राप्रपाको संसदीय दलको नेतामा शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ। बिहीबार (आज) पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । शाही जुम्लाबाट निर्वाचित भएका हुन् भने ओली समानुपातिक सांसद हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।
ज्येष्ठ सदस्यको रूपमा प्रतिनिधिसभाको पहिलो बैठक सांसद केसीले चलाउने
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्ने भएका छन् । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनले प्रारम्भिक बैठक सञ्चालन गर्ने जिम्मेवारी पाउने भएका हुन् । अभिलेखअनुसार सांसद केसीको उमेर ७७ वर्ष रहेको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । नेपालको संविधानको धारा १९ को ५ ले उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार केसीले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । उनी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन् । पहिलो बैठकमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशनसम्बन्धी पत्र वाचन, सभामुख तथा उपसभामुख चयन प्रक्रियाको सुरुआत र आवश्यक प्रारम्भिक कार्यसूची तय गरिनेछ । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा बैठक सञ्चालन हुने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई संसदीय प्रक्रियाको औपचारिक सुरुआतका रूपमा लिइन्छ । सभामुख निर्वाचित भएपछि भने प्रतिनिधिसभाको नियमित अध्यक्षता सभामुखले नै गर्नेछन्।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई दियो प्रमाणपत्र
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।