व्यवस्थापन संकायकाे परीक्षाफल प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशित गरेको छ । त्रिवीले २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो। परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइटमा गई हेर्न सकिन्छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।
रघुविर र कल्याणीलाई मन्त्री बनाउन दबाव
काठमाडौं । केपी नेतृत्वको सरकार गठन भएसँगै मन्त्री बन्ने दौडधुप पनि सुरु भएको छ । तुलनात्मक रुपमा २ नम्बर प्रदेशमा कमजोर देखिएको एमालेले सोही प्रदेशका लागि २ जनालाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ । पार्टी कामलाई चुस्त दुरुस्त बनाउन र विकास निर्माणको काम गर्न पनि २ नम्बर प्रदेशबाट २ जनालाई मन्त्री बनाउन कार्यकर्ताले दबाव दिएका हुन् । बागमति वारी र पारीको सेन्टिमेन्ट समेत मिलाउन धनुषाका रघुविर महासेठ र रौतहटकी कल्याणी खड्कालाई मन्त्री बनाउन लबिङ सुरु भएको हो । महासेठ एमालेका पोलिटब्युरो सदस्य हुन भने खड्का दोश्रो कार्यकाल एमाले केन्द्रिय कमिटीमा छिन् । रघुविरलाई मन्त्री बनाउन दबाव दिनेहरु केपी समक्ष पुगेका छन भने खड्कालाई मन्त्री बनाउन माधव नेपालसम्म दबाव पुगेको छ । महासेठ ओलीका विश्वास पात्र हुन भने खड्का माधव नेपाल समुहकी खास नेतृ हुन् ।
गुण्डा नाइके पुन र आले मारिए
बुटवल । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका छन् ।रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए। प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेको छ । प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । पुनलाई गत वर्ष देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेको, गत असोजमा काठमाडौँमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न भएको र गत पुस २२ गते देवदहमा काठ व्यवसायी वसन्त पौडेलको हत्या गराएको आरोप लगाइएको छ । व्यापारीको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएको अभियोग पनि छ । अभियुक्त पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो । सिआइबीले विशेष समूह बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो । रासस