‘ग्यास व्यवसायी खाडी पस्दैछन्, सरकारले नाफा नबढाइदिनुको विकल्प छैन’

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष चन्द्र थापाले ग्यास उत्पादक तथा बिक्रेताहरू अहिले ठूलो समस्यामा रहेको बताएका छन् । विकासन्युजसँग कुराकानी गर्दै उनले ग्यास उद्योगी तथा व्यवसायी ठूलो समस्यामा रहेर पलायन हुने स्थिति सिर्जना भइरहेको बताएका हुन् । ‘हामीले नेपालमा उद्योग चलाएर धेरैलाई रोजगारी दिएका छौं, स्वरोजगार बनेका छौं । तर, विगत ५/६ वर्षदेखि ग्यास व्यवसायी समस्यामा छौं, लगानी बढेको छ, सञ्चालन खर्च बढेको छ, व्यवसाय नोक्सानमा छ, व्यवसायी खाडी मुलुक पस्दैछन्,’ थापाले भने । यस्तै, उनले व्यवसायी समस्यामा पर्दा उद्योगहरू मर्जर गरिरहेको पनि जानकारी दिए । उनका अनुसार सरकारले नाफा नै तोकिदिँदा समस्या सिर्जना भएको हो । ‘उद्योगी र बिक्रेताको समस्या समान छ, ग्यास बिक्रेताहरू आत्मनिर्भर हुन नसकेर खाडी मुलुक रोजिरहेका छन्, नेपालमै व्यवसाय गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण सिर्जना गर्न भनेर सरकारसँग विभिन्न माग राखेका छौं,’ थापाले भने, ‘नेपाल आयल निगमले उद्योगी र बिक्रेताको मागमा ध्यान नदिएको अवस्था छ,’ आन्दोलन गर्ने रहर होइन, बाध्यता हो ।’ आन्दोलन तथा बन्द हड्ताल गरेर अगाडि बढ्न आफूहरूलाई पनि अप्ठ्यारो भएको उनको भनाइ छ । उनले उपभोक्ता र बिक्रेतालाई पनि मार नपर्ने गरी काम गर्नु पर्ने धारणा राखे । ‘हामीले ग्यासको मूल्य बढाउनु भनेको होइन, अन्य पद्धतिबाट निगमले हेरिदिनुपर्छ । व्यवसायी पनि टिक्न सक्ने र उपभोक्तालाई पनि मार नपर्ने गरी अगाडि बढ्न सकिन्छ, निगमलाई पेट्रोलियम पदार्थमा नाफा छ, व्यवसायी घाटामा चलिरहेका छन्, यो बीचबाट विकल्प खोज्नुपर्छ,’ उनले भने । पूरा भिडियो :