपालिका अध्यक्षको शपथ नगराउन निर्देशन

कैलाली। मोहन्याल गाउँपालिकामा निर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा देवीदत्त उपाध्याय विजयी भएका थिए । उनको पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन आयोगले निर्देशन दिएको हो । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।