कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन् । जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९ हजार ७०६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याएका छन् भने नेकपा एमालेका गौरीशंकर चौधरी ४ हजार ७५२ मतसहित पछि परेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र समाजवादी पार्टी (राप्रसप) का वीरेन्द्रबहादुर बमले २ हजार ३४७ मत प्राप्त गरेका छन् । अन्तिम मतपरिणामसँगै कैलाली-३ मा रास्वपाका जोशी विजयी भई प्रतिनिधिसभामा पुग्न सफल भएका छन् ।
सर्लाही-४ मा रास्वपाका अमरेश सिंह अघिअघि गगन थापा पछिपछि
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले मतगणनामा बलियो अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उनलाई पछ्याइरहेका छन् । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले २१ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने गगन थापाले १२ हजार ९ सय ९३ मत पाएका छन् । दुवैबीचको मतान्तर अहिले ८ हजार ३ सय ८४ रहेको छ । यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेका थिए । तीमध्ये ७७ हजार ९ सय ३१ मत खसेको थियो । हालसम्म ४६ हजार २ सय १ मत गणना भइसकेको छ भने अझै ३१ हजारभन्दा बढी मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनलाई हराउँदै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी
काठमाडौं । झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरले निर्वाचित भएका छन् । ३७ वर्षीय पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे ८ हजार ९ सय ९९ मतका साथ तेस्रो स्थानमा रहे भने एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गरे ।