चिकित्सकबाट माननीय बनेकाहरू

काठमाडौं । केही चिकित्सकहरूले चिकित्सा क्षेत्रबाट राजनीति क्षेत्रको यात्रा तय गरेका छन् । अस्पतालमा विरामीको सेवा गर्दै आएका उनीहरू सबैजना एउटै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अत्यधिक बहुमतले विजयी भएका हुन् । नागरिकको स्वास्थ्यको उपचार गर्दै आएका उनीहरू अब नीतिगत तहमा सुधार गर्नेवाचाका साथ संसदीय यात्रामा लागेका छन् ।  डा.लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा  प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । रास्वपाबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका उनी प्रतिस्पर्धाभन्दा ५० हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए ।  रूपन्देहीको अञ्चलपुरमा जन्मेका थापाले एमबीबीएस, इन्टर्नल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् । उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख थिए । साथै उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् । डा. शम्भु यादव प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार डा. शम्भु यादव विजयी भएका छन् । नेकपा एमालेका लीलानाथ श्रेष्ठलाई पराजित गर्दै यादव विजयी भएका हुन् । यादवले ३२ हजार २४९ मत प्राप्त गर्दा एमालेका श्रेष्ठले १० हजार १ सय ५६ मत प्राप्त गरे । सिराहाको पठेरवाका डा. यादवले २०६७ सालमा एमबीबीएस उत्र्तीण गरेपछि काठमाडौंका विभिन्न निजी अस्पतालमा काम गरेका थिए । एक वर्ष किस्ट अस्पताल र दुई वर्ष बिएन्डबी अस्पतालमा काम गरेका उनी पछिल्लो समय आफ्नै गृहजिल्ला सिराहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए ।  डा.तोसिमा कार्की डा. तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । रास्वपाकी उम्मेदवार कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी भएकी हुन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् ।  कार्कीका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् ।  यसअगाडिको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएकी थिइन् । आनन्दबहादुर चन्द  जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट विजयी भएका छन् । रास्वपाका उम्मेदवार चन्द ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै चन्द विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । सुदूरपश्चिमको बैतडीमा जन्मिएका चन्दले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा काम गरेका छन् ।  उनी लामो समयदेखि  शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा सक्रिय थिए । दीपककुमार साह दृष्टि विशेषज्ञ दीपककुमार साह प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । २० पटक मन्त्री बनेका जसपा नेता शरतसिंह भण्डारीलाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । महोत्तरी –२ मा रास्वपाबाट उम्मेदवार बनेर डा.साह ३२ हजार ७ सय २२ मतसहित विजयी भएका हुन् ।  भण्डारीले १० हजार १ सय ९८ मत ल्याएर हार बेहोरेका छन् । सो क्षेत्र भण्डारीको पकड क्षेत्र मानिथ्यो । विसं २०३८ साल देखि उनी त्यस क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । यसपटक साहले भण्डारीको ४४ वर्ष अघिदेखिको किल्ला भत्काइदिएका छन् । साहको स्थायी ठेगाना महोत्तरी हो ।   उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । यसभन्दा अगाडि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।

चार पूर्वशिक्षामन्त्रीमध्ये खनाल र पुनमात्र विजयी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन लडेका चार जना पूर्वशिक्षामन्त्रीमध्ये दुई जनामात्र विजयी भएका छन् । प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका पूर्वशिक्षामन्त्री शिशिर खनाल र महावीर पुन विजयी भएका हुन् । पूर्वशिक्षामन्त्री नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल भने पराजित भए ।  महावीर पुन  म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्वशिक्षामन्त्री महावीर पुन नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भए । पुन  २२ हजार ८ सय ५० मतका साथ विजयी भएका हुन् । पुन शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रूपमा पहल गर्ने मुद्दा अघि सार्दै निर्वाचनमा होमिएका थिए ।              शिशिर खनाल  पूर्वशिक्षामन्त्री शिशिर खनाल काठमाडौं– ६ बाट विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका खनाल २७ हजार ७ सय ११ मतसहित विजयी भएका हुन् । उनी यसअघि २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत पाए ।  पोखरेल र पौडेल पराजित पूर्वशिक्षामन्त्री पुन र खनाल विजयी हुँदा नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल पराजित भए । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–२ बाट निर्वाचन लडेका पौडेलको जमानतसमेत जफत भएको छ । रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्तासँग पराजित भएका पौडेलले जम्मा १ हजार ८सय ३८ मत प्राप्त गरेका थिए ।  ४४ हजार १ सय ३८ मत प्राप्त गर्दै गुप्ता विजयी भएका हुन् ।  गिरिराजमणि पोखरेल २०७२ सालमा करिब ९ महिना र २०७४ सालमा ३२ महिना गरी दुई पटक शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेल पनि यस पटकको निर्वाचनमा पराजित भएका छन् । उनी १० वर्षमा पाँच पटक नेपाल सरकारको मन्त्री भइसकेका व्यक्ति हुन् ।  २०६४ सालयता चुनाव जित्दै आएका पोखरेल यो पटक महोत्तरीबाट पराजित भएका हुन् । रास्वपाका प्रमोदकुमार महतोसँग पराजित पोखरेलले  १२ हजार ६ सय २४ मत ल्याउँदै पराजय बेहोरेका छन् ।

निर्वाचनमा व्यवसायी ‘टाइकुन’हरूको हार

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा अधिकांश उद्योगी तथा व्यवसायीहरूले हार बेहोरेका छन् । व्यवसायी क्षेत्रमा सफल भए पनि निर्वाचनमा भने उनीहरू पराजित हुन पुगे । निर्वाचनमा सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा थिए, नेपालका एकमात्र डलर अर्बपति तथा उद्योगपति विनोद चौधरी । नेपाली कांग्रेसका तर्फबाट पश्चिम नवलपरासी-१ मा उम्मेदवार बनेका चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विक्रम खनालसँग पराजित भए । ४५ हजार २४१ मतका साथ खनाल विजयी हुँदा चौधरीले मात्र ९ हजार ५०२ मतमा चित्त बुझाउनुपर्यो । पर्यटन र मेडिकल क्षेत्रमा लगानी गरेर राजनीतिमा प्रभाव जमाउन खोज्नेहरूका लागि पनि यो निर्वाचन सुखद रहेन । मोरङ-३ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेडिकल व्यवसायी डा. सुनिल शर्मालाई रास्वपाका गणेश कार्कीले १२ हजार बढी मतान्तरले पराजित गरे । शर्मा नोबेल र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । त्यस्तै, पर्यटन व्यवसायीहरूको छाता संगठन (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला र पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजालले पनि निर्वाचनमा हार बेहोर्नुपर्यो । धादिङ-१ मा रास्वपाकी आशिका तामाङ र धादिङ-२ मा बोधनारायण श्रेष्ठले पर्यटन व्यवसायीको संसदीय यात्रामा पूर्णविराम लगाइदिए । गोरखा-१ मा पिके भेन्चर्सका सञ्चालक प्रेम खत्रीले रास्वपाका सुधन गुरुङसँग पराजय भोग्नुपर्यो । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा सीईओ भरतराज ढकाल स्याङ्जा-१ मा पराजित भए । रास्वपाका डा. धनञ्जय रेग्मीले उनलाई १० हजार बढी मतान्तरले पाखा लगाएका हुन् । यस्तै, यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही-२ मा तेस्रो स्थानमा खुम्चिए । एमालेका हेभीवेट नेता विष्णु पौडेललाई समेत पराजित गर्दै रास्वपाका सुलभ खरेलले यहाँ बाजी मारे । सिरहा-४ मा व्यावसायिक पृष्ठभूमि भएका र माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रप्रसाद महतो पनि रास्वपाकै तपेश्वर यादवसँग करिब २८ हजारको विशाल मतान्तरले हारे । उनी अर्बपति उपेन्द्र महतोका भाइ हुन् । वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीहरू एलपी सावाँ लिम्बू र तिलक रानाभाटलाई पनि मतदाताले विश्वास गरेनन् । झापा-४ मा एमालेका सावाँ रास्वपाका शम्भुप्रसाद ढकालसँग र कास्की-१ मा कांग्रेसका रानाभाट रास्वपाकै खडकराज पौडेलसँग नराम्ररी पराजित भए । कांग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेपाल अलैंची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको थियो । घिमिरे पनि रास्वपाका उम्मेदवार प्रकाश पाठकसँग पराजित भए । उनले ८ हजार १ सय १९ मत मात्रै पाएका छन् । पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएका छन् । यस्तै, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर र गण्डकी यातायातका पूर्वअध्यक्ष भागवतप्रकाश मल्लले क्रमशः कैलाली-२ र स्याङ्जा-२ मा पराजय भोगे । दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले क्लिन स्वीप गरे । राजधानी काठमाडौंमा पनि व्यवसायीहरूलाई मतदाताले रुचाएनन् । राइड सेयरिङ एप ‘पठाओ’ का सञ्चालक असिममानसिंह बस्न्यात र मिठाइ पसल ‘स्विट केभ’ का सञ्चालक सुमन सायमीले पनि हार बेहोरे । बस्नेतलाई रास्वपाका रञ्जु न्यौपाने र सायमीलाई रास्वपाकै विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् । बस्न्यात काठमाडौं-१ बाट स्वतन्त्र र सायमी नेकपाबाट काठमाडौं-८ मा उम्मेदवार बनेका थिए ।  कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस त्यागेर एमालेबाट चुनावमा होमिएका व्यवसायी वीरेन्द्रप्रसाद कनौडियाले पनि हार बेहोरेका छन् ।  उनी लुम्बिनी सुगर मिल्सका अध्यक्ष हुन् भने उनको अन्य उद्योग तथा व्यवसायमा पनि लगानी छ । उनी त्यहाँ नेपाली कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भए । काठ व्यवसायी प्रेमबहादुर आले पनि कैलाली-५ मा पराजित भए । उनले रास्वपाका आनन्द चन्दसँग चुनाव हारे ।  यस्तै, पर्सा क्षेत्र नम्बर-१ बाट उद्योगी अनिलकुमार रुँगटाले पनि चुनाव हारेका छन् । उनी नेपाली कांग्रेसबाट चुनावमा होमिएका थिए । रुँगटा जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन् । रुँगटा पनि रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) सँग पराजित भएका हुन् । पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दा रुँगटाले ११ हजार ८ सय ८५ मत प्राप्त गरे । उद्योग, होटेल, निर्माण र ऊर्जा व्यवसायी किसान श्रेष्ठले पनि चुनाव हारेका छन् । उनले बारा क्षेत्र नम्बर ४ बाट चुनाव हारेका हुन् । यहाँ रास्वपाका रहबर अन्सारी निर्वाचित भएका छन् भने अन्सारीले ४१ हजार २ सय मत पाए । एमालेबाट चुनावमा होमिएका श्रेष्ठले ११ हजार ६३९ मत पाए ।  यस्तै, एमाले नेता तथा व्यवसायी रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ मा पराजित भएका छन् । त्यहाँ रास्वपाका राजकिशोर महतो विजयी भएका छन् भने महासेठ तेस्रो भए । महासेठको टेलिकम सेवा प्रदायक यूटीएलसहितका कम्पनीहरुमा शेयर लगानी छ ।

संसदीय यात्रामा रहेका पर्यटन व्यवसायीमध्ये कसले जिते, कसले हारे ?

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक दर्जन पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध भएका व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । होटल, ट्रेकिङ, पर्वतारोहण र पर्यटन व्यवस्थापन क्षेत्रमा सक्रिय उनीहरू विभिन्न दलबाट उम्मेदवार बनेका थिए । पछिल्लो निर्वाचन परिणाम हेर्दा केही उम्मेदवार विजयी भएका छन् भने अधिकांशले हार बेहोर्नुपरेको छ । निर्वाचनमा होमिएकामध्ये डिपी अर्याल, प्रकाशसिंह कार्की, धनञ्जय रेग्मी, योगेश गौचन थकाली र टेकबहादुर गुरुङ मात्रै संसदमा प्रवेश गर्न सफल भएका छन् । डोलप्रसाद अर्याल  डिपी ट्राभल, ट्रेकिङ सर्भिस, होटेलसहितका पर्यट व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक उपसभापतिसमेत हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनावमा उठेका थिए । अर्यालले ३५ हजार ९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याएर दोस्रो भइन् । धनञ्जय रेग्मी  पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले रास्वपामार्फत स्याङ्जा–१ बाट चुनाव लडेका थिए । डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरे । ढकालले १८ हजार ८५७ मत प्राप्त गर्दा ढकालले १८ हजार ८५७ मत ल्याएका छन् । प्रकाशसिंह कार्की  पर्यटन क्षेत्रमा लामो समय बिताएका प्रकाशसिंह कार्की नेपाली कांग्रेसबाट सोलुखुम्बु १ बाट चुनावमा उठेका थिए । वर्ल्ड फ्रेड कार्गोसहित विभिन्न पर्यटकीय गतिविधिमा सक्रिय कार्कीको संसदमा प्रवेश गर्ने यात्रा साकार भएको छ । उनले नेपाली कम्युनिष्ट पार्टीका असिम राईलाई पराजित गर्दै जीत निकालेका हुन् । उनले १३ हजार १६६ मत प्राप्त गरेका छन् भने राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । योगेश गौचन पर्यटन व्यवसायी योगेश गौचन थकालीले मुस्ताङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका छन् । उनले ३ हजार ३०७ मत प्राप्त गरेका छन् । टेकबहादुर गुरुङ पर्यटन व्यवसायी टेकबहादुर गुरुङले मनाङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले पनि यस क्षेत्रबाट जीत हासिल गर्न सफल भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी)लाई १९ सय ६१ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २ हजार ४१५ मत ल्याउँदा गुरुङले ४५४ मात्रै मत प्राप्त गरेकी छिन् । जसले चुनाव हारे भागिरथ सापकोटा  ठमेलमा गोछाली ट्राभल चलाउने पुराना पर्यटन व्यवसायी भागिरथ सापकोटा नवलपुर १ बाट एमालेबाट चुनावमा उठेका थिए । तर उनले जित हासिल गर्न सकेनन् । उक्त क्षेत्रमा रास्वपाका राजन गौतमले जित हासिल गरे । गौतमले ५० हजार ९४५ मतसहित जीत हासिल गर्दा सापकोटा भने ९ हजार १३१ मत ल्याएर तेस्रोमा सीमित भएका छन् । रमेशप्रसाद धमला ठमेलमै केन्द्रित रही पर्यटन व्यवसायमा संलग्न रमेशप्रसाद धमला पनि संघीय संसदको दौडमा नेपाली कांग्रेसबाट धादिङ– २ बाट चुनावमा होमिए । उनी हिमालय इकोलोजी ट्राभलका सञ्चालकसमेत हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उनी दोस्रो स्थानमै सीमित भए । उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले हराएका हुन् । श्रेष्ठले २६ हजार १४५ मत पाउँदा धमलाले २० हजार २७९ मत ल्याएर दोस्रोमै चित्त बुझाउन बाध्य भएका छन्। मिङ्मा शेर्पा हेली एभरेष्ट र सेभेन स्टार समिटका सञ्चालक मिङ्मा शेर्पाले रास्वपाका तर्फबाट संखुवासभामा संघीय संसदका निम्ति चुनावमा उठे, तर उनले जीत निकाल्न सकेनन् । उनी ११ हजार १३५ मतसहित दोस्रो स्थानमा सीमित भए । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन् । उनले १२ हजार ३९६ मतले विजयी भएका छन् । कृष्ण रिजाल  पर्यटन व्यवसायी धाधिङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । तर उनको संसदमा प्रवेश गर्ने सपना साकार हुन सकेन । उक्त क्षेत्रमा रास्वपाका आसिका तामाङले ३९ हजार १२८ मत ल्याएर विजयी भएकी छिन् । रिजालले भने १० हजार ८० मत ल्याएर चौंथो नम्बरमा सीमित भए । कृष्णकुमार (किसान) श्रेष्ठ  होटल व्यवसायमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ बाट चुनावमा उठेका थिए ।  उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उठेका थिए । तर जीत हासिल गर्न सकेनन् । उनलाई रास्वपाका रहबर अन्सारीले पराजित गरे । अन्सारी  ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । श्रेष्ठले भने ११ हजार ६३९ मत ल्याएर दोस्रोमा सीमित भए । सुमन सायमी  होटल व्यवसायी सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौं–८ बाट चुनाव लडेका थिए । तर उनलाई रास्वपाका विराज भक्त श्रेष्ठले पराजित गरेका छन् । श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा सायमीले ३ हजार २१७ मत ल्याउर दोस्रोमा सीमित भए । प्रेमकुमार खत्री ठमेलको चर्चित क्लब एलओडीसँगै एसीई दी हिमालयन ट्रेकिङका सञ्चालक प्रेमकुमार खत्रीले नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । पछिल्लो मतपरिणामअनुसार खत्रीको पराजित सुनिश्चित भइसकेको छ । उक्त क्षेत्रमा रास्वपाका २८ हजार ९६५ मत ल्याउँदा खत्रीले १५ हजार २३० मात्रै प्राप्त गरेका छन्। 

पूर्वस्वास्थ्यमन्त्री सबै पराजित

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ८ जना पूर्वस्वास्थ्यमन्त्री सबै पराजित भएका छन् । ८ जनामध्ये ६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबाट पराजित भएका छन् भने एक जना नेपाली कांग्रेस र अर्को एकजना नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबाट पराजित भएका हुन्।   गगन थापा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही– ४ मा पराजित भए । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थापा यसपटक तराई झरेका थिए । उनी रास्वपाका अमरेश सिंहसँग पराजित भएका हुन् ।  रास्वपाका उम्मेदवार अमरेश सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा गगनले २२ हजार ८ सय ३१ मत ल्याए । २०६४ सालको निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् पसेका थापा २०७० सालको निर्वाचन पछिका हरेक निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुँदै आएका थिए । उपेन्द्र यादव   जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संसदीय यात्रामा पनि ब्रेक लागेको छ ।  सप्तरी– ३ बाट उम्मेदवार रहेका यादव रास्वपाका अमरकान्त चौधरीसँग पराजित भएका हुन् । चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याउँदा यादवले १५ हजार २ सय ३० मत मात्र पाए ।  २०६४ सालको निर्वाचनमा मोरङ र २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट विजयी भएका यादवको संसदीय यात्रामा ब्रेक लागेको हो ।  प्रदीप पौडेल   नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि पराजित भएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए । पोखरेलले ३० हजार ७ सय ३७  मत ल्याउँदा पौडेलले १९ हजार ५१ मत ल्याए ।  प्रदीप यादव  पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव पनि रास्वपाका उम्मेदवारबाट पराजित भएका छन् ।  जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरी योपटक पर्सा १ बाट उम्मेदवार बनेका थिए ।  रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २ सय ७४ मत प्राप्त गरी विजयी हुँदा यादवले १३ हजार ३० मत प्राप्त गरेका थिए ।  पदम गिरी  एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पनि पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट पर्वत १ बाट उम्मेदवार बनेका उनी रास्वपाका उम्मेदवार सागर भुसालसँग पराजित भएका हुन् । भुसालले २६ हजार ५ सय ६१ मत ल्याउँदा गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।    शेरबहादुर तामाङ एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ पनि पराजित भएका  छन् । फागुन २१ गते सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालसँग पराजित भएका हुन् । दुलालले २१ हजार ६ सय ९९ मत ल्याउँदा तामाङ १५ हजार ९ सय २६ मत ल्याए ।  भानुभक्त ढकाल  पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेबाट तेह्रथुम–१ मा उम्मेदवार बनेका ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भएका हुन् ।  सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याउँदा ढकालले १० हजार ६ सय ८२ मत ल्याएका थिए । गिरिराजमणि पोखरेल दुई पटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि पोखरेल फागुन २१ गतेको निर्वाचनमा पराजित भएका छन् । नेकपाबाट महोत्तरी –१ मा उम्मेदवार बनेका पोखरेल रास्वपाका प्रमोदकुमार महतोसँग पराजित भएका हुन् । महतोले ३४ हजार ६ सय ३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका थिए ।

सांसद बन्न नसकेका कांग्रेसका ‘पिएचडी होल्डर’ नेता

काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र अब्बल मानिएका र शैक्षिक योग्यताले पनि विद्यावारिधी पूरा गरेका उम्मेदवारहरू पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका विद्यावारिधि गरेका उम्मेदवारहरू पराजित भएका हुन् ।  नेपाली कांग्रेसभित्रका प्रभावशाली नेताका रूपमा परिचित र अर्थमन्त्रीसमेत बनिसकेका डा. प्रकाशशरण महत पराजित भए ।   नुवाकोट १ मा डा. रास्वपाका उम्मेदवार विक्रम तिम्सिनासँग पराजित भएका हुन् । तिम्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएका र डा. महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । डा. महतले अर्थशास्त्र विषयमा पिएचडी गरेका छन् । मोरङ-२ मा कृष्ण कुमार (गणेश) कार्कीसँग डा. मीनेन्द्र रिजाल पराजित बनेका छन् । उनले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । कार्कीले ४० हजार ९२४ मत प्राप्त गरेका छन् । डा. रिजालले व्यवसाय प्रशासन क्षेत्रमा विद्यावारिधि गरेका छन् ।  गुल्मी- २ मा सागर ढकालसँग डा. चन्द्रकान्त भण्डारी पराजित बनेका हुन् । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा डा. भण्डारीले १३ हजार ५०५ मत पाएका थिए ।  डा. भण्डारीले समाजशास्त्र विषयमा पिएचडी गरेका छन् । डा. गोविन्दराज पोखरेल प्युठान १ मा रास्वपाका सुशान्त वैदिकसँग पराजित भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दा डा.पोखरेलले १८ हजार ३३८ मत पाएका छन् ।  डा. पोखरेलले जर्मनीबाट विद्यावारिधि गरेका छन् । उनको पिएचडी अध्ययन र अनुसन्धान मुख्य रूपमा ऊर्जा , जलवायु परिवर्तन र सार्वजनिक नीति जस्ता क्षेत्रमा केन्द्रित रहेको छ। रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुनसँग डा. सुदनकुमार वली पराजित भएका छन् । पुनले २७ हजार ४६० मत प्राप्त गरेका छन् । डा. वलीले १२ हजार ८ मत पाएका छन् । डा. वलीले अर्थशास्त्र विषयमा पीएचडी गरेका छन् । यी विद्यावारिधि गरेकाहरू भए पनि पेशाले डाक्टर भएकाहरू पनि पराजित भएका छन् । डा. सुनिल शर्मा र डा. शेखर कोइराला पूर्व चिकित्सकहरू हुन् । रास्वपाका मोरङ-३ मा सुनिल शर्मा पनि रास्वपाका गणेश कार्कीसँग पराजित बनेका छन् । कार्कीले ३६ हजार ९ सय २४ र शर्माले २४ हजार ३ सय ५४ मत ल्याएका छन् । मोरङ-६ मा डा. शेखर कोइराला पनि पराजित भए । कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे । उनका प्रतिस्पर्धी रास्वपाका उम्मेदवार रुविना आचार्यले ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् ।

दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी, एमालेको जित सङ्ख्या तीन पुग्यो

काठमाडौं । दैलेख क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।  अन्तिम मतपरिणाम अनुसार पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।  पोखरेलले कुल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७ नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे । लक्ष्मीप्रसाद पोखरेलको यो जितसँगै प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको विजयी संङ्ख्या तीन पुगेको छ । यसअघि एमालेले बाँके-२ र बझाङ-१ मा जित हासिल गरिसकेको छ।  

झापा- ५ मा बालेनले ४२ हजार कटाउँदा ओलीले ११ हजार ४२७ मत पाए

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी मन्थरा चिमरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ ।  पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १३ हजार ७०८ मतसहित चुनावी दौडमा अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि रहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल २ हजार २७१ मतसहित तेस्रो स्थानमा छन् ।  त्यसैगरी, राप्रपा नेपालका कमल थापाले ७४७ मत र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ५५५ मत प्राप्त गरेका छन् ।

ललितपुर- १ मा उदयशमशेर राणाको अग्रता कायमै

ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार राणाले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै विजयतर्फको यात्रा सुदृढ बनाएका हुन् । उनले ४ हजार १३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेललाई उछिनेर दोस्रो स्थान कब्जा गरेका छन् । महर्जनले २ हजार ६६३ र सञ्जेलले २ हजार २९१ मत प्राप्त गरेका छन् ।

चितवन -२ अपडेट :  रास्वपाका लामिछाने ४ हजार ३७१ मतले अगाडि

काठमाडौं । पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ३७१ मतले अगाडि रहेका छन् । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६ हजार ७०० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार ३२२ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रताव गुरुङले १ हजार ५५७ मत ल्याएका छन् ।  हालसम्म १४ हजार २२ मत गणना भएको छ । 

सर्लाही- ४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता

काठमाडौं । सर्लाही- ४ मा अमेरशकुमार सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । उनले १ हजार ९०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गगन थापाले ५३६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् ।

ललितपुर २ मा रास्वपाको फराकिलो अग्रता

ललितपुर । पछिल्लो मत परिणामअनुसार ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतले अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार जगदिश खरेलले नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले भन्दा ६ गुणा बढी मत ल्याएका छन् । खरेलले ३ हजार १९९ मत ल्याउँदा महर्जनले ४९३ मत प्राप्त गरेका हुन् । त्यस्तै,  नेकपा एमालेका प्रेम बहादुर महर्जनले ४०७ मत पाएका छन् ।

उपत्यकामा कांग्रेसलाई उदय शमशेरको आशा, करिब दोब्बर मतले अगाडि

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। बागमती गाउँपालिकाको मतगणना जारी रहँदा राणाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् । पछिल्लो प्राप्त विवरण अनुसार राणाको मत परिणाम उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा झन्डै दोब्बर देखिएको छ । राणाले ३ हजार १४४ मत प्राप्त गरेका छन् भने एमालेका चेतनाथ सञ्जेलले १ हजार ७५३ मत प्राप्त गरेका छन् ।  त्यस्तै, रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६५२ मत पाएका छन् ।

बालेनले १० हजार १९० मत प्राप्त गर्दा ओलीको कति ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बर बढी मत पाएका छन् ।  ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा-५ को मतगणना जारी रहेको छ ।

उम्मेदवारीको होइन, जिम्मेवारीको जीत होस्

मानिसको मनमा शंकाको एउटा स्थायी प्रश्न थियो, साँच्चै चुनाव होला र ? हरेक घर, अफिस, चिया चौतारामा यस्तै आशंकामा मानिसहरू चिन्ता गर्थे । आखिरमा करिब ६ महिनादेखिको यस्तो सार्वजनिक शंका समाप्त भएको छ । सफलतापूर्वक आम निर्वाचन २०८२ को मतदान प्रकृया सकिए सँगै देश नयाँ चरणमा प्रवेश गरेको छ ।  न यो चुनाव आफ्नो मितिमा आएको थियो न दलहरूको आन्तरिक रडाकोका कारण विगतमा जसरी छिट्टै यो टुपुल्किएको थियो । भाद्र २३ को नृशंस प्रहरी हत्या र भाद्र २४ को अराजक ध्वंशको जगमा यो चुनाव झण्डै साढे २ वर्ष अघि आइपुग्यो । ७७ जना मानिसको ज्यान र झण्डै साढे ८४ अर्ब रुपैयाँ बराबरको सम्पत्ति नाशिएर आएको चुनाव सम्पन्न हुन करिब ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसैले नियमित कर्मकाण्डी चुनाव जस्तो सामान्य यो हुँदै होइन ।  मूल कुरा के हो भने पूराना दलको कुशासन र भ्रष्टाचारबाट आजित जेनजी युवा विद्रोहका कारण सृजित विशिष्ट परिस्थितिमा जन्मिएको चुनाव भएको हुनाले आउने जनप्रतिनिधिहरूका दायित्व पनि त्यसै गरी झन् विशिष्ट छन् । त्यसैले यो चुनावमा ‘उम्मेदवारीले होइन, जिम्मेवारीले जित्नुपर्छ’ भन्ने आम अपेक्षा छ ।  देशभित्रको वहुविचार समेट्दै देश बाहिरको बदलिँदो भू–राजनीतिको धुमिल वातावरणमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सक्नेहरूले जितून् भन्ने आशा सचेत नेपालीहरूको छ । चुनावले पूरा परिणाम कस्तो लिएर आएको छ, धमाधम खुलिरहेका ‘ब्यालेट वक्स’ले फटाफट प्रष्ट पार्दैछन् । अराजक भीडले मच्चाएको वितण्डा पछि देशको सुरक्षा संयन्त्रको मनोवल गिरेको अवस्था थियो । यस विषम पृष्ठभूमिमा पनि छिटपुट ठाउँमा सामान्य घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्वक सम्पन्न हुनु आफैमा लोकतन्त्रका लागि सकारात्मक संकेत हो । यो चुनावले राजनीतिक प्रक्रियालाई फेरि संवैधानिक मार्गमा फर्काउने आशा जगाएको छ ।  निर्वाचन आयोगका अनुसार हिजोको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । आयोगको तथ्यांकअनुसार २०१५ सालको पहिलो आमनिर्वाचनमा सबैभन्दा कम ४४.३० प्रतिशत मत खसेको थियो भने सबै भन्दा बढी मत चाहिँ २०७० सालको निर्वाचनमा ७८.३४ प्रतिशत खसेको थियो । जेनजी विद्रोहपछि ९ लाख १५ हजार १ सय १९ मतदाता थपिएका थिए । नेपालको संविधानले १८ वर्ष पुगेपछि नेपाली नागरिकलाई मताधिकारको सुनिश्चितता गरेको छ । पछिल्ला ६ महिना नेपालको लोकतन्त्र कोमामा पुगेको जस्तो भयो । राजनीतिक पार्टीहरू कमजोर कित्तामा पुगे । संविधानसभामार्फत् संविधान जारी भएपछि दबिएका विभिन्न स्वार्थ समूहले फेरि टाउको उठाउन थालिसकेका थिए । राजनीतिक वातावरण अनिश्चित थियो । विभिन्न शक्ति–समूहबीचको प्रतिस्पर्धा, विभिन्न स्वार्थ समूहको आन्दोलनको धम्की, जेलबाट भागेका र प्रहरीबाट लुटेका हतियारको डर लगायत सुरक्षासम्बन्धी चिन्ताका कारण निर्वाचन हुनै नसक्ने हो कि भन्ने शंका सबैको मनमा बलियो गरी बसेको थियो । तर, अन्ततः राज्य संयन्त्र, सुरक्षा निकाय र नागरिकको सहभागिताले मतदान सम्पन्न भयो । यसले नेपालका लोकतान्त्रिक संस्थाहरूले अझै पनि काम गरिरहेका छन् भन्ने सन्देश पनि दिएको छ । यसपटकको चुनावलाई धेरैले दुई धारबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरेका छन् । एकातिर पूराना दलहरू, जसलाई कुशासन र भ्रष्टाचारको आरोप लाग्दै आएको छ र अर्को तिर नयाँ राजनीतिक शक्ति, जसप्रति आशा र आशंका दुवै छन् । पूरानाप्रति असन्तुष्टि र नयाँप्रति भरोसाको संशयबीच भएको यो चुनाव वास्तवमा मतदाताको मनोविज्ञान बुझ्ने एउटा महान् अवसर पनि हो । लोकतन्त्रमा दलका विकल्प सुधारिएका दल नै हुन् । यसको विकल्प छैन । त्यसैले दललाई उनीहरूको कर्म अनुसारको ‘साइज’ जनताले ‘ब्यालेट’ मार्फत् नै तोक्छन् । सुध्रिने दल फेरि बौरिन्छन्, नसुध्रिने दल चाउरिँदै जान्छन् । यो संसारभरको लोकतन्त्रको रीत हो ।  केही समयदेखि ‘ट्रयाकबाट बाहिरिएको राजनीतिक र संवैधानिक संरचना फेरि सही दिशामा फर्किने आशा’ बढेको छ । लोकतन्त्रमा सबै कुरा एकैपटक ठीक हुँदैनन् पनि । सबै कुरा आम अपेक्षाअनुसार हुँदैनन् । चुनावहरू आफैमा सुधारको निरन्तर प्रक्रिया हुन् । आजको अपरिपक्व वा गलत निर्णय भोलिको चुनावले सच्याउन सक्छ र यही लोकतन्त्रको शक्ति हो भनिन्छ ।  यसो भन्दैमा चुनाव केवल राजनीतिक अभ्यास मात्र नहोस् भन्नेमा सजगता उत्तिकै जरुरी छ । यसको ठूलो आर्थिक र सामाजिक लागत पनि छ । नेपाल जस्तो गरिब देशका लागि चुनावी खर्च आफैमा ठूलो रकम हुन्छ । झन् अहिलेको अर्थतन्त्र कोमामा रहेका बेला त यसको असर झन् बढी हुन्छ । भाद्रको आगजनीमा भएको क्षति र चुनावी खर्च जोड्दा झण्डै सवा खर्ब रुपियाँको ठूलो मूल्य यो चुनावका खातिर देशले चुकाएको छ । यसरी ७७ जना मानिसको ज्यान र यत्रो जनताको करको रुपैयाँ खर्चेर सकिएको यो निर्वाचनको वास्तविक औचित्य तब मात्र सिद्ध हुनेछ, जब नयाँ सरकारले स्थिरता कायम गर्दै पाँच वर्षको कार्यकाल पूरा गर्न सक्नेछ र देशको गुमेको विकास यात्रालाई पुनः गति दिन सक्नेछ। मतदाताका यी आशा अपेक्षाका बीच यसपटक मैले पहिलोपटक काठमाडौंका झण्डै एक दर्जन मतदान केन्द्र पुगेर चुनावी वातावरण नजिकबाट हेर्ने अवसर पाएँ । क्षेत्र नम्बर ४, ५ र ६ का विभिन्न केन्द्रहरूमा पुग्दा मतदाताहरूको अनुहारमा जिम्मेवारीको भाव त देखिन्थ्यो, तर विगतका चुनावहरूमा देखिने उत्साह भने कम देखियो । मानिसहरू चुपचाप मतदान केन्द्रमा आउने, आफ्नो मत दिने र घर फर्किने क्रम चलिरहेको थियो । मतदाताबाहेक खासै मानिसको उत्साहको जमघट देखिएन ।  देशका अन्य स्थानका पत्रकार र अनुगमनकर्ताहरूसँग कुरा गर्दा पनि यस्तै अनुभव सुनियो । कतिपयले भने, ‘पहिले जस्तो चुनावी माहोल र उत्सवको वातावरण यसपटक देखिएन ।’ सम्भवतः यसले मतदाताहरूमा बढ्दो राजनीति प्रतिको थकानलाई संकेत गर्छ ।  नक्सालस्थित भगवती मन्दिर नजिकको मतदान केन्द्रमा अनुगमनका क्रममा भेटिएका वरिष्ठ पत्रकार किशोर नेपालले पनि मतदान केन्द्रहरूमा यस्तो सन्नाटा पहिले कमै देखिएको बताए । उनका अनुसार अघिल्ला चुनावहरूमा मतदान केन्द्रहरूमा उत्सवको जस्तो वातावरण हुन्थ्यो, तर यसपटक मतदाता शान्त देखिए, भीड निकै पातलो देखियो ।  गाउँघरमा सामान्यतया मतदान केन्द्रहरू मेलाजस्तै हुने गर्थे, जहाँ सामाजिक भेटघाट र उत्सवको माहोल देखिन्थ्यो । तर अहिलेको चुनावमा त्यो दृश्य निकै कम देखिएको अनुभव अछामका पत्रकार मेनुका ढुंगानाको छ । काठमाडौंको टोखास्थित तिर्लिङटार स्कुलको मतदान केन्द्रमा भेटिएकी ७५ वर्षीया वृद्धा स्यानी विष्टले पनि यो मतदानमा पहिलेका चुनावमा जस्तो रौनक नलगागेको बताइन् ।  यद्यपि ६० प्रतिशत मतदान पनि हाम्रो जस्तो मतदाता साक्षरता कमजोर भएको लोकतन्त्रका लागि कम होइन । यसले के देखाउँछ भने मतदाताहरूमा चुनावप्रति निराशा भए पनि नागरिक कर्तव्यबोध उच्च छ । कतिपयले असन्तुष्टि व्यक्त गर्न, कतिपयले परिवर्तनको आशामा र कतिपयले केवल आफ्नो अधिकार प्रयोग गर्न मतदान गरेका भने हुन सक्छन् । यसपालि कतिपय मतदाता एउटा पार्टीमा चिनिएका वा संगठित भएका तर भोट अर्कै पार्टीमा हाल्ने अवस्था रहेकाले पनि उत्साहका साथ नखुलेका हुनसक्ने एकथरिको विश्लेषण पनि सही हुन सक्छ।  प्रश्न उठ्छ, चुनावपछि अब के त ? चुनाव सम्पन्न हुनु लोकतन्त्रको पहिलो चरण मात्र हो । यसको वास्तविक अर्थ तब देखिन्छ, जब नयाँ सरकार जनताको अपेक्षा पूरा गर्न सफल हुन्छ । अहिले नागरिकहरूका प्रमुख अपेक्षा स्पष्ट छन्– सबैभन्दा पहिलो आवश्यकता सुशासन र भ्रष्टाचार नियन्त्रण हो । सार्वजनिक संस्थाहरूमा पारदर्शिता र उत्तरदायित्व बढाउन सके मात्र नागरिकको विश्वास पुनः स्थापित गर्न सकिन्छ । दोस्रो, आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना हो । हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश जाने क्रम बढ्दो छ । यदि देशभित्र नै अवसर सिर्जना गर्न सकियो भने त्यो राष्ट्र निर्माणका लागि ठूलो उपलब्धि हुनेछ । तेस्रो हो, राजनीतिक स्थिरता । सरकार बारम्बार परिवर्तन हुने संस्कारले विकासको गति रोक्ने गरेको छ । पाँच वर्षको कार्यकाल पूरा गर्ने संस्कार स्थापित गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । चौथो, युवाको सहभागिता हो । नीति निर्माण र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता बढाउन सके मात्र लोकतन्त्र जीवित र गतिशील रहन्छ । पाँचौं हो, विकास र सार्वजनिक सेवा सुधार । शिक्षा, स्वास्थ्य, पूर्वाधार र डिजिटल सेवामा सुधार गरेर नागरिकलाई राज्यको उपस्थितिको अनुभूति गराउनुपर्छ।  यी सबै काम फत्ते गर्नका लागि साझा सहमति र समन्वयकारी भूमिकामा अब बन्ने सरकार खरो उत्रिनु पर्नेछ । जुुनसुकै पार्टीको र मिलिजुली, बहुमत वा दुई–तिहाइकै सरकार बने पनि सत्ता भित्र, संसद भित्र र संसद बाहिरका दल समेतलाई मिलाएर लिएर जानु पर्नेछ । किनभने जनताका तत्कालका चाहना पूरा गर्ने दायित्व मात्र अब आउने सरकारलाई छैन, त्यसभन्दा माथि उठेर संविधान संशोधनसम्म पुग्नु पर्नेछ । निर्वाचन प्रणालीमा सुधार, सामयिक कानुन निर्माण र सुधार जसले शासन सुधार गर्न र भ्रष्टाचार नियन्त्रणमा सघाउन सक्छ, यी सबै कामका लागि संविधान संशोधनको मार्गमा सफलतापूर्वक पुर्याउन सक्ने ताकत चाहिने भएकाले यसपालि उम्मेदवारीले वा दलले जितेर पुग्नेछैन, जिम्मेवारीले जित्नु पर्ने खाँचो छ ।

चितवन ३ मा सोविताको अग्रता कायमै

चितवन । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमले अग्रता कायमै राखेकी छिन् ।  रास्वपाकी उम्मेदवार  गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, चितवनले जनाएको छ । यसैगरी, नेकपा एमालेका शंकर थपलियाले ७४१ मत पाएका छन् ।  नेपाली कांग्रेसका टंक प्रसाद गुरुङले भने ४०४ मत ल्याएका छन् । 

काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना हुने

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै रातिबाट मतगणना सुरु हुने भएको छ ।  काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अधिकारी ठाकुरप्रसाद भट्टराईले काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना सुरु गरिने जानकारी दिए । अहिले सबै निर्वाचन क्षेत्रबाट मतपत्रको बाकस संकलन गर्न काम भइरहेको उनले बताए । काठमाडौंमा शान्तिपूर्ण निर्वाचन भएको उनको भनाइ छ । कहाँ-कहाँ मतगणना हुँदैछ ? क्षेत्र नं १ सहकारी विभाग क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका  क्षेत्र नं ३ चामुन्डा माध्यमिक विद्यालय नारायणटार  क्षेत्र नं ४ बुढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय  क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५  क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली  क्षेत्र नं ७ जुडो हल नयाँबजार  क्षेत्र नं ८ जनउद्दार मावि हरिसिद्धी, काठमाडौं  क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु  क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

अर्बौं खर्च गरेर मधेसको दलित बस्ती बनाउने गगनको वचन

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् ।  काठमाडौं ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् ।  उनले सर्लाही जानुअघि काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका थिए ।  त्यस्तै, उनले मधेसमा गएर आफूले राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए ।  साथै सर्लाहीको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए ।  उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए ।  उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अरबौं पैसा लागोस् । बरु मन्त्रालय काटौं । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’

हाइप्रोफाइल क्षेत्रमा प्रहरीको विशेष ‘फोकस’, चार जिल्लामा मात्रै १७ हजार बढी प्रहरी परिचालन

काठमाडौं । हेभीवेट उम्मेदवार भएका जिल्लामा १७ हजार ४१९ प्रहरी कर्मचारी खटिएका छन् । नेपाल प्रहरीले झापा, सर्लाही, पूर्वी–रुकुम र चितवनमा सबैभन्दा बढी प्रहरी परिचालन गरेको छ ।  नेपाल प्रहरीका अनुसार झापामा सबैभन्दा बढी प्रहरी कर्मचारी खटाइएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार झापामा ६ हजार ४१४, सर्लाहीमा ६ हजार ५२८, चितवनमा ३ हजार ७८५ र रुकुम-पूर्वमा ६९२ प्रहरी परिचालन गरिएको छ । हेभीवेटका उम्मेदवार भएका ठाउँमा विशेष सुरक्षा व्यवस्थापन गर्न अन्य ठाउँको तुलनामा बढी प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले बताए । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह छन् । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन् । सर्लाही ४ मा रास्वपाका अमरेश सिंह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छन् । रुकुम–पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल उम्मेदवार छन् । उम्मेदवारको सुरक्षा तथा मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर बढी प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।  काफ्लेले विगतका निर्वाचमा भएका घटनालाई लिएर दोलखा, रामेछाप, अछाम र बाजुरालाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको बताए । सुरक्षाकर्मीको संख्यासमेत बढाइएको उनको भनाइ छ । ‘मतदानस्थल र मतदाताको सुरक्षामा विशेष चासोका साथ निगरानी गरिएको छ,’ प्रवक्ता काफ्ले भने,’ अवाञ्छित गतिविधि नहोस भनेर प्रहरी सुरक्षाकर्मी बढाइएको छ । सादा पोशाकदेखि विशेष प्रहरीसमेत परिचालन गरिएको छ ।’ निर्वाचनलाई लक्षित अनावश्यक घटना नघटोस् भनेर खतराको पहिचान गर्ने प्रहरी खटाइएको काफ्लेले बताए । प्रहरीले निर्वाचन बिथोल्ने किसिमका घटनाको मूल्यांकन गरेर तत्कालै एक्सन लिने गरेको उनले उल्लेख गरे । मतदानस्थल वरपर सीसीटीभीसमेत राखेर सुरक्षा व्यवस्थाको विश्लेषण गरिएको उनको भनाइ छ । निर्वाचन व्यवस्थापनमा अन्य सुरक्षाको समन्वय गरिरहेको पनि उनले खुलाए ।  काफ्लेले अरूको नाममा भोट हाल्ने प्रवृत्तिलाई अन्त्य गर्ने दावीसमेत गरे । ‘यो पटक विदेश गएका र मृत्यु भएका तथा शारीरिक रूपमा अशक्त मानिसहरुको नाममा भोट हाल्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्छौं,’ उनले भने, ‘विगतमा सुरक्षाकर्मी र मतदान स्थलमा खटिएका कर्मचारीलाई त्यस्ता व्यक्तिहरुको सहयोगमा मत हाल्न लगाइएको थियो । त्यस्ता गतिविधि रोक्न राजनीतिक दल, स्थानीय बुद्धिजीवीलाई राखेर कडा निगरानी गरिनेछ ।’ मतदानस्थलमा बुथ लुट्ने समेत सम्भावना रहेकाले प्रहरीले सुरक्षा दिने र कडा कारबाही गर्ने काफ्लेले बताए । प्रहरीले बुथ लुटिन सक्ने, उम्मेदावरमाथि हातपात र मतदातालाई रोकिन सक्नेलाई सीसीटीभीबाट निगरानी गरेर कडा कारबाही गर्ने  प्रवक्ता काफ्लेले चेतावनी समेत दिए । मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोगलाई सबैभन्दा बढी ख्याल गरिने उनले बताए । सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्नेलाई बढी कारबाही गरिने उनको भनाइ छ ।  मौन अवधिमा सामाजिक सञ्जाल निगरानी गर्न केन्द्रीय निर्वाचन सेल गठन गरिएको काफ्लेले प्रस्ट पारे । १५(१५ जनाको टोलीमा केन्द्रीय साइबर सेल गठन गरिएको उनको भनाइ छ । एसएसपीको नेतृत्त्वमा निर्वाचन सेल गठन गरिएको उनले जानकारी दिए । ‘पैसा वितरण, भौतिक सहयोग, मनोवैज्ञानिक त्रास र विष्फोटक पदार्थ राख्नेमाथि विशेष निगरानी राखिएको छ,’ उनले भने, ‘मौन अवधिमा गरिएको व्यवहारलाई पहिचन गरेर विश्लेषण गरेर प्रहरी परिचालन गरिएको छ ।’ मतदानस्थलको सुरक्षालाई लिएर मजबुत बनाइएको तथा डोरी पनि दह्रो बाँध्ने व्यवस्था गरिएको उनले सुनाए ।  त्यसैगरी, कुल ७७ हजार ६७७ हजार प्रहरी परिचालन भएका छन् । सुरक्षा दृष्टिकोणलाई ध्यानमा राखेर निर्वाचन प्रहरी र नेपाल प्रहरीका कर्मचारीसहित ७७ हजार ६७७ प्रहरी परिचालन भएका हुन् । काफ्लेका अनुसार १४ हजार २२५, संवेदनशील मतदानस्थलमा २६ हजार ६५२ र अति संवेदनशील मतदानस्थलमा ३६ हजार ८०० प्रहरी परिचालन छन् । ‘निर्वाचन सुरक्षामा कति प्रहरी सहभागी छन्, कति हातहतियारसहित प्रहरी पुगेका र कसरी व्यवस्थापन गरिएको छ, त्यसको सम्पूर्ण विवरण ईएमआईमा सफ्टवेयरमा समावेश गराइन्छ,’ उनले भने, ‘मतदान स्थलमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर केही दुर्घटना भएमा पनि जीआईएस सफ्टवेयर समेत जडान गरेको छ । जहाँ हेलिकोप्टर सहजै अवतरण गर्न सक्छ वा सक्दैन त्यसको प्रत्यक्ष अवलोकन गर्न सक्छ । जसलाई भौगोलिक अवस्थाको सूचना दिने गर्छ ।’