काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे । त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएकाे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायम गरेका छन् । वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
गण्डकी । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गरेका छन् । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गरेका छन् । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेका छन् ।
कावासोती नगरपालिकामा एमाले विजयी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतते पछि पार्दै कावासोतीको नगरप्रमुखमा भुसाल निर्वाचित भएका हुन् । निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मतमात्रै प्राप्त गरे । त्यसैगरी कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएकी छन् । नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपप्रमुखमा निर्वाचित भएकी हुन् । एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ मतमात्रै प्राप्त गरे । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको छ । त्यस्तै, चार वटा वडाध्यक्ष नेपाली कांग्रेस र एउटा वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।