रास्वपाले हालसम्म १०७ सिटमा निकाल्यो जित, अरु दलले कति ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक अग्रता कायमै राखेको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपा १०७ निर्वाचन क्षेत्रमा विजयी भइसकेको छ भने थप १८ क्षेत्रमा अग्रता कायम राखेको हो । निर्वाचन आयोगका अनुसार हालसम्म १३२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये नेपाली कांग्रेस ले १५ स्थानमा विजय हासिल गरेको छ भने २ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७ स्थानमा विजयी हुँदा ३ क्षेत्रमा अघि रहेको छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी का तर्फबाट ७ उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा अग्रता कायम छ । श्रम संस्कृति पार्टी का १ उम्मेदवार विजयी भएका छन् भने २ क्षेत्रमा अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले पनि एक/एक स्थानमा जित हासिल गरेका छन् ।  प्रतिनिधिसभा सदस्यको २१ फागुनमा सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मत गणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपा ले १३ लाख ८८ हजार ४२१ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ ।  त्यसपछि नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३५५, एमाले ले ३ लाख ८० हजार ९३२ तथा नेपाल कम्युनिस्ट पार्टी ले १ लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् । 

सुनसरी १ मा ८० हजार मत गणना हुँदा हर्कले ३४ हजार कटाए

काठमाडौं । सुनसरी १ मा श्रम संस्कृतिका पार्टीका उम्मेदवार हर्क साम्पाङ राईले अग्रता कायमै राखेका छन् । उनले ३४ हजार ३४१ मत ल्याएका छन् ।  रास्वपाका शरिन तामाङले २३ हजार ८६३, तारा चिन्हका मनोज भट्टराईले ५ हजार ८७४, एमालेका टिकाराम लिम्बुले ५ हजार ६८७ र नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ३ हजार ६०९ मत पाएका छन् ।  

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश शाहले तीन ४२८ मत पाए ।