अमरेशकुमार सिंहको ह्याट्रिक, गगनको संसदीय यात्रामा ब्रेक
काठमाडौं । सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । ३५ हजार ६८८ मत ल्याउँदै सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने यसपटक मधेश झरेर चुनाव लडेका गगनको संसदीय यात्रामा ब्रेक लागेको छ । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद बनेका उनी पछिल्लो ३ पटक काठमाडौं-४ बाट निर्वाचित भएका थिए ।
रास्वपाको सय क्षेत्रमा जीत, २५ मा अझै अगाडि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म एक सय सिट जितेको छ । १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जीत हासिल गरेको हो । रास्वपा अझै २५ क्षेत्रमा अगाडि छ । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ भने २ क्षेत्रमा अग्रता छ । एमालेले ७, नेकपाले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । एमाले अझै ४ सिटमा अगाडि छ । नेकपा पनि दुई सिटमा अगाडि छ ।
सुदुरपश्चिममा रास्वपाको हालसम्म ५ क्षेत्रमा जित, को कहाँबाट ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदुरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ५ सिट जितेको छ । डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको गढ ढलेको छ । डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पछि पारे । त्यसैगरी, नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत पाए भने एमालेका चक्र स्नेही ३ हजार २६ मतसहित चौथो स्थानमा रहे । कञ्चनपुरमा पनि रास्वपाले शानदार प्रदर्शन गर्यो । कञ्चनपुर-२ मा दीपक बोहरा ३३ हजार ९५२ मतसहित विजयी भए, कांग्रेसका नारायणप्रकाश साउँदले १० हजार ८२७ मत ल्याए भने एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरे । कञ्चनपुर-३ मा ज्ञानेन्द्र सिंह महताले २७ हजार ११८ मत ल्याएर कांग्रेसका हरि प्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरे । कैलालीमा पनि रास्वपाको प्रभुत्व देखियो । कैलाली-१ बाट कमोल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । कैलाली-३ बाट जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित फराकिलो अन्तरले जिते । कैलाली-५ बाट आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित निर्वाचित भए । यो जितसँगै रास्वपाले सुदुरपश्चिमका परम्परागत कम्युनिस्ट र कांग्रेसको गढमा आफ्नो प्रभुत्व स्थापित गरेको छ । अन्य क्षेत्रमा मतणना जारी छ ।