स्वास्थ्य मन्त्री बने उपेन्द्र यादव आजै शपथ लिने
काठमाडौं । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वस्थ्य मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई समेत सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यादवसँगै मोहम्मद इस्तियाक राइन पनि शहरी विकासमन्त्री बनेका छन् । उनीहरुले आजै शीतल निवासमा पद तथा गोपनियताको सपथ लिनेछन् ।
रुकुममा ४० जना विद्यार्थी मुर्छा, विद्यालय बन्द
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा परेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिए । उनले अन्य विद्यार्थी समेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताए । उनका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुने जस्ता लक्षण देखिने गरेको छ । गत मंगलबार र बुधबार मात्रै मुर्छामा परेका करिब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ । रासस
सात वर्ष बित्दा पनि स्वास्थ्य भवन बन्न सकेन
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम बीचमै अलपत्र परेपछि राज्यको बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ भने, निकै जीर्ण अवस्थामा रहेको पुरानै भवनबाट चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई स्वास्थ्य सेवा दिन बाध्य भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र, दल्लीको भवन निर्माणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतसँग जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौँले २०६८ बैसाख ७ गते सम्झौता गरेको थियो । सम्झौतापत्रमा २०६९ कात्तिक ६ गतेभित्रै काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । झण्डै रु एक करोड २१ लाख लागतमा उक्त भवन निर्माण गर्ने भनी सम्झौता गरेको निर्माण कम्पनीले बीचमै काम छोडी भवन अलपत्र पारेको छ । काम लिनलाई लागत इष्टमेटभन्दा घटेर कामको सम्झौता गर्ने तर समयमा काम पूरा नगरी बीचमै निर्माण कार्यको काम छोड्ने निर्माण कम्पनीले गर्न थालेका छन् । निर्माण कम्पनीका मालिकको चरम लापर्बाहीले समयमा काम सम्पन्न नभएपछि उक्त भवन अलपत्र परेको हो । भवन नहुँदा नियमितरुपमा दिइने स्वास्थ्य सेवामा गुणस्तरीता कायम हुन सकिरहेको छैन । निर्माण कार्य थालनी गरिएको भवनको झण्डै ६५ प्रतिशत बढी काम गर्न बाँकी रहेको स्थानीय बीनबहादुर सिंहको भनाइ रहेको छ । जाजरकोटको नलगाड नगरपालिका र रुकुमको आठबीसकोट नगरपालिकाका नागरिकले स्वास्थ्य सेवा लिइरहेको नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र रहेको दल्ली प्राथमिक स्वास्थ्य केन्द्र भवन अभावमा बत्तीमुनिको अध्याँरोजस्तै भएको सिंहले तर्क गरे । काम नगरेर लामो समयदेखि भवन अलपत्र बनाउने निर्माण व्यवसायीलाई सरकारले कुनै कारबाहीको गर्न सकिरहेको छैन । गलत गर्नेलाई सरकारले कारबाही नगर्दा करोडौँको बजेट अलपत्र परेको छ । भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्य सेवाको व्यवस्थापनमा निकै कठिनाइ भएको डा सञ्जय यादवको भनाइ रहेको छ । शिक्षा, स्वास्थ्यलाई नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हकका रुपमा परिभाषित गरेको हँुदा नेपालको विद्यमान संघीय सरकारले हरेक स्थानीय तहमा अनिवार्य १५ श्ययाको एक–एक वटा अस्पताल र एक÷एक वटा प्राविधिक शिक्षालय बनाउनु पर्ने नीतिगत निर्णय गरिसकेको जाजरकोटबाट निर्वाचित कर्णाली प्रदेश क का सांसद गणेशप्रसाद सिंहले बताए । सरकारले आकस्मिक स्वास्थ्य सेवालाई सुलभ बनाउनलाई एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने आफ्नो नीति तथा कार्यक्रम बनाएको सांसद सिंहको भनाइ रहेको छ । बीचमै काम छोडेर भाग्ने निर्माण कम्पनीका मालिकलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने सांसद सिंहको तर्क छ । रासस