सांसदहरूलाई रविका ७ सन्देश

काठमाडौं । आम निर्वाचन अघिसम्म रवि लामिछानेको पहिचान तिखा अभिव्यक्ति र आक्रामक शैलीसँग जोडिएको थियो । उनका भाषणहरूमा पुराना राजनीतिक शक्तिमाथि कडा प्रहार, भावनात्मक आह्वान र प्रत्यक्ष भिडन्तको संकेत स्पष्ट देखिन्थ्यो । तर, निर्वाचनपछि परिस्थिति बदलिएको छ, उही नेता अहिले संयम, जिम्मेवार र संस्थागत भूमिकामा आफूलाई रूपान्तरण गर्दै गएको देखिन्छ । झण्डै दुईतिहाइ नजिकको जनसमर्थन पाएपछि लामिछानेले आफ्नो प्रस्तुति नै परिवर्तन गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद अभिमुखीकरण कार्यक्रममा उनले आक्रोश होइन, अनुशासन र उत्तरदायित्वको भाषा बोले । समर्थक र कार्यकर्तालाई सामाजिक सञ्जालमा उत्तेजित नहुन र विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न उनले स्पष्ट निर्देशन दिए । उनको सन्देश अब सत्ताको उपयोगभन्दा पनि विश्वासको संरक्षणतर्फ केन्द्रित देखिन्छ । सांसदहरूलाई शासक होइन, सेवक बन्न आग्रह गर्दै उनले जनतासँग नजिक रहनुपर्नेमा जोड दिएका छन् ।  निजी सुविधा र विशेषाधिकारभन्दा सार्वजनिक सेवाप्रति प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ थियो । विगतका दलहरूको योगदानलाई स्वीकार्दै उनले प्रतिस्पर्धालाई द्वेषको रूपमा नभई निरन्तरताको रूपमा हेर्ने संकेत दिए । अब परिणाममार्फत जनताको विश्वास जित्नुपर्ने बताउँदै उनले आफ्ना सांसदहरूलाई हरेक कदममा सावधानी अपनाउन आग्रह गरेका छन् । लामिछानेको यो रूपान्तरण केबल शैलीगत परिवर्तन मात्र होइन, जिम्मेवारीको बोधसँग जोडिएको समेत देखिन्छ । सत्ता सम्हाल्ने अवस्थामा पुगेपछि आक्रामक भाषणभन्दा स्थिर, परिपक्व र समावेशी नेतृत्व आवश्यक पर्ने सन्देश उनले व्यवहारमै दिन खोजिरहेको उनको पछिल्लो अभिव्यक्तिमा देखिन्छ । आफ्ना सांसदहरूलाई सत्ताको मोहबाट टाढा रहन आग्रह गर्दै उनले मन्त्री बन्ने दौडमा नलाग्न सुझाव दिए । बाह्य दबाब र स्वार्थ समूहबाट प्रभावित हुन सक्ने जोखिमप्रति सचेत गराउँदै उनले सत्ता यात्रालाई उत्सव होइन, जिम्मेवारीको रूपमा लिन आग्रह गरे ।  संसद केवल शक्ति प्रदर्शनको थलो होइन, बलिदानको सम्झना पनि हो भन्ने भावनात्मक सन्देशमार्फत उनले संवेदनशीलता कायम राख्न आग्रह गरे । सरकार गठनसँगै त्यसलाई अस्थिर बनाउने प्रयासहरू सुरु हुने अनुभव सुनाउँदै उनले पार्टीभित्र एकता र सजगता आवश्यक रहेको बताए । साथै, वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको स्पष्ट पार्दै कुनै आशंका नराख्न आग्रह गरे । पार्टीका वरिष्ठ नेता बालेन शाह भने उक्त कार्यक्रममा अनुपस्थित रहे । स्वास्थ्य कारण देखाइए पनि सामाजिक सञ्जालमा सक्रिय देखिएका कारण उनको अनुपस्थितिले केही जिज्ञासा जन्माएको छ । औपचारिक बैठकहरूमा उनको न्यून सहभागिताले पार्टीभित्रको भूमिकाबारे थप प्रश्न उठाइरहेको छ । यसरी, चुनावअघि आक्रामक रविका रूपमा चिनिएका नेता अहिले जिम्मेवार रवि बन्ने यात्रामा देखिन्छन् । 

मिडिया ट्रायल नगर्न सभापति लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्न मिडिया ट्रायल नगर्न सुझाव दिएका छन् ।  पछिल्लो समय केही सांसदहरूले आफूलाई मन्त्री बनाउन दवाव दिनेगरी सञ्चारमाध्यममा बोलेकोमा लामिछानेले असन्तुष्टि पोखेका छन् । उनले अहिलेसम्म मन्त्रीहरूका बारेमा छलफल नगरेको बताएका छन् ।  छलफल नै नभएको विषयमा बाहिर बोल्नु पार्टी र मत दिने जनताको आशा विपरीत भएको लामिछानेले बताए । त्यसैगरी, उनले आफ्नो दलका सांसदहरूले सरकारी अस्पतालमा उपचार गर्नुपर्ने बताएका छन् ।  सरकारको डेलिभरीलाई चुस्तदुरुस्त बनाउन हामीले यो अभियान चलाउनु आवश्यक रहेको लामिछानेले जोड दिए । त्यस्तै, उनले पुराना नेताहरूले इतिहास लेखेको र आफ्नो दलले भविष्य लेख्ने दावीसमेत गरे ।। रास्वपा संविधान र इतिहासप्रति प्रतिबद्ध रहेको समेत उनको दावी छ । ‘यो जित रास्वपाको मात्रै होइन, यो जित त देशको जित हो ।  हामी पाँच वर्ष अत्यन्तै लगावका साथ काम गर्न तयार भएर आएका हौं,’ लामिछानेले भने । लामिछानेले राई, लिम्बुहरूको प्रतिनिधित्व गराउन नसकेकोमा माफीसमेत गरे । 

सुशीला कार्कीलाई दाहालले भने– ‘तपाईं नभएको भए देश दुर्घटनामा पर्थ्यो’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार आएका थिए । उनीहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले भने, ‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’ उनले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई दिँदै अन्य नेताहरूलाई अर्कोपटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए । संयोजक प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’ सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे । ‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौं । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौं,’ उनले भने । त्यस्तै, पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीमा सुशीला कार्की आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास ‍आफूहरूलाई रहेको बताए । अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरूको भनाइ थियो।