कांग्रेसको १० भिजन : आर्थिक भार नपर्ने नेपालदेखि विश्वले सम्मान गर्ने स्वाभिमानीसम्म

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र अर्थात् १० भिजन सार्वजनिक गरेको छ । पार्टी सभापति गगन थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा बुधबार सांस्कृतिक नगरी जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । नेपाली कांग्रेसको १० वटा प्रतिज्ञामा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल र ओखती र ओत दिने नेपाल रहेका छन् । यस्तै, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्किने नेपाल शीर्षक दिएर कांग्रेसले १० वटा प्रतिज्ञा सार्वजनिक गरेको हो ।  ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनहरूमा आम मतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ’, कांग्रेसले भनेको छ, ‘कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न तर,अमुक र अमूर्त कारण देखाएर जिम्मेवारीबाट नभाग्ने समेत बताएको छ । ‘हामी अमुक र अमूर्त कारण देखाएर कहिल्यै जिम्मेवारीबाट पन्छिदैनौं ।’ यस्तो छ कांग्रेसको भिजन नेपाली कांग्रेस जनता-जनार्दनको बलमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने कुनै कुराको अभाव नभएको” व्यवस्था ल्याउने महान लक्ष्य बोकेर स्थापना भएको पार्टी हो । युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहासको त्यही लक्ष्य नै हाम्रो मूल प्रेरणा हो । परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाल, कामसे विचारमा स्पष्ट र कार्यशैलीमा चनाखो बनेको छ । विगतका ठूला ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमी–कमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिबद्धताका साथ तपाईंको घरदैलोमा आएका छौं । आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिका एकमात्र उद्देश्य नेपाललाई समृद्ध र नेपालीलाई सम्मानित बनाउनु हुनेछ । यसका निम्ति हामीले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ तल उल्लेख गरेका छौं । यो आगामी पाँच वर्षभित्रै हासिल हुन सक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्वीर हो । हाम्रो यो प्रतिबद्धतापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रमहरू त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइला हुन् । १. सम्मानित भएर बाँच्न पाउने नेपाल हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ । कानूनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेशा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ । देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् । हामी यस्तो समाजको निर्माण गर्नेछौं, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैंगिक हिंसाबाट मुक्त हुनेछ । वंश, जात वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ । जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सिर्जना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउनेछौं । २. सपना देख्न सक्ने नेपाल हाम्रो परिकल्पनाको नेपाल प्रगति र उन्नतिको सपना देख्ने नागरिकहरूको देश हुनेछ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयासले ती सपनाहरू साकार हुनेछन् । राष्ट्रिय नव निर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् । उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सिर्जनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ । हाम्रो राज्य प्रवास रहेर पौरख र सामथ्र्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सीप र पूँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ । हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने’ र स्वदेशमा रहेकालाई ‘यहीं सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ । ३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सिर्जना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ । सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउनेछ । श्रमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ । राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थप्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ । ४. पेटभर खुवाउने, देशलाई चिनाउने किसानको नेपाल हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पेशा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वस्थकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चितता समेत पाउनेछन् । युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिंचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्रान्ड’ बनाउने दृष्टिकोण बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ । ५. ओखती र ओत दिने नेपाल हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने’ र ‘अस्पतालको शुल्क कसरी तिर्ने’ भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन् । स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, ‘उपचार नागरिकको मौलिक अधिकार’ भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ । ६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन । शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुहरूले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउनेछन् । प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सिर्जनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् । जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ । ७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुनेछन् । ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुनेछन् । राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटल नेपाल’ को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउनेछन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ । ८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल हाम्रो विविधता र विशेषता नै नेपालको मौलिक पहिचान हो । नेपालका हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशेष पहिचान हो । हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ । हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशेषताहरूको समान रूपमा सम्मान र संवद्र्धन हुनेछ । यिनै विविधता र विशेषताको जगमा उभिएर हामी आधुनिकतासँग कदममा कदम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौं । विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ । ९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रको रूपमा स्थापित हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ । हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाइनेछ । हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौं । हामी यस्तो नेपाल बनाउनेछौं, जहाँको राहदानीलाई अरूले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौं । १०. समृद्धितर्फ लम्कने नेपाल हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको तीव्र विकास हुनेछ । हिमाल, नदी, वनजंगलजस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् । हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र वातावरणमैत्री हुनेछ, जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ । हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ । देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ । समृद्धिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ । सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयासबाट निर्माण हुने समृद्ध नेपालमा जातीय, भाषिक, क्षेत्रीय लगायतका विविधताको जोडबाट नयाँ भाव सिर्जना भई नेपाली राष्ट्रियता सुदृढ र सबल हुनेछ ।

साढे तीन सय शब्दको भाषणमा फत्ते बोले बालेन (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम पुगेर परिवर्तनको उद्घोष सभालाई सम्बोधन गरे । रास्वपाले आयोजना गरेको सो सभामा बोलेका बालेनले संक्षिप्त रुपमा धेरै विषयहरु प्रस्तुत गरे । उनले आफूले सपनामा सुदूरपश्चिम बनेको देखेकोदेखि देशलाई स्विट्जरल्यान्ड बनाउनेभन्दा पनि त्यसभन्दा ठूलो सम्भावना सुदूरपश्चिममा रहेको र रास्वपाले ठूलो भन्दा पनि स–सानो विषयलाई सम्बोधन गरेर काम गरेर देखाउने बताए ।  यस्तो छ उनको सम्बोधनको पूर्णपाठ  नमस्कार । कि छन् हालचाल ? निकाइ छौं कि नाइ ? बेली छकालै एउटा सुइना देख्या थें । सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा ग¥न्र्या हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।  बोहरा जी (दिपक बोहरा) बुझ्या छौं कि नाइ ? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु प¥यो, स्वास्थ्य उपचार पाउनु प¥यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन डेढ वर्षमा बन्नु प¥यो, त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुप¥यो ।  यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने ? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस, एमाले, माओवादी र सबै नेपाली जनता हिड्ने बाटो बनाउँछ ।  मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्विट्जरल्यान्डको बाउ बढिमालिका यही छ किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यही छ, खप्तड नेशनल पार्क यही छ किन बनाउनुप¥यो स्विट्जरल्यान्ड ?  हामी नेपालीहरु माल भाको चाल नपाएको मान्छेहरु पर्यौं । भाको चिज देखाउनै सक्या छैन, सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ, ८ लाख १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन यहाँको गीतहरु काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ काठमाडौंसँग ।  सुरुमा त गीत बज्नुप¥यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ । तर, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा । सुदूरपश्चिमलाई सुनजिक प्रदेश बनाउनुप¥यो त्यो हो रास्वपाको एजेन्डा । तपाईंहरुलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ । म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो । काम दिनुस् है ।  तपाईंहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो के-के छ तपार्इंहरुको काम उम्मेदवारहरुलाई हाम्रो पार्टीमा मान्छेहरुलाई हाम्रो काम यो  हो भनेर लिष्ट दिनू । भोट नदिए पनि हुन्छ बरु कामको लिष्ट दिनू, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्न पर्दैन । काम हेर्नूहोला । म धेरै बोल्दिनँ । धेरै–धेरै धन्यवाद । सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तम्लाई । धेरै–धेरै माया । 

मधेशमा गुमेको विरासत फर्काउने चुनौतीमा गगन

काठमाडौं । बहुदलीय व्यवस्थापछि २०४८ सालमा मधेश प्रदेश नेपाली कांग्रेसको सुरक्षित किल्ला मानिन्थ्यो । सप्तरी, सिराहा, महोत्तरी, सर्लाहीसहित मधेशका जिल्लामा कांग्रेसका उम्मेदवारहरूले निर्णायक जित हासिल गर्थे । मतदाताले कांग्रेसको झण्डा देख्दा चुनाव जितिन्छ भन्ने विश्वास राख्थे । तर, तीन दशकको राजनीतिक परिवर्तनपछि हाल मधेशमा कांग्रेसको प्रभाव खुम्चिँदै गएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ३२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा कांग्रेस प्रतिस्पर्धीसमेत देखिँदैन । मधेश आन्दोलन, संघीयता, पहिचानमा आधारित राजनीति र मधेशकेन्द्रित दलहरूको उदयले कांग्रेसको पकड कमजोर बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । त्यस्तै, पछिल्लो समय जनमत पार्टीको तीव्र विस्तारले पुरानो समीकरण फेरिदिएको छ । पछिल्लो समयमा सिर्जना गरिएको राजनीतिक परिदृश्यले नेपाली कांग्रेसका नेताहरूलाई चुनौती दिएको छ । संगठन कमजोर हुँदै गएपछि स्थानीय कार्यकर्ता र मतदाता झण्डै मधेशकेन्द्रित दलहरूतर्फ आकर्षित भएका छन् । सिरहा–४ का एक पुराना कांग्रेसी कार्यकर्ताले दुखेसो पोख्दै भने, ‘पहिले काँग्रेसको झण्डा देख्दा जित निश्चित थियो, अहिले संगठन जोगाउने चिन्ता मात्र बाँकी छ ।’ २०७९ को प्रतिनिधिसभा निर्वाचनले यो यथार्थलाई झन् प्रस्ट पारेको छ । मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये कम्तीमा ११ क्षेत्रमा कांग्रेस लोकप्रिय मतमा पहिलो त परै जाओस् दोस्रो–तेस्रोमा पनि देखिँदैन । कांग्रेस कतै चौथो, कतै पाँचौं त कतै सातौं स्थानसम्म सीमित छ । यतिबेला कांग्रेस सभापति गगन कुमार थापा मधेशबाटै चुनावी प्रतिस्पर्धामा छन् । थापा मधेशमै उत्रिनु प्रतिकात्मक मात्र होइन, रणनीतिक चाल पनि भएको मान्ने अधिकांश कांग्रेसी कार्यकर्ताहरू थापाको आगमनले उत्साही देखिएका छन् । तर, प्रश्न उस्तै छ कि के थापाको मधेश प्रवेशले कांग्रेसको खुम्चिँदो पाइलालाई रोकेर नयाँ ऊर्जा दिन सक्छ ? नेपाली कांग्रेसले बुधबार मधेशमा आयोजना गरेको प्रतीज्ञासभामा उपस्थित भएका सहभागीहरू ।  कांग्रेसको सुनौलो चरण बहुदलीय व्यवस्थापछिको २०४८ सालको निर्वाचनमा मधेशका अधिकांश क्षेत्रमा कांग्रेस बलियो शक्ति थियो । २०४८ र ०५१ को चरण कांग्रेसका लागि सुनौलो चरण थियो । उक्त निर्वाचनमा सप्तरी, सिरहा, महोत्तरी र सर्लाहीसहित मधेशका अधिकांश जिल्लामा कांग्रेसका उम्मेदवारहरूले निर्णायक जित निकालेका थिए । एमाले मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेसको स्थानीय संगठन बलियो थियो । कांग्रेसका सर्लाही सभापति डा. सरोज कुमारका अनुसार त्यो बेला मधेशमा कांग्रेस राष्ट्रिय दलको प्रतिनिधि र विकास अनि स्थिरताको प्रतीकका रूपमा हेरिन्थ्यो । २०५१ र २०५६ का निर्वाचनमा पनि कांग्रेसको आधार कायम रह्यो । तर २०५६ पछि मधेशमा प्रतिनिधित्व र पहिचानको बहस तीव्र हुन थालेसँगै कांग्रेसको मत घट्न थालेको स्थानीय रामदेव कापरले जानकारी दिए । राजनीतिक विश्लेषक हरिनारायण झाका अनुसार २०५६ सम्म मधेशमा कांग्रेसको संगठनात्मक जरा गहिरो थियो । तर, मधेशी पहिचानको सवाललाई समयमै सम्बोधन गर्न नसक्दा पछि महँगो प‍र्न गएको हो ।  त्याे टर्निङ प्वाइन्ट २०६४ को मधेश आन्दोलनले कांग्रेसको स्थानीय आधारमा भूकम्प गएको कापरले बताए । पहिला कांग्रेस र अहिले जनता समाजवादी पार्टी (जसपा) मा रहेका कापरका अनुसार २०६४ सालको संविधानसभा निर्वाचन मधेशको राजनीतिमा टर्निङ प्वाइन्ट बनेको हो । मधेश आन्दोलनपछि मधेसी जनअधिकार फोरम, तराई–मधेश लोकतान्त्रिक पार्टी लगायत दल उदाए । मधेशी समुदायले प्रतिनिधित्व, समानुपातिकता र स्वायत्तताको मुद्दालाई प्राथमिकता दिए । तर कांग्रेस यसमा चुक्यो । यही नै कांग्रेसको अहिलेको अवस्था हो । अघिल्लो निर्वाचनको आँकडामा बारा, सप्तरी, सिराहा, महोत्तरी र सर्लाहीका धेरै क्षेत्रमा कांग्रेस तेस्रो–चौथो स्थानमा झ‍रेको देखिन्छ । मधेशका यी जिल्लाका धेरै निर्वाचन क्षेत्रमा कांग्रेस स्थापित राष्ट्रिय दलबाट बाहिरको शक्तिजस्तो देखिन थालेको छ । २०७० सालमा कांग्रेसले केही क्षेत्रमा पुनरागमनको संकेत देखाए पनि मधेशकेन्द्रित दलहरूको प्रभाव र स्थायी गुटबन्दीका कारण कांग्रेस खुम्चिएको सर्लाहीका सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार डा. सरोज कुमारले बताए । २०७४ को निर्वाचनमा संघीय संरचनाअनुसार नयाँ क्षेत्र विभाजन भए । मधेसी जनाधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकीकरणपछि बनेको जसपा मधेशको प्रमुख शक्ति बन्यो । २०७९ सम्म आइपुग्दा जनमत पार्टीको उदयले पुरानो समीकरण फेरि फेरियो । विशेषगरी सप्तरी र सिराहामा जनमतले प्रभावशाली मत प्राप्त ग‍र्न सफल भयो । कांग्रेस भने मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये ११ वटा क्षेत्रमा प्रतिस्पर्धीसमेत देखिएन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत परिणाममा मधेश प्रदेशमा नेपाली कांग्रेसले ४ लाख ३४ हजार ९७१ मत प्राप्त गरे पनि ११ वटा निर्वाचन क्षेत्रमा भने निराशाजनक परिणाम निकालेको छ । सप्तरी १ मा कांग्रेस चौथो लोकप्रिय दल बनेको निर्वाचन आयोगको मत परिणाममा देखिन्छ । जनमतले २२ हजार ३२७ मतसहित पहिलो लोकप्रिय मत प्राप्त गर्दा जसपा दोस्रो, एमाले तेस्रो र कांग्रेस १० हजार ३९९ मतसहित चौथो स्थानमा देखिन्छन् । सप्तरी २ मा पनि जनमत २९ हजार ८०२ मतसहित पहिलो पार्टी बन्दा कांग्रेस २ हजार ६१६ मतसहित सातौं स्थानमा रहेको छ । सप्तरी-४ मा पनि जनमतले १५ हजार १२३ मत प्राप्त गर्दा कांग्रेस ९ हजार ९२३ मतसहित चौथो स्थानमा रहेको छ । सिराहा-२ मा २०५६ सम्म बलियो रहेको कांग्रेस २०७९ मा प्रतिस्पर्धीसमेत देखिँदैन । यहाँ जनमत १६ हजार १६० मतसहित पहिलो र एमाले १३ हजार ३८५ मत सहित दोस्रो भएको छ । कांग्रेस भने १३ हजार ३८५ मतसहित तेस्रो भएको थियो ।  सिराहा–४ मा जनमत पहिलो, जसपा दोस्रो, एमाले तेस्रो हुँदा कांग्रेस चौंथो लोकप्रिय दल बनेको थियो । महोत्तरी–१ मा २०७९ मा कांग्रेस पाँचौं स्थानमा रह्यो । यस क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो जनमत तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो भएको थियो ।  यस्तै, महोत्तरी–३ मा कांग्रेस पाँचौं दल बनेको छ । महोत्तरी-४ मा तेस्रो स्थानमा खुम्चिएको छ । कांग्रेस  सर्लाही–३ मा पाँचौं, बारा–३, मा तेस्रो र बारा–४ मा चौथो बनेको थियो । नेपाली कांग्रेसले बुधबार मधेशमा आयोजना गरेको प्रतीज्ञासभामा सभापति गगनकुमार थापा ।  किन खुम्चियो कांग्रेस ? राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार पहिचान र प्रतिनिधित्वको राजनीति मधेशमा कांग्रेस खुम्चिने कारण बनेको छ । कांग्रेसमाथि मधेशी मुद्दामा स्पष्ट र विश्वसनीय धार दिन नसकेको आरोप रहेको उनी बताउँछन्।  घिमिरेले स्थानीय नेतृत्व संकटले पनि मधेशमा कांग्रेसका लागि तगारोको काम गरेको बताउँछन् । धेरै क्षेत्रमा पुराना नेताको प्रभाव घट्दै जानु र नयाँपुस्ता निर्माण हुन नसक्नु मधेशमा कांग्रेसको ओरालो यात्राको कारक बन्यो । संगठनात्मक शिथिलता र अन्तर्घातले पनि मधेशमा कांग्रेसलाई क्षति पु¥याएको महोत्तरीका कांग्रेस सभापति नागेन्द्र यादवको मत रहेको छ । थापाको मधेश प्रवेश आशा कि जोखिम ? कांग्रेस सभापति थापाको मधेशबाट उम्मेदवारी पार्टीका लागि टेस्ट केस बनेको छ । यसका सम्भावित सकारात्मक प्रभावसमेत रहेका छन् । डा. सरोज कुमारका अनुसार युवा मतदाता आकर्षण र संगठन पुनर्संरचना गगनको मधेश आगमनका सकारात्मक प्रभाव हुन् । थापाको आगमनले राष्ट्रिय मुद्दा र मधेशी एजेन्डाबीच समन्वय र सन्तुलन हुने उनको विचार छ । तर, गगन आगमनको सम्भावनासँगै चुनौती पनि रहेको विश्लेषक घिमिरेको मत रहेको छ । यहाँ मधेशी पहिचानको विश्वास जित्नुपर्ने दबाबमा गगन थापा रहेका छन् ।  जनमत र जसपाको बलियो संरचनामा खेल्नु थापाका लागि सहज नभएको घिमिरेले बताए । उनका अनुसार थापाको व्यक्तिगत लोकप्रियताले केही सिटमा असर पार्न सक्छ । तर, संरचनागत कमजोरी सुधार नगरेसम्म मधेशमा कांग्रेस पुनरुत्थान कठिन छ । 

मधेशपछि सुदूरपश्चिममा पनि रास्वपाको उद्घोष सभा, सम्बोधनका लागि पुगे रवि र बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा पनि उद्घोष सभा गरेको छ । रास्वपाले सुदूरपश्चिमको धनगढीबाट उद्घोष सभा आयोजना गरेको हो ।  यसअघि मधेशमा बृहत परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो । सो सभामा रास्वपाका सभापति रवि लामिछाने, र वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरु सहभागी भएका थिए । आज सुदूरपश्चिममा पनि रास्वपाका नेताहरु पुगेका छन् ।  परिवर्तन उद्घोष सभामा सुदूरपश्चिमका १६ वटै क्षेत्रका उम्मेदवार पनि कार्यक्रममा सहभागी भएका छन् । परिवर्तन सभामा केही उम्मेदवारले सम्बोधन गरिसकेका छन् भने केही सम्बोधन गर्ने क्रममा छन् ।  सभापति रवि लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका थिए । उनी बुधबार बिहान कञ्चनपुर– २ र ३ निर्वाचन क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए ।  उनले सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप गर्ने दाबी गरेका थिए । 

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।      पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।      उनले भने, 'पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'      पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रवक्ता कार्कीले बताए ।     

कैलाली-१ मा ५० मुनिका १४ उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको कैलाली–१ मा चुनावी सरगर्मी क्रमशः बढ्दै गएको छ । मतदातामा अझै खुला रूपमा चुनावी ज्वरो नदेखिए पनि उम्मेदवारहरू भने गाउँ-टोलदेखि बजारसम्म अभियानलाई तीव्र बनाइरहेका छन् ।  यसपटकको रोचक पक्ष के छ भने ५० भन्दा कम उमेरका १४ जना उम्मेदवार मैदानमा उत्रिएका छन्  । निर्वाचन आयोगको विवरणअनुसार नेपाली कांग्रेसका जनक चौधरी ४९ वर्षका छन् । उनी क्षेत्रीय राजनीतिमा परिचित अनुहार हुन् । संगठन निर्माण र थारू समुदायसँगको सम्बन्धलाई आफ्नो बलियो आधार मान्ने चौधरीले विकास, रोजगारी र कृषिमा आधुनिकीकरणलाई प्रमुख एजेण्डा बनाएका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने ४७ वर्षका छन् । संगठनात्मक रूपमा बलियो संरचना र पार्टीको स्थायी मताधारमा टेकेर न्यौपाने घरदैलो अभियानमा सक्रिय छन् । एमालेले राष्ट्रिय मुद्दासँगै स्थानीय पूर्वाधार विकासलाई जोड दिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोमल ज्ञवाली पनि ४७ वर्षकी छन् । वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै उनी सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाउँदै युवा र शिक्षित मतदातामाझ प्रभाव बढाउने प्रयासमा छन् । यस प्रतिस्पर्धाका अर्का कान्छा उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लोकेन्द्र कुँवर ३६ वर्षका छन् । राजसंस्था र सनातन हिन्दू राष्ट्रको मुद्दासँगै स्थानीय विकास र पहिचानको एजेण्डा बोकेर उनी मैदानमा छन् । युवापुस्ताको प्रतिनिधित्व र स्पष्ट वैचारिक लाइनलाई आफ्नो पहिचान बनाएका कुँवर सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । यस क्षेत्रको चुनावी दौडमा रहेका कुल १८ उम्मेदवारमध्ये चौधरी, न्यौपाने, ज्ञवाली र कुँवर बाहेक अरू दश जना उम्मेदवार पनि ५० वर्षभन्दा तल्लो उमेर समूहका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सुनिता भण्डारी २५, श्रम संस्कृति पार्टीका विमलकुमार डगौरा ४०, नेकपा माओवादीका रामबहादुर विक ३५ र आम जनता पार्टीकी रुपा चौधरी ३६ पनि ४० भन्दा कम उमेरका उम्मेदवार हुन् ।  स्वतन्त्र उम्मेदवारहरू अरुण ठकुल्ला, तपेन्द्र शाह, नरेश रावल, राजेन्द्र बहादुर शाही र सत्यनारायण भट्टराई पनि सोही उमेर समूहका रहेका छन् । यस निर्वाचन क्षेत्रमा जम्मा ४ उम्मेदवार मात्रै ५० माथिका छन् । कैलाली–१ भौगोलिक रूपमा तराई क्षेत्र भए पनि यहाँ विविध जातीय र सामाजिक संरचना विध्यामान रहेको छ । थारू समुदायको उल्लेखनीय उपस्थिति, पहाडबाट बसाइँ सरेका परिवार, दलित तथा मधेसी समुदाय, मुस्लिम मतदाता र सुकुम्बासी बस्तीहरू यहाँको सामाजिक बनोट हो । नेकपा एमालेका जिल्ला कमिटी उपसचिव  चुडामणि भट्टका अनुसार यहाँको चुनावी परिणाममा तीन मुख्य कारक निर्णायक मानिएका छन् । थारू समुदायको झुकाव, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको मुद्दा र युवा तथा पहिलो पटक मतदान गर्ने मतदाताको निर्णय निर्वाचन परिणाममा प्रभाव पार्ने मुख्य फ्याक्टर भएको भट्ट बताउँछन् । स्थानीय कमला ओझाका अनुसार थारू समुदाय परम्परागत रूपमा विभिन्न दलमा विभाजित भए पनि व्यक्तित्व र स्थानीय सम्बन्धका आधारमा मत सर्ने सम्भावना रहन्छ । कांग्रेस उम्मेदवार चौधरी थारू समुदायबाटै भएकाले उनलाई यस समूहबाट स्वाभाविक समर्थन मिल्ने आँकलन गर्न सकिने ओझाको मत रहेको छ । तर, एमाले र रास्वपाले पनि थारू युवामाझ सक्रियता बढाएका छन् । ओझाका अनुसार सुकुम्बासी र अव्यवस्थित बसोबासको सवाल पनि यस क्षेत्रको मुल मुद्दा हो । कैलाली–१ मा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको संख्या उल्लेखनीय छ । वर्षौंदेखि लालपूर्जा नपाएका परिवारहरू अहिले पनि कानुनी स्वामित्वको प्रतीक्षामा रहेकोले उनीहरूको मुद्दाले चुनावमा राम्रो प्रभाव पार्ने ओझाको दाबी छ । कांग्रेसले भूमिसम्बन्धी आयोगमार्फत प्रक्रिया अघि बढाउने प्रतिबद्धता दोहोर्याएको छ । एमालेले ओली सरकारको पालामा सुरु गरिएका पहलहरूलाई निरन्तरता दिने दाबी गरेको छ । रास्वपाले भने राजनीतिक हस्तक्षेपभन्दा कानुनी र पारदर्शी प्रक्रिया आवश्यक रहेको बताउँदै आएको छ । स्थानीय जानकारहरू भन्छन्, ‘सुकुम्बासी मत संगठित रूपमा एकतर्फी भयो भने परिणाममा ठूलो प्रभाव पर्न सक्छ ।’ कैलाली–१ का युवामाझ वैदेशिक रोजगारीको लहर तीव्र छ । भारत, खाडी मुलुक र मलेसियामा ठूलो संख्यामा कामका लागि यहाँका युवा गएका छन् । गाउँमा खाली घर र वृद्ध महिलाको संख्या बढेकोले कांग्रेसले यो समस्या समाधान गर्न पहल गर्ने जिल्ला समन्वय समिति प्रमुख समेत रहेकी कांग्रेस नेता टीका कुमारी चौधरी बताउँछिन् । रास्वपाकी उम्मेदवार ज्ञवाली स्थानीय उद्यम, कृषिमा आधारित उद्योग र स्टार्टअप प्रोत्साहन आफ्नो एजेण्डा रहेको बताउँछिन् । एमाले उम्मेदवार न्यौपाने पूर्वाधार विकास र लगानी बढाएर रोजगारी सिर्जना गर्ने एजेण्डा अघि सार्छन् । न्यौपानेले साना तथा मझौला उद्योगलाई प्रोत्साहन र सीपमूलक तालिम विस्तारको प्रतिवद्धता जनाएका छन् । कैलाली–१ को अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ । धान, गहुँ, तोरी, तरकारी उत्पादन भए पनि बजार व्यवस्थापन र मूल्य सुनिश्चिततामा समस्या देखिन्छ । किसानहरू मल, बीउ र सिँचाइको अभाव रहेको गुनासो गर्छन् । स्थानीय किसान समेत रहेका शम्भु चौधरी भन्छन्, ‘चुनाव आउँदा सबैले किसानको कुरा गर्छन् तर मलको लाइन कहिल्यै घट्दैन ।’ कृषि उपजको उचित मूल्य, कोल्ड स्टोरेज, सिँचाइ नहर मर्मत र बाढी नियन्त्रण यहाँका स्थायी मुद्दा हुन् । उम्मेदवारहरूले घोषणापत्रमा यी विषय समेटिए पनि मतदाताले कार्यान्वयनको सुनिश्चितता खोजिरहेका छन् । कैलाली–१ नदी कटान र बाढीको जोखिममा पर्ने क्षेत्र हो । यहाँ वर्षायाममा डुबानको समस्या दोहोरिन्छ । तटबन्ध, पुल, सडक स्तरोन्नति र सहरी व्यवस्थापन प्रमुख आवश्यकता हुन् । एमालेले संघीय सरकारमार्फत ठूला पूर्वाधार योजनाको निरन्तरता दिने बताएको छ । कांग्रेसले स्थानीय तहसँग समन्वय गरी तटबन्धन विस्तार र सडक स्तरोन्नति गर्ने योजना अघि सारेको छ । रास्वपाले बजेट पारदर्शिता र समयमै काम सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ । नेकपाका नेतासमेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुसाल आफूहरूले पूर्वाधारमै केन्द्रित रहेर मत माग्ने बताउँछन् ।   कैलाली–१ निर्वाचन क्षेत्रमा जोशीपुर, टीकापुर र भजनीका वडाहरू पर्छन् । यहाँका मुख्य नदीखोलामा मोहना नदी र खुटिया खोला पर्दछन् । वर्षायाममा यी नदीले बाढीको सम्भावना बढाउँछन् भने कृषि क्षेत्र र सडकलाई असर पार्ने भएकोले अधिकांश उम्मेदवारका मुद्दामा नदी कटान परेको देखिन्छ । टीकापुर–जोशीपुर–भजनी सडक र स्थानीय लिंक सडकहरूले गाउँपालिका र बजारलाई जोड्दछन् । यी सडक सुधार र स्तरोन्नति परियोजना अन्तर्गत छन्, जसले क्षेत्रीय आवागमन र विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ,’ एमाले उपसचिव भट्टले भने । यस पटकको निर्वाचनमा पहिलो पटक मतदान गर्ने युवा मतदाता उल्लेख्य छन् । सामाजिक सञ्जालमार्फत अभियान, लाइभ अन्तरक्रिया, डिजिटल पोस्टर र छोटो भिडियोमार्फत उम्मेदवारहरूले युवालाई आकर्षित गर्न खोजिरहेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाताले परम्परागत दलभन्दा उम्मेदवारको व्यक्तित्व र विश्वसनीयतालाई बढी महत्त्व दिन सक्छन् । रास्वपा र राप्रपा युवा मत तान्न सक्रिय छन् भने कांग्रेस र एमालेले आफ्नो परम्परागत मताधार जोगाउँदै युवा पंक्तिलाई जोड्ने रणनीति अपनाएका छन् । कैलाली–१ मा प्रत्यक्ष प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने परम्परा रहे पनि यसपटक रास्वपाको उपस्थिति समीकरण बदल्ने कारक बन्न सक्छ । स्थानीय कमला ओझा भन्छिन्, ‘यदि रास्वपाले उल्लेखनीय मत कटायो भने परम्परागत दलको मत विभाजनबाट परिणाम अप्रत्याशित हुन सक्छ ।’ युवा र वैचारिक समर्थनको आधार सीमित भए पनि राप्रपा उम्मेदवार कुँवरको केही क्षेत्रमा प्रभाव पार्न सक्ने स्थानीय बताउँछन् । स्थानीय मतदाता समेत रहेकी ओझा कांग्रेसको बल थारू आधार, स्थानीय संगठन र स्थिर मत हो भने एमालेको संगठित संरचना, राष्ट्रिय प्रभाव र प्रतिस्पर्धी आधार उसका शक्ति हुन् । रास्वपाको युवा लहर र असन्तुष्ट मत गेम चेन्जर बन्ने सम्भावना रहेको ओझाको मत छ । राप्रपाको वैचारिक मत सीमित तर निर्णायक र प्रभावकारी हुने आँकलन ओझाको छ । हालसम्म खुलेर चुनावी लहर नदेखिए पनि घरदैलो गरिरहेका उम्मेदवारलाई मतदाताले कडा प्रश्न सोधिरहेका छन् । पाँच वर्षपछि फेरि यही कुरा दोहोरिन्छ कि  भन्ने संशय धेरैमा देखिन्छ । एक स्थानीय व्यापारी भन्छन्, ‘हामीलाई भाषण होइन, काम चाहिएको छ ।’ एमाले कैलालीका उपसचिव भट्ट कैलाली–१ मा यसपटकको चुनाव पचासमुनिको प्रतिस्पर्धा मात्र होइन, पुस्तान्तरणको संकेत पनि भएको दाबी गर्छन् । युवा उम्मेदवारहरू, स्थानीय मुद्दामाथिको केन्द्रित बहस र वैकल्पिक शक्तिको उपस्थितिले परिणामलाई रोचक बनाएको रास्वपा उम्मेदवार ज्ञवालीको कथन छ । कैलाली-१ को मत परिणामले सुदूरपश्चिमको राजनीतिक दिशामा महत्वपूर्ण सन्देश दिने विश्लेषकहरू बताउँछन् ।

‘नयाँको नाराले’ले मोरङ-२ मा पूर्वमन्त्री र मेयरलाई चुनौती

काठमाडौं । देशका अन्य निर्वाचन क्षेत्रजस्तै मोरङ–२ मा पनि केही उम्मेदवारहरूबीच झिनो मतान्तरले प्रतिस्पर्धा र हारजित हुने अंक गणित देखिएको छ । सो क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने अहिलेसम्मको चुनावी माहोल र रणनीतिले देखाएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेको बढी मतदाता भएको यो क्षेत्रमा अहिले नयाँ र परिवर्तनको नाराले समीकरण फेरबदल गरिदिएको छ । नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा पराजित भएपछि रिजालले मन्त्री पदबाट राजीनामा दिए । रिजाल पार्टीको महामन्त्रीमा पराजित भएपछि केही समय मौन र गुमनाम बने ।  रिजाल केही समय पार्टीमा सक्रिय थिएनन् । उनी अध्ययन र आफ्नै कर्ममा व्यस्त थिए । तर, जब शेरबहादुर देउवाले रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरे त्यसपछि पार्टीको गतिविधिमा खुले । जिल्ला–जिल्ला दौडमा पुग्ने उनी कोइराला समूहमा बसे । पार्टीका जिल्ला, क्षेत्रीय तथा गुटगत भेलामा सक्रिय रुपमा डा. शेखर कोइराला समूहमा देखा पर्न थाले ।  पछिल्लो समय रिजाल कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा थिए । १५ औं महाधिवेशन समयमा नहुने देखिएपछि विशेष महाधिवेशनको माग बढ्यो । उनी पनि खुलेरै विशेष महाधिवेशन पक्षधरको विरोधमा थिए ।  निर्वाचन आयोगले विशेष पक्षधरलाई मान्यता दिएपछि उनी आयोग परिसरमा अन्य नेतासँगै विरोध गर्न पुगेका थिए । विशेष पक्षधरले मान्यता पाएपछि सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको टिकट लिएर उनी जिल्ला पुगे । गत निर्वाचनमा भने उनलाई शेरबहादुर देउवाले टिकट दिएनन् । उनको बदलामा सुजाता कोइरालाले टिकट पाएकी थिइन् ।  शेरबहादुरको विरोधमा उत्रेका कारण पनि उनले गत निर्वाचनमा टिकट पाएका थिएनन् । उनी तत्कालीन अवस्थामा देउवा विरोधी खेमा उभिएका थिए । रिजाल देउवा क्याम्प छाडेर कोइराला समूहमा प्रवेश गरेपछि देउवाको चर्को आलोचक थिए । उनले  १४ औं महाधिवेशनमा अब निकास दिन नसक्ने भएपछि शेरबहादुर देउवाको काम नभएको भनेर अन्तर्वार्तामा समेत बोलेका थिए । देउवाले टिकट दिएका सुजताले मोरङ २ मा ३१ हजार ९४० मत प्राप्त गरेकी थिइन । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दा समेत हार बेहोरेकी थिइन । उनी पार्टीमा लामो समयसम्म सभापति रहेका स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । यो पटक उनै कोइरालाले हार बेहोरेकी क्षेत्रमा रिजाल छन् । उनी पार्टीभित्र विद्वान र सक्षम नेताको रूपमा चिनिन्छन् । त्यसैले पनि विशेष महाधिवेशन पक्षधरले उनलाई टिकट प्रदान गरेको हो । २०७४ को निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए । यो पटकको निर्वाचनमा उनले व्यक्तिगत रुपमा एजेण्डा बोकेका छैनन् । पार्टीले पनि एजेण्डा सार्वजनिक नगरिसकेको अवस्थामा यतिखेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पार्टीमा उनलाई बौद्धिक तथा अध्ययनशील नेताको रूपमा मानिन्छ । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका छन् ।  फरक दलका कार्यकर्ताले पनि रिजालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । मोरङको २ नम्बर क्षेत्र मध्य पुर्वी भागमा रहेको छ । तर यो पटक उनलाई पुराना दलका उम्मेदवारको भन्दा नयाँ दलको उम्मेदवारबाट त्रास छ ।  गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए । देशभरै परिवर्तनको आवाज उठिरहँदा यो पटक भने रिजाललाई नयाँको चुनौती थपिएको छ ।  दुई पटक मेयर, अब सांसद बन्ने रहर नेकपा एमालेले भने स्थानीयबासी तथा रंगेली नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । अग्रवाल मेयरमा दुई पटक निर्वाचित भइसकेका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल २०७९ मा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले कांग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरेका थिए । अग्रवाल १२ हजार ८६१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए । दुई–दुई पटक मेयर भएकाले पनि २ नम्बर क्षेत्रमा अग्रवालको प्रभाव रहेको मानिएकाले एमालेले उनलाई टिकट दियो । २ नम्बर क्षेत्रबाट गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका थिए । उनले ३३ हजार १४८ मत प्राप्त गरी सुजाता कोइरालालाई हराएका थिए ।  एमालेका उम्मेदवार अग्रवाल मतदाताको घरदैलोमा मेयर भएर काम गरेको अनुभव सुनाउँदै र नियम कानुन बनाउन जाने भन्दै मत मागिरहेका छन् । संविधान संशोधन र स्थानीयस्तरको विकासका एजेण्डालाई बोकेको अग्रवालले बताए ।  यहाँका समस्याहरू संघीय संसद र प्रदेश सरकारलाई जानकारी गराउने एजेण्डा बोकेको अग्रवालले बताए । मेयर भएर यस क्षेत्रमा काम गरिसकेकाले मतदाताले काम गर्न सक्ने भएकाले आफूलाई विजयी गराउने उनको दाबी छ । ‘२ नम्बर क्षेत्रका लागि विकास गर्न पर्याप्त बजेट लगाउनलाई सरकारसँग पहल गर्नेछु,’ उनले भने,’ मेयर हुनुभन्दा सांसद बन्न धेरै गाह्रो छ । मेयर रहँदा काम गरिएको थियो तर संसद बनेपछि संविधान र जनताको विषयमा मात्र बोल्न पाइन्छ ।’  साना–ठूला सबै दलका उम्मेदवारलाई कमजोर सम्झन नहुने अग्रवालको भनाइ छ । ‘मेयर हुँदा कार्यकारी भएर बस्यो अब भने ऐन बनाउने लाग्नेछु,’ उनले भने । परिवर्तनको नारा बन्दै चुनौती  यो पटक मुलुकभर ठूला दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौती बनिरहेको छ । किनभने मतदाताले परिवर्तन खोजेको आवाज बुलन्द बनाइरहँदा त्यसको माध्यम रास्वपालाई ठानिएको छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा भने रास्वपाले थप मत बढाउने विश्वास गरिएको छ । रास्वपाले २ नम्बर क्षेत्रमा कृष्ण कुमार कार्कीलाई उठाएको छ । उनी स्थानीय भएकाले पनि स्थानीय समस्या बुझेको उनको दाबी छ । पार्टीको एजेण्डा बोकेर मतदाताको घरमा पुगिरहेको कार्कीले बताए । यद्यपि पार्टीले एजेण्डा अगाडि नसारे पनि कार्की भने पार्टीले अगाडि सारेको सुशासन, भ्रष्टाचारको न्यूनीकरणसहित देश तथा समाज निर्माण पहल गर्ने बताए । सबैभन्दा बढी स्थानीय क्षेत्रको समस्यालाई बोकेर संघीय संसद र सरकारमा जाने उनको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा सहजै पुर्‍याउने एजेण्डा लिएको कार्कीले सुनाए । उम्मेदवार को-को छन् ? यस निर्वाचन क्षेत्रमा मुख्यगरी कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार बनेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन् । यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार मोरङ-२ मा १ लाख २९ हजार १८४ मतदाता रहेका छन् । महिला मतदाता ६१ हजार ५९०, पुरुष ६७ हजार ५९३ र अन्य १ जना छन् । मतदान स्थल ६८ र मतदान केन्द्र १५४ वटा रहेको छ । कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा यस क्षेत्रमा पर्छन् ।

राजनीतिक जीवनकै जोखिमपूर्ण चुनावमा माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल यसपटक प्रतिनिधि सभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट  मैदानमा छन् । विगतमा उनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिँदै आएको यो क्षेत्र यसपटक भने सबैभन्दा रोचक, प्रतिस्पर्धी र अनिश्चित सिटमध्ये एक बनेको छ ।  राजनीतिक समीकरण, गठबन्धनको अभाव, स्थानीय असन्तुष्टि र नयाँ मतदाताको मनोविज्ञानका कारण नेपालका लागि यो चुनाव सामान्य पुनरावृत्ति मात्रै होइन, करिअरकै कठिन राजनीतिक परीक्षाको रूपमा हेरिएको छ । रौतहट मधेश प्रदेशको सामाजिक–आर्थिक रूपमा पिछडिएको जिल्ला मानिन्छ । गरिबी, बेरोजगारी, डुबान, कमजोर पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको अभाव यहाँका दीर्घकालीन समस्या हुन् । रौतहट–१ मा विशेष गरी बागमती नदीको डुबान, पुलको अभाव, कच्ची सडक, सिँचाइ र रोजगारी मतदाताको मुख्य सरोकार बनेका छन् । यस क्षेत्रका मतदातामा परम्परागत मधेसी समुदायको बाहुल्यता रहेको छ । यो क्षेत्रको मुख्य पहिचान भनेकै किसान र मजदुर वर्गको बाहुल्यता हुनु हो ।  माधवको शक्ति र सीमा माधवकुमार नेपाल अनुभवी र राष्ट्रिय राजनीतिमा गहिरो पकड भएका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री तथा लामो समय कम्युनिष्ट आन्दोलनको केन्द्रीय अनुहार रहँदै आएका छन् । यही अनुभव उनको सबैभन्दा ठूलो शक्ति हो । राष्ट्रिय तहमा पहुँच, अनुभव, वामपन्थी मतदातामा पुरानो प्रभाव र पार्टी विभाजनपछि पनि संगठित कोर समर्थकहरू नेपालका मुख्य शक्ति रहेको बुझिन्छ ।  तर, प्रतिनिधिसभाको निर्वाचन २०८२ मा नेपाल अघिल्ला चुनावमाजस्तो सशक्त अवस्थामा नरहेको स्थानीयहरूको अनुमान छ । यस पटक नेपालको मुख्य कमजोरी विगतमा जस्तो गठबन्धनको औपचारिक साथ नहुनु रहेको स्थानीय व्यवसायी रविन विष्ट बताउँछन् ।  पुराना नेताप्रतिको आकर्षण कम भएको भन्ने भावनाले पनि यसपटक नेपाललाई क्रमशः रेड जोनतर्फ लगेको मान्नेहरू पनि छन् । स्थानीय स्तरमा ठूला, प्रत्यक्ष देखिने विकास कामको अभाव र युवा मतदातामा कमजोर आकर्षणले पनि नेपालको विजयमा असहजता ल्याउन सक्ने आंकलन गरिएको छ । त्यसैले यस क्षेत्रमा नेपाल अझै बलिया उम्मेदवार भए पनि पहिलेजस्तो सुरक्षित अवस्थामा भने नरहेको स्थानीयहरूको बुझाइ छ । को हुन् मुख्य प्रतिस्पर्धी ? नेकपा एमालेका अजयकुमार गुप्ता नेपालका लागि सबैभन्दा ठूलो तगारो बन्न सक्ने उम्मेदवार रहेको ठानिएको छ । एमालेको संगठित संरचना, अनुशासित मतदाता र नेपालले काम नगरेको आरोपलाई गुप्ताले चुनावी हतियार बनाउँदै मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झा पनि यस क्षेत्रका बलिया खेलाडी हुन् । कांग्रेस यस क्षेत्रमा परम्परागत रूपमा मध्यम बलियो मानिन्छ । मधेसी समुदायमा कांग्रेसप्रतिको ऐतिहासिक झुकाव अझै जीवित छ। मधेसी मतदातामा पहुँच र राम्रो सामाजिक नेटवर्क भएका कांग्रेसका उम्मेदवारका कारण पनि यस पटक नेपालले अप्ठ्यारोको सामना गर्नुपर्ने अवस्था आएको नेकपाकै एक नेताले स्वीकार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र उम्मेदवारले पनि नेपालको प्रतिनिधि सभा यात्रालाई चुनौती दिएको ठानिएको छ । यी उम्मेदवारहरूले खासगरी युवा, परिवर्तन चाहने र पुराना दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेका छन् ।  रास्वपाका राजेशकुमार चौधरी नेपालसहित गुप्ता र झाका लागि पनि राम्रो चुनौती बन्न सक्छन् । यस्तै, मधेशका परम्परागत मतदातालाई जसपा र जनमुक्ति पार्टीले तान्दा उक्त क्षेत्रको मत पूर्वानुमान अझ जटिल बन्दै गएको पाइएको छ ।  उनीहरूको जित्ने हैसियतमा नभए पनि नतिजा बदल्ने क्षमता राख्ने स्थानीयहरूको मत रहेको छ । स्थानीय मतदाताहरूले सुनाएको अनुमानित मत विभाजनमा नेपाल, झा र गुप्ता उस्ताउस्तै अवस्थामा रहेका छन् ।  उनीहरूका अनुसार हाल देखिएको ट्रेन्डका आधारमा अनुमानित मत हिस्सा तीनवटै उम्मेदवारको २५–२५ प्रतिशतको हाराहारीमा रहेको पुराना व्यापारी विष्टले जानकारी दिए । विष्टका अनुसार रास्वपा, जसपा र स्वतन्त्रले करिब २५ प्रतिशत हिस्सा बराबरको मत प्राप्त गर्न सक्छन् । उनका अनुसार स्पष्ट बहुमत कसैसँग छैन । २ देखि४ हजार मतको अन्तरले नतिजा पल्टिन सक्ने अवस्था रहन सक्छ । स्थानीय राजु महतोले सम्भावित निर्णायक मतदाता समूह मधेसी किसान र मजदुर समुदाय रहेको बताए । उनी यो समुदायलाई सबैभन्दा ठूलो र निर्णायक समूह मान्छन् । विष्टका अनुसार डुबान, पुल, सिँचाइ र रोजगारीजस्ता मुद्दाले पनि मतपेटिकाको मत परिणाममा प्रभाव पार्न सक्छन् । रास्वपा समर्थित युवा सागर चौधरीका अनुसार यस क्षेत्रका करीब २० प्रतिशत युवा मतलाई जसले होल्ड गर्न सक्छ उही उम्मेदवार विजयी हुनसक्ने सम्भावना पनि रहेको छ । चौधरीका अनुसार बेरोजगारी र वैदेशिक रोजगारी रास्वपाका मुख्य मुद्दा हुन् । युवाहरूको रास्वपा र स्वतन्त्रतर्फको झुकाव नै माधव नेपालका लागि सबैभन्दा ठुलो चुनौती रहेको चौधरीले जानकारी दिए । स्थिरता भर्सेज परिवर्तन सामाजिक सञ्जालमा पुराना नेता असफल भन्ने आवाज चर्को छ । तर ग्राउन्डमा अझै पनि स्थानीय प्रभावशाली व्यक्ति, समुदाय र प्रत्यक्ष सम्पर्क निर्णायक देखिन्छ । अनलाइन ट्रेन्ड र भोटिङको व्यवहारबीच अझै अन्तर रहेको महतोको दाबी छ । स्थानीय मतदाता विष्टका अनुसार यो निर्वाचन नेपालका लागि सुरक्षित छैन, तर खेल अझै सुरु भएको पनि होइन । उनका अनुसार रौतहट–१ मा नेपाल अझै फ्रन्ट–रनर हुन्, तर यो चुनाव उनको राजनीतिक जीवनकै सबैभन्दा प्रतिस्पर्धी र जोखिमपूर्ण चुनावमध्ये एक बनेको छ ।  नेपालले २०७९ को चुनावमा ३३ हजार ५२२ मत पाउँदै ५२.३७ प्रतिशत मतको हिस्सासहित विजयी भएका थिए । यो मत उनका निकटतम प्रतिद्वन्द्वीको भन्दा ६ हजार ६०० मतले धेरै हो । तर यसपटक नेपालका लागि अघिल्लो चुनावजस्तो सहज नहुने प्रष्ट देखिन्छ ।  यसैले स्थानीय मतदाताहरूले नेपालका लागि यो चुनाव जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउँछन् ।  

मोरङ–१ मा अनुभव, प्रशासन र परिवर्तनको त्रिकोणात्मक भीडन्त

काठमाडौं । एकातिर संसदमा किसानका मुद्दा बुलन्द पार्दै आएका अनुभवी नेता, अर्कोतिर स्थानीय सरकार हाँकेको प्रशासनिक अनुभव बोकेका उम्मेदवार र ‘अब पुराना होइन, नयाँ अनुहार चाहिन्छ’ भन्ने नारा बोकेर मैदानमा उत्रिएका चुनौतीकर्ता । मोरङ–१ मा यसपटकको निर्वाचन यिनै तीन धारमा केन्द्रित हुने देखिएको छ । मतदाताले अनुभवलाई रोज्ने कि परिवर्तनको जोखिम उठाउने भन्ने प्रश्नले मोरङ–१ को चुनावी माहोल थप रोचक बनाएको छ । ‘जीटुजी गरेर होस् कि जसरी भए पनि मल ल्याऔं । मल कहिलेबाट किसानले पाउँछन् ? किसानको अवस्था त खस्किँदो अवस्थामा गयो । किसानले रत्नपार्कमा आएर हलो बोकेर आन्दोलन गर्ने दिन नआओस् । म किसानको आवाज बोलिरहेको छु,’ संसदमा किसानको पक्षमा आवाज उठाउँदै पूर्वसांसद घनश्याम खतिवडाले भनेका थिए । उनै किसानको आवाज उठाउने सांसद खतिवडा मोरङ– १ मा उम्मेदवार बनेका छन् । व्यक्तिगत रूपमा उनी सामाजिक र राजनीतिक चेतनाको संवाहक मानिन्छन् । पूर्वशिक्षकसमेत रहेका उनीसँग विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव छ । संसदमा हुँदा उनले किसान र तल्लो तहका मानिस तथा आमनागरिकको समस्या उठान गर्थे । तिनै खतिवडा कोशी प्रदेश एमालेका अध्यक्षसमेत हुन् । ओली निकट खतिवडा हाल मोरङ १ को चुनावी मैदानमा छन् ।  २०७० को प्रतिनिधिसभा निर्वाचनमा खतिवडा ३७ हजार ५२४ मत प्राप्त गरी विजयी भएका थिए । मोरङको उत्तरी भेगमा पर्ने मोरङ– १ लाई एमालेको बलियो आधार भएको क्षेत्र मानिने गरिन्छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने खतिवडा नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुसँग पराजित भए ।  फागुन २१ गते हुने निर्वाचनमा भने उनी गत निर्वाचनमा बेहोर्नु परेको हारलाई विजयमा बदल्ने दाउमा छन् । उनी लेटाङ नगरपालिका निवासी हुन् । शिक्षक, भूमिगत राजनीतिक कार्यकर्ता, तत्कालीन स्थानीय निकायको प्रतिनिधि हुँदै सामुदायिक वन र सहकारी अभियानमा समेत खतिवडाले काम गरेका छन् । जनमुखी काम गरेर अगाडि बढ्ने एजेण्डा बोकेको खतिवडा बताउँछन् । ‘स्थानीय विकास गर्नका लागि मजबुत नीति बनाउन पहल गर्नेछु,’ खतिवडाले भने, ‘जनतामुखी काम गर्नुपर्ने छ । सुशासनको पक्षमा वकालत गर्नु नै मेरो मुख्य एजेण्डा हो ।’ स्थानीय मतदाताको जीवनलाई सहज बनाउन आफूले काम गर्ने खतिवडाको भनाइ छ । मोरङ १ मा परिवर्तनको ठूलो हावा नचलेको दाबी उनको छ । ‘विगतको चुनावमा भन्दा यसपटक थोरै चुनौती ठानेको छु,’ उनले भने, ‘प्रतिस्पर्र्धी उम्मेदवारलाई मैले कमजोर ठानेको छैन ।’ कुनै पनि उम्मेदवार वा दललाई गाली नगरी मतदाताको घरमा पुगिरहेको उनको भनाइ छ । गाली र घृणा गरेर मलाई मत बटुल्ने चाहना नभएको उल्लेख गर्दै उनले राजनीतिलाई पेशा नभई सेवा बनाएकाले मतदाताको मत प्राप्त गर्ने बताए । अगिल्लो निर्वाचनमा २७ हजार २९७ मत प्राप्त गरी विजयी भएका नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले भने यसपटक टिकट पाएनन् । विशेष महाधिवेशनको पक्षमा नखुल्दा उनले टिकट नपाएका हुन् । उनी युवा तथा खेलकुदमन्त्रीसमेत भएका थिए । कांग्रेसबाट मोरङ– १ मा टिकट खड्ग फागोले पाएका छन् । उनी उर्लाबारी नगरपालिकाको पूर्वमेयरसमेत हुन् । २०७९ को स्थानीय निर्वाचनमा उनी ११ हजार ६३२ मत प्राप्त गरी उर्लाबारी नगरको मेयरमा निर्वाचित भएका थिए।  उनी नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्रीसमेत हुन् । फागो मोरङ तथा कोशी प्रदेशमा हक्की र निडर स्वभावका राजनीतिज्ञको रूपमा परिचित छन् । स्थानीय सरकार सञ्चालनको प्रत्यक्ष अनुभव, संकट व्यवस्थापनको व्यवहारिक अभ्यास र कानुनी प्रशासनिक प्रक्रियासँगको निकट संलग्नताले आफूलाई प्रतिनिधिसभाका लागि उपयुक्त बनाएको फागो बताउँछन् । उनी सडक, कृषि, सिँचाइ र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको एजेण्डा बोकेर मतदाताको घर आँगनमा पुगिरहेका छन् । ‘स्थलगत रूपमा देखिएका समस्याहरूलाई टिपोग गरेर मतदातासँग छलफल गर्छु,’ फागोले भने, ‘निर्वाचित भएको खण्डमा बजेट भाषणअघि मतदातासँग छलफल गरेर समस्याको समाधान गर्न अगाडि बढ्नेछु ।’ आफ्नो निर्वाचन क्षेत्र तराईदेखि पहाडसम्म पर्ने भएकाले पहाडमा उत्पादन भएका वस्तुहरू बजारीकरण गर्नलाई पहल गर्ने उनी बताउँछन् । मतदाताले कांग्रेसको उम्मेदवारलाई मत दिएर परिवर्तन गर्न खोजेको उनले बताए ।  ‘अन्य दलका मतदाताले मलाई दिन्छन् भने त्यो मत परिवर्तनको संकेत हो ।  प्रतिस्पर्धीको रूपमा मैले कुनै पनि उम्मेदवारलाई ठानेको छैन,’ फागोले भने ।  त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट यज्ञमणि न्यौपाने मैदानमा छन् । उनी सभापति रवि लामिछानेको विशेष अधिवक्ता पनि हुन् । पार्टीभित्र लामिछाने निकट भएकाले उनले मोरङ १ मा टिकट प्राप्त गरेका हुन् । उनी यस अगाडि  १ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले पाउँदै आएको मत आफूले पाउने बताउँछन् । पुराना दलबाट निराश र आजित भएका मतदाताहरूले न्यौपानेलाई भोट हाल्न सक्ने स्थानीय बताउँछन् । न्यौपाने वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घटाउन स्वदेशमै नयाँ–नयाँ कार्यक्रमहरू ल्याउने एजेन्डासहित घरदैलोमा व्यस्त छन् । त्यस्तैगरी, खोला किनारामा अव्यवस्थित बसोबास गरिरहेकालाई उचित व्यवस्थापन गरी लालपुर्जा दिने कानुन बनाउने वाचा पनि उनले गरेका छन् । त्यसैगरी, उनले खानेपानी र सडकका मुद्दालाई पनि आफ्नो एजेन्डा बनाएका छन् । त्यस्तै, चिस्यान केन्द्रको विकास गर्ने पनि एजेन्डा बनाएका छन् । अन्य उम्मेदवारहरू  खतिवडा, फागो र न्यौपानेबाहेक नेपाली कम्युनिस्ट पार्टीका कुलप्रसाद साम्बा, राप्रपाबाट पूर्णबहादुर वाइबा तामाङ, मंगल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बु, जनमुक्ति पार्टीबाट फिवराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गा कुमारी तामाङ,  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा, मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बु, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) बाट डिल्ली राम नेपाली उम्मेदवार रहेका छन् । त्यस्तै ईश्वर वाग्ले, पशुपति घिमिरे, प्रेम बर्देवा, मिलन भण्डारी र याम प्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार मोरङ १ मा १ लाख २८ हजार ५४५ मतदाता रहेका छन् । महिला ६५ हजार ५३ र पुरुष ६३ हजार ४९२ मतदाता छन् । मतदान स्थल ६० र मतदान केन्द्र १५१ वटा छन् । १ नम्बर क्षेत्रमा ४ वटा स्थानीय तह छन् । उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, केरा गाउँपालिका र मिक्लाजुङ गाउँपालिका रहेका छन् ।

दैलेख–२ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ ४० वर्षे इतिहास

काठमाडौं । दैलेखको पश्चिम क्षेत्र दैलेख–२ को विगत चार दशकको राजनीतिक इतिहास हेर्दा यो क्षेत्र सधैं बहुदलीय प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको देखिन्छ । २०४८ देखि २०७९ सम्म सम्पन्न सातवटा प्रतिनिधि सभा निर्वाचनमध्ये तीनपटक नेपाली कांग्रेस, तीनपटक नेकपा एमाले र एकपटक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यस क्षेत्रमा विजय हासिल गरेका छन् । यसले दैलेख–२ लाई कर्णालीकै राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धी निर्वाचन क्षेत्रका रूपमा चिनाएको छ । २०४८ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका रङ्गबहादुर शाहीले १६ हजार १८२ मतसहित जित निकाल्दा नेमकिपाका उम्मेदवार विनोदकुमार शाहले ११ हजार ८४८ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा एमालेका प्रेमबहादुर भण्डारीले ७७९ मत मात्रै पाएका थिए । २०५१ मा भने नेमकिपाका उनै विनोदकुमार शाह १३ हजार ६४० मतसहित निर्वाचित भए । त्यस चुनावमा कांग्रेस र राप्रपा क्रमशः दोस्रो र तेस्रो भए । पछि शाह एमाले प्रवेश गरेसँगै दैलेखमा नेमकिपाको प्रभाव क्रमशः कमजोर बन्दै गयो भने एमालेले प्रभाव बढाउँदै लग्यो । त्यसपछि कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा स्थापित हुन पुग्यो । २०५६ को निर्वाचनमा एमाले विभाजनको राम्रो प्रभाव दैलेखमा देखियो । कांग्रेसका शिवराज जोशी १८ हजार ८८२ मतसहित विजयी हुँदा एमालेबाट उम्मेदवार बनेका विनोदकुमार शाह १४ हजार ४४८ मत प्राप्त गरी पराजित भए । सो निर्वाचनमा अहिलेका एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल मालेबाट चुनाव लड्दै चौथो स्थान प्राप्त गर्न सफल भए ।  २०६० को दशकपछि कर्णालीका अन्य जिल्लामा माओवादीको उदय भए पनि दैलेख–२ मा भने एमाले प्रमुख शक्तिका रूपमा उभिन सफल भयो । दुल्लु विद्रोहको प्रभावका कारण माओवादी यहाँ निर्णायक बन्न नसकेको स्थानीयहरू बताउँछन् । कर्णालीमा माओवादी लहर आउँदा यस क्षेत्रमा २०६४ मा एमालेका राजबहादुर बुढा १६ हजार २९२ मतसहित निर्वाचित भए । २०७० मा एमालेकै लक्ष्मीप्रसाद पोखरेलले चुनाव जिते भने २०७४ मा वाम गठबन्धनका तर्फबाट बुढाले दोस्रोपटक २३ हजारभन्दा बढी मतसहित जित हात पारे ।  २०७९ मा भने वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दीक्पालकुमार शाही १६७ को झिनो मतान्तरले विजयी भएका थिए । शाहीका निकटतम प्रतिस्पर्धी एमालेका पोखरेलले २० हजार १६ ल्याएका थिए । २०७९ को समानुपातिक मत परिणाम हेर्दा यस क्षेत्रमा एमाले सबैभन्दा अगाडि देखिएको छ । एमालेले १७ हजार ३१६ मत ल्याएको थियो । कांग्रेसले १५ हजार ५०४ मत पाउँदा तत्कालीन नेकपा माओवादी केन्द्रले ६ हजार ३५४ मत ल्याएको थियो ।  ८१ हजार ९९ मतदाता रहेको यस क्षेत्रमा आगामी चुनावमा मत प्रतिशत घट्ने आँकलन गरिएको छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार मैदानमा रहेका छन् ।  एमालेका लक्ष्मी प्रसाद पोखरेल अघिल्लो पराजयको बदला लिने दाउमा रहँदा कांग्रेसका दिक्पाल कुमार शाही जित दोहोर्याउने दाउमा छन् । नेकपाका योगेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बखतबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ववितकुमार शाही र नेमकिपाका बखतबहादुर थापा मैदानमा रहेका छन्। स्थानीयका अनुसार सबै दल एक्लाएक्लै मैदानमा उत्रिएका कारण १५ हजारभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुने सम्भावना रहेको छ । यद्यपि अन्तिम प्रतिस्पर्धा भने फेरि पनि एमाले र कांग्रेसबीच हुने देखिएको एक स्थानीय दावी गर्छन् । मत रुझानको आधारमा एमाले करिब ४५ सयदेखि ५ हजार मतले अगाडि देखिएको एमाले नेताहरूको बुझाइ रहेको छ । एमालेले आफ्नो आधार मत सुरक्षित गर्न सके परिणाम आफ्नो पक्षमा पार्न सक्ने एमाले नेता विष्णु रिजालको मत रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार शाही पनि आफूलाई जितको नजिक ठान्छन् । उनी भन्छन्, ‘बदलिएको कांग्रेसले देश बदल्न सक्छ । त्यसका लागि दैलेखमा कांग्रेसले जित्नुपर्छ ।’ यस अघिको जितले नै आफ्नो जित सुनिश्चित गरेको शाहीको दावी छ ।

ताप्लेजुङमा थेबेको परीक्षा, जोगाउलान् एमालेको विरासत ?

काठमाडौं । ताप्लेजुङमा यस पटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा विभिन्न राजनीतिक दल र उम्मेदवारहरू आफ्नो पक्षमा मत बढाउने होडबाजीमा छन् । नयाँ अनुहारदेखि दोहोरिएका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको र व्यक्तिगत एजेण्डा लिएर मतदाताको आँगनमा उम्मेदवारहरू पुगिरहेका छन् । ‘निर्वाचनमा उम्मेदवारहरू भाषण गर्दै हिँड्छन् । उम्मेदवारहरू मिलेर टेबलमा खुला बहस गरौं । एजेण्डामा दैनिक छलफल गरौं, बहस गरौं, त्यहीँ भोटिङ पनि गरौं । एजेण्डा बहसलाई गाउँ र मतदाताको सम्म पुर्याऔं,’ दश महिनाअघि युवासंघका तत्कालीन अध्यक्ष क्षितिज थेवे एक अन्तर्वार्तामा भन्दै थिए ।  उनै थेवे अहिले  ताप्लेजुङमा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनले एक पोडकास्टमा भनेका थिए, ‘राम्रोलाई जिताऔं र राम्रो एजेण्डा भएका उम्मेदवारले जित्नुपर्छ ।’  ताप्लेजुङमा योगेश भट्टराईले टिकट पाउँदै आएका थिए । यसपटक भने उनले टिकट पाएनन् । जनजाति तथा लिम्बु समुदायको बाहुल्यता रहेको ठाउँमा एमालेले उनै लिम्बुको छोरालाई टिकट दिइसकेको छ ।  केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा योगेश भट्टराईले जित्ने अवस्था नरहेको बताएका थिए । यसअघि उक्त क्षेत्रबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए । भट्टराईले गत निर्वाचनमा २१ हजार ९४३ मत प्राप्त गरेर विजयी भएका थिए । ताप्लेजुङमा एमालेले समानुपातिकतर्फ १९ हजार ६०४ मत प्राप्त गरेको थियो । विगतमा प्राप्त गरेको मतलाई लिएर ताप्लेजुङमा एमाले पुनः हौसिएको छ । एमालेको केन्द्रीय सदस्यसमेत रहेका थेबे अध्यक्ष ओलीको निकट मानिन्छन् । उनी दुई पटक युवासंघको अध्यक्ष भइसकेका छन् । पार्टीका गतिविधिमा पास भएका उनी यो पटक जनताको परीक्षामा पास हुने दाउमा छन् । भट्टराईले २०७४ र २०७९ मा जितेको हुनाले थेबे जित्नैपर्ने बाध्यतामा पनि छन् । एमालेलाई पहिचानविरोधी पार्टी भनेर चिनिने भएकाले थेवेले पहिचान पक्षधरलाई आफ्नो पक्षमा पार्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य विषय रहेको स्थानीय बताउँछन् । संगठनको हिसाबले ताप्लेजुङलाई एमालेको उर्वर भूमि मानिन्छ । जित हासिल गर्ने लक्ष्यसहित थेवे यतिबेला चुनावी प्रचार प्रसारमा मस्त छन् । उनले सँगसँगै चुनावी एजेण्डा पनि लिएर हिँडेका छन् ।  तमोर करिडोरको विकास, ग्रामीण सडक सञ्जाल विस्तार, कृषि तथा जडीबुटीको व्यावसायिक उत्पादन, पाथीभरा र कञ्चनजङ्घा क्षेत्रको दिगो पर्यटन विकासलाई थेवेले प्राथमिक एजेन्डा बनाएका छन् ।  साथै जिल्लाबाट वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता जाहेर गरेका छन् ।  ताप्लेजुङमा विशेष गरी एमालेका थेवे, नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याङ लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट खेलप्रसाद बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा हुने देखिएको स्थानीय बताउँछन् । गत निर्वाचनमा गठबन्धनको तर्फबाट तत्कालीन माओवादीका उम्मेदवार खेलप्रसाद क्षेत्री उठेका थिए । उनले २१ हजार ७३५ मत प्राप्त गरेका थिए । उनै क्षेत्री यसपटक नेकपाको तर्फबाट दोहोरिएका छन् । उनी पार्टीको मुख्य एजेण्डासहित चुनावी मैदानमा होमिइसकेका छन् । मतदातासँग भेटघाटमा लागिसकेका उनले प्राकृतिक रूपमा पछाडि परेको जिल्लालाई विकासका पूर्वाधार खडा गरेर अगाडि बढाउने एजेन्डा राखेका छन् । ताप्लेजुङ जलस्रोतको धनी भएकाले हाइड्रोको विकासलाई पहिलो प्राथमिकतामा राखेको उम्मेदवार क्षेत्रीले बताए । ‘विविध जातजातिको समिश्रण भएकाले सबैको संस्कृति जोगाउने पहिलो कर्तव्य रहन जान्छ,’ उनले भने, ‘भ्रष्ट्राचार विरोधी अभियानलाई पहिलो प्राथमिकतालाई राखेर काम गर्नेछु । यहाँ विशेष गरेर अलैंची खेती रहेकालाई उत्पादन तथा प्रवर्द्धन गर्नेछु ।’ ताप्लेजुङ धार्मिक पर्यटकीय स्थलको रूपमा प्रसिद्ध रहेको उनले बताए । ‘धार्मिक पर्यटक भित्र्याउने विभिन्न योजनाहरू ल्याएर आम्दानीको स्रोत बढाउने काम गर्नेछु,’ उनले भने । कांग्रेस उम्मेदवार लिम्बु यो चुनावमा नेपाली कांग्रेसलाई पुनःस्थापित गर्ने दावी गर्छन् । ‘अगिल्लो चुनावमा गठबन्धनका कारण रुख चिन्ह हराएको थियो । यो चुनावमा हामीले रुखलाई पुनःस्थापित गर्छौं,’ उनले भने । यसपटक गठबन्धन नभएकाले कांग्रेसमा राम्रो भोट आउने उनको दावीसमेत छ । तमोर करिडोरको विकास र जलविद्युत आयोजना निर्माणमा सहजीकरण गरेर स्थानीयका लागि रोजगारी सिर्जना गर्ने लिम्बुको मुख्य एजेन्डा हुन् । त्यस्तै, श्रम संस्कृति पार्टीको तर्फबाट सन्तोष राई उम्मेदवार छन् । उनी व्यक्तिगत एजेण्डाबिना मतदाताको घरआँगनमा पुगिरहेका छन् ।  एजेण्डा लिएर गए पनि मतदाताले नपत्याउने भएकाले व्यक्तिगत एजेण्डा नभएको राईको भनाइ छ ।  ‘निर्वाचित भएमा मतदाताको घरआँगनमा गएर समस्या सुनेर समाधान गर्नेछु,’ उनले भने ।   पुराना दलले जस्तै हामीजस्ता नयाँ दलले मतदातालाई ढाँट्न नहुने उनको भनाइ छ । ‘श्रम संस्कृतिलाई सबैले अंगाल्नु पर्ने भएकाले हाम्रो एजेण्डा श्रमको महत्त्व बुझाउनु हो,’ उनी भन्छन्  आफूले नजिते पनि श्रम संस्कृति पार्टी किङ मेकर रहेको पनि स्थानीयको भनाइ छ । अन्य उम्मेदवारहरू : अरुन सुब्बा (लेछर्वो) जनता समाजवादी पार्टी,  इन्द्र कुमार लिम्बू  नेपाल जनमुक्ति पार्टी, ईन्द्रप्रसाद थापा  राष्ट्रिय प्रजातन्त्र पार्टी, किर्ती मान मादेन उज्यालो नेपाल पार्टी, नरपति पौडेल  नेपाल कम्युनिष्ट पार्टी माओवादी, वीरेन्द्र श्रेष्ठ रास्वपा, मुकसाम लाबुङ, लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सन्तबहादुर लिम्बु मंगोल नेशनल अर्गनाइजेशन, सन्तोष राई श्रम संस्कृति पार्टी र जनता समाजवादी पार्टी नेपालबाट सुर्य गुरुङ रहेका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङमा ९० हजार ३२७ मतदाता रहेका छन् । महिला मतदाता ४२ हजार ४२ र ४८ हजार २८५ मतदाता छन् । मतदान स्थल ८० र मतदान केन्द्र १ सय २७ वटा छन् । सामान्य मतदानस्थल २७, संवेदनशील २५ र अति संवेदनशील २८ वटा मतदानस्थल रहेको छ ।

टफसिटमा एमालेका महिला उम्मेदवारको नेतृत्व परीक्षा

काठमाडौं । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनका लागि नेकपा एमालेले अघि सारेका महिला उम्मेदवारहरू संख्या र प्रभाव दुवै हिसाबले सीमित भए पनि राजनीतिक अर्थमा उनीहरूको उपस्थितिलाई हल्का रूपमा लिन मिल्दैन । एमालेबाट उम्मेदवार बनेका धेरैजसो महिलाहरूका लागि उनीहरूको निर्वाचन क्षेत्र सुरक्षित छैन । बरु, पार्टीले अधिकांश महिला उम्मेदवारलाई कडा प्रतिस्पर्धा हुने ‘टफ’ निर्वाचन क्षेत्रमा मैदानमा उतारेको छ । जहाँ उनीहरूले आफ्नो भविष्य खोजिरहेका छन् ।  एमालेले प्रत्यक्ष निर्वाचनमा १० महिला उम्मेदवार मैदानमा उतारेको छ । बर्दिया–२ मा विमला विक, बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने मैदानमा छन् । यस्तै, पर्सा–२ बाट रिमाकुमारी यादव, बारा–३ बाट ज्वालाकुमारी साह र महोत्तरी–४ बाट नीलम अधिकारीले उम्मेदवारी दिएका छन् ।  त्यस्तै, धनुषा–३ बाट जुलीकुमारी महतो महासेठ, ओखलढुङ्गाबाट अस्मिता थापा, सोलुखुम्बुबाट कल्पना राई र सुनसरी–३ बाट भगवती चौधरी एमालेका महिला उम्मेदवार रहेका छन् । बर्दिया–२ मा एमालेकी विमला विक महिला, दलित र युवामाझ लोकप्रिय नेतृ मानिन्छिन् । स्थानीय मतदाताले उनलाई समाजसेवी, प्रत्यक्ष संवाद गर्ने र क्षेत्रीय मुद्दामा सक्रिय नेता समेत भन्छन् । तर उनको सामना कांग्रेसका किशोरसिंह राठौर, नेकपाका सुरेश पन्थ र रास्वपाका सुशील चौधरीसँग छ ।  यो क्षेत्र थारु बहुल भएकोले जातीय समीकरणले निर्णायक भूमिका खेल्ने देखिन्छ । स्थानीय कृष्णप्रसाद पाण्डेका अनुसार यहाँ केवल पार्टीको समर्थन मात्रै पर्याप्त नहुने भएकोले व्यक्तिगत छवि र समुदायसँगको सम्बन्धले मत आकर्षणमा निर्णायक भूमिका निभाउँछ । बागलुङ–२ की मञ्जु शर्मा स्थानीयस्तरमा लोकप्रिय नेतृ हुन् । शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा देखाएको सक्रियताले उनलाई जनविश्वासमा स्थापित गरेको स्थानीय हिरामणि आचार्य बताउँछन् । उनका प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ज्ञामनाथ गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्मा हुन् । यस क्षेत्रमा शर्मालाई पार्टीमा आधारित मतमा  मात्र निर्भर हुने छुट छैन ।  शर्माले व्यक्तिगत जनसम्पर्क र विश्वासलाई मतमा कसरी रूपान्तरण गर्छिन् त्यसैले सिंहदरबारको यात्रा तय गराउने स्थानीयको मत रहेको छ ।  शर्माको सामाजिक कार्य, महिला समुदाय र युवाहरूसँगको प्रत्यक्ष संवाद निर्णायक सावित हुनसक्ने स्थानीयहरूको सुझाव रहेको छ । भगवती न्यौपानेका लागि तनहँ–१ राजनीतिक रूपमा कठिन मानिन्छ ।  यहाँ गोविन्द भट्टराई र स्वर्णिम वाग्लेजस्ता स्थापित पुरुष नेतासँगको उनको प्रतिस्पर्धा हुँदैछ । स्थानीय देवेन्द्र अधिकारीका अनुसार यो क्षेत्रमा न्यौपानेको जित केवल पार्टी मतमा निर्भर छैन । क्रस–भोट र असन्तुष्ट मत कुन उम्मेदवारतर्फ तानिन्छ भन्नेले नै अन्तिम नतिजा निर्धारण गर्न प्रमुख कारक बन्ने अधिकारीको मत रहेको छ । मधेशका चुनौतीपूर्ण क्षेत्रहरूमध्येको पर्सा–२ मा एमाले उम्मेदवार रिमाकुमारी यादवले मधेसकेन्द्रित दल र काँग्रेसको प्रभावसँग जुध्नुपर्ने देखिन्छ । यस क्षेत्रमा कांग्रेसका अजयकुमार चौरासिया, रास्वपाका सुशील कानु र नेकपाका मनोज चौधरीसँग यादवको प्रतिस्पर्धा हुँदैछ ।  बारा–३ मा ज्वालाकुमारी साहको मुख्य चुनौती जातीय समीकरणको सन्तुलन कायम राख्नु हो । यसअघि समेत सांसद र मन्त्री रहेकी साह यस क्षेत्रकी प्रभावशाली उम्मेदवार मानिन्छिन् । साहको बाटोमा कांग्रेसका फरमुल्लाह मन्सुर रहेका छन् । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्सुर हेभीवेट उम्मेदवार हुन् । मन्सुरबाहेक रास्वपाका अरविन्द साह र नेकपाका भरत साह पनि ज्वालाका लागि अवरोध हुन सक्छन् । महोत्तरी–४ मा एमालेको उपस्थिति कमजोर रहेकाले नीलम अधिकारीले धेरै नै जोड गर्नुपर्ने स्थानीय बताउँछन् । अधिकारीको सिंहदरवार यात्रामा अर्की महिला उम्मेदवार रास्वपाकी गौरीकुमारीसहित कांग्रेसका महेन्द्र यादव र नेकपाका भरत साह पनि अवरोध हुन सक्छन् ।  यस्तै, धनुषा–३ मा जुलीकुमारी महतो महासेठको सफलता स्थानीय पहिचान, जातीय सञ्जाल र समुदायमा प्रत्यक्ष पहुँचमा निर्भर रहने विश्लेषण गरिएको छ । यहाँ नेपाली कांग्रेसका हेभीवेट विमलेन्द्र निधि र रास्वपाका मनिष झा पहाड बनेर उभिएका छन् । एमालेले लुम्बिनी र मधेसजस्तै पहाडी र हिमाली जिल्ला ओखलढुङ्गामा अस्मिता थापा र सोलुखुम्बमा कल्पना राईका लागि व्यक्ति केन्द्रित प्रचार निर्णायक हुने बुझाइ स्थानीयको रहेको छ । ओखलढुंगामा पार्टीको आधार बलियो भए पनि अन्तिम मत परिणाम उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय सम्बन्ध र क्षेत्रीय समर्थनमा निर्भर रहने स्थानीय बताउँछन् ।यस क्षेत्रमा थापाका लागि कांग्रेसका कुमार लुइँटेल, नेकपाका अम्बिर गुरुङ र रास्वपाका विश्वराज पोखरेल प्रमुख प्रतिस्पर्धी हुन् ।  सुनसरी–३ मा भगवती चौधरीले महिला मुद्दा उठाई अप्रत्याशित परिणाम निकाल्ने सम्भावना रहेको स्थानीय बताउँछन् । सोलुमा कल्पना राई पनि एमालेकी अर्की महिला उम्मेदवार हुन् । पहिलो पटक संघीय संसदको उम्मेदवार बनेकी राईसँग चुनावी यात्रामा उत्रेका अन्य उम्मेदवार पनि उनीजस्तै नयाँ छन् । राईलाई काउन्टर गर्न कांग्रेसले प्रकाशसिंह कार्की र रास्वपाले ऋषिधन राईलाई मैदानमा उतारेको छ । सुनसरी– ३ मा भगवती चौधरीले गत निर्वाचनमा पाँच दलीय गठबन्धनका हेभीवेट उम्मेदवार कांग्रेसका विजयकुमार गच्छेदारलाई पराजित गरेकी थिइन् । यसपटक गच्छेदार अघिल्लो पराजयको वदला लिने दाउमा छन् भने चौधरी विजयको निरन्तरताको तयारीमा छिन् । यस क्षेत्रमा चौधरीलाई रास्वपाका अशोक चौधरी र नेकपाका दुर्गेश चौधरीले पनि कडा टक्कर दिने देखिन्छ ।  यो निर्वाचन एमालेका महिला उम्मेदवारहरूका लागि चुनाव व्यक्तिगत जीत या हार मात्र होइन, नेपाली राजनीतिमा महिला नेतृत्वको सम्भावनाको परीक्षासमेत हो। यदि केही उम्मेदवार सफल भए त्यो केवल पार्टीका लागि होइन, समग्र राजनीतिक परिदृश्यमा महिला सशक्तिकरणका लागि निर्णायक मोड बन्न सक्छ । 

जेनजीले माग गरेको पुस्ता हुँ, मसँग स्पष्ट भिजन छ’ : बदन भण्डारी {अन्तर्वार्ता}

पूर्वसञ्चारकर्मी बदन भण्डारी २० वर्षदेखि सामाजिक तथा राजनीतिक जीवनमा सक्रिय छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव हुन् । उनले काभ्रेपलाञ्चोकको २ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाबाट उम्मेदवारी दिएका छन् । उनी जनताहरूले पुराना दलसँग आशा गरेको नगरेकाले संसदमा अब नयाँ पुस्ताले प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिन्छन् । हाल उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । पुराना दलका उम्मेदवारभन्दा फरक विचार र ऊर्जा भएको दावी गर्ने उनै भण्डारीसँग विकासन्युकर्मी अतिन आचार्यले गरेको संक्षिप्त संवाद : मतदातासँग मत माग्दै गर्दा उहाँहरूले तपाईंसँग के-के अपेक्षा राख्नुभएको छ ? हामीलाई देखेर उहाँहरू निकै उत्साहित हुनुहुन्छ । उहाँहरूको निष्कर्ष पटक–पटक गरेको मत दुरुपयोग भयो, हाम्रो मत लगानी हो । सुशासन, विकास र परिवर्तन हाम्रो चाहना रहेका कुराहरू मतदाताहरूले भनिरहनु भएको छ । वैकल्पिक र परिवर्तनकामी शक्तिलाई मत हाल्न मतदाताहरू आतुर हुनुहुन्छ । अधिकांश मतदाताहरू रास्वपालाई मतदान गर्न चाहनुहुन्छ । नयाँ शक्तिलाई हेर्ने मनोविज्ञानमा हुनुहुन्छ ।  मतदाताको घरदैलोमा पुग्दा तपाईंले के–कस्ता एजेण्डा लिएर जानु भएको छ ? मतदाताको घरमा पुग्दा उहाहरूसँग ठूलो अपेक्षा राखेको पाइनँ । पूर्वाधारको विषयमा चासो राख्नु भएको छ । जनप्रतिनिधि भनेको राज्यसँग जोड्ने पुल पनि हो ।  संविधानले गैरसांसदलाई सरकारमा पुग्ने परिकल्पना गर्दैन । यिनै निर्वाचित व्यक्तिहरू सरकारमा पुग्ने हुन् । हामी सरकारमा पुग्दा जनताको समस्यालाई मिहिन ढंगले अध्ययन गरेर समाधान गर्नेछौं । काभ्रे भनेको कृषिप्रधान भूगोल हो । किसानलाई मल र उत्पादित वस्तुको बजारीकरणको अभाव रहेको छ । किसानको वस्तुले मूल्य पाएको छैन । लागत मूल्यभन्दा कम मूल्यमा पाउने गरेका छन् । तरकारीको बजारीकरण होस् भन्ने छ । समयमा मल पुर्याउने तथा उत्पादित वस्तुको बजारीकरणको अपेक्षा छ । कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा विकास गर्नु मेरो मुख्य एजेण्डा हो । पर्यटन र कृषिमा प्रचुर सम्भावना रहेको ठाउँ भएकाले यी दुई विषयमा बढी काम गर्ने बताउँदै आएको छु । उम्मेदवारी दर्ता गराउँदै बदन भण्डारी । तपाईं सांसदमा विजयी हुनुभयो भने के–के गर्ने योजनामा हुनुहुन्छ ? रास्वपाबाट काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको छु । जेनजी आन्दोलनपश्चात बनेको सरकारले गराउन लागेको निर्वाचन हो । सुशासन र भ्रष्टाचारको अन्त्य मेरो पहिलो एजेण्डा बन्ने छ । नीतिगत ढंगले केके काम गर्न सकिन्छ त्यसमा केन्द्रित रहनेछु । पूर्वाधारको विकासमा नीतिगत कुराहरूले धेरै बाधा अड्चन पुर्याएको छ । स्वास्थ्य, शिक्षा, खानेपानी तथा अन्य संरचनाको विकासमा लाग्नेछु । शिक्षा र स्वास्थ्यको समस्या जस्ताको तस्तै छ । देखिएका समस्यालाई समाधान गर्न तत्काल तत्पर रहनेछु । शिक्षा तथा स्वास्थ्यमा निजीकरण भएको छ, त्यसमा राज्य सहयात्री भएकाले न्यूनीकरण लाग्नेछु । राज्य दलाल र निजीकरणबाट चलेको छ । स्वास्थ्यमा पनि बीमाको नीतिगत कुराहरू लागू गराउनु पर्नेछ । तपाईंको क्षेत्रमा धेरै उम्मेदवारहरू हुनुहुन्छ होला । रोचक प्रतिस्पर्धा हुने देखिएकाले तपाईंले मुख्य गरेर कसलाई प्रतिस्पर्धी मान्नु भएको छ ? मैले कसैलाई मुख्य प्रतिस्पर्धी मानेको छैन । जेनजी आन्दोलनले पुराना दलसँग आशा गरेको छैन । मैले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्नुपर्छ । मैले आफ्नो खाका बनाएर लागेको छु । हामी निर्वाचन जित्ने कुरामा ढुक्क छौं । जनताहरूको मत नै हाम्रो लागि निर्णायक बन्ने छ । हाम्रो प्रतिस्पर्धा उन्नत काभ्रे बनाउन हुनेछ । यसभन्दा अघिका जनप्रतिनिधिले गर्न नसकेका कामहरूमा प्रतिस्पर्धा हुनेछ । यद्यपि चुनावी मैदानमा रहेकाले दलसँग लड्नुपर्ने छ । तर यहीँ उम्मेदवार यहीँ दल भन्ने कुनै पनि छैन । हामी विजयको नजिक छौं । प्रक्रियागत रूपमा अगाडि बढिरहेका छौं । अन्य उम्मेदवार र तपाईंबीच के फरक छ ? जेनजी आन्दोलनले युवाको माग गरेको छ । अहिले पनि ६० कटेका उम्मेदवार छन् । आन्दोलनले र मुलुकले नपत्याएको उम्मेदवार छन् । म नयाँ छु । विचार भएकाले मसँग ऊर्जा छ । जेजनीले माग गरेको पुस्ता हुँ । प्रस्टसँग भिजन भएकाले म अन्यभन्दा फरक अवश्य पनि छु । नयाँ शक्ति भएकाले गर्नसक्छ भन्ने विचार कायम छ । पुराना दलसँग त्यो शक्ति क्षीण हुँदै गएको छ । उहाँहरूले बारम्बार अवसर पाउनु भएको छ । पुराना दलका उम्मेदवार परीक्षित भएकाले अन्यभन्दा फरक नै छौं । भोलिको देशलाई निर्विकल्प शक्ति दिनेको रूपमा हेरेका छौं । म वैचारिक र सैद्धान्तिक हिसाबले अब्बल रहेको छु । नागरिक शक्तिशाली छन् र लोकतन्त्रमा विचार नै शक्तिशाली हुन्छ भन्ने लाग्छ । काभ्रेली मतदाताले नयाँ र पुराना मतदाताको भिन्नता बुझ्नुहुनेछ भनेर विश्वास लिएको छु । निर्वाचन महँगो हुँदै गएको टिप्पणी भइरहन्छ । तपाईंले नयाँ दलको उम्मेदवार भएकाले कति खर्च हुँदै हुनुहुन्छ र खर्चको स्रोत के हो ? निर्वाचन आयोगले मेरो क्षेत्रमा ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरेको छ । ३३ लाखभन्दा कम खर्चमा निर्वाचन सम्पन्न गर्नेछु । अझ म त ५–१० लाख खर्च गर्ने योजनामा छु । अहिले भने मेरो व्यक्तिगत खातामा बचत गरेर राखेको पैसा खर्च गरिरहेको छु । मतदाताको घरमा पुग्दा पनि यातायातमा खर्च हुन्छ, प्रचारप्रसारमा खर्च हुन्छ । मेरा साथीभाइ तथा आफन्तहरूले मलाई सहयोग गर्नु भएको छ । खाना खर्चमा मितव्ययिता अपनाइएको छ । धेरै साथीहरूले खाएको पैसा आफै तिर्ने गर्नु भएको छ ।  निर्वाचन आयोगले भनेअनुसार बैंकमा खाता खोलेर खर्च गर्नेछु । कमभन्दा कम खर्च गरेर निर्वाचनमा सहभागी भइरहेको छु । अहिलेका उम्मेदवारले चुनावी खर्चका लागि पैसा माग्न थाल्नुभएको छ । निर्वाचनताका पैसा माग्नु संस्कृति बनिसकेको छ । तपाईंले यसरी खुलेर पैसा माग्नु भयो या भएन ? निर्वाचनमा होमिँदै गर्दा विश्वभर शुभचिन्तकहरूबाट पैसा लिने चलन छ । हामीले पैसा वा सहयोग लिँदा निःशर्त लिनुपर्छ, सःशर्त लिनुहुन्न भन्ने म मान्यता राख्छु । शर्तसहित पैसा लिएमा भोलि स्वार्थ समूहले राज्य र हामीमाथि आक्रमण गर्न थाल्छन् । चन्दा लिने काम राम्रो होइन । यो एउटा संस्कृतिको रूपमा विकास भएको छ । यसलाई कुनै पनि हालतमा राम्रो मान्न सकिन्न । पैसा दिएमा उम्मेदवार खुसी हुने र चाहेको अवस्थाम काम लिन सक्ने भनेर मानिसले उम्मेदवारको प्रयोग गर्न सक्छन् । निःस्वार्थ भावनाले प्राप्त भएको पैसा लिँदा असर पर्दैन । सांसद मन्त्री बनेपछि उनीहरूको महँगो जीवनशैलीको व्यापक आलोचना हुँदै आएको छ । सांसद बनेपछि तपाईंको जीवनशैली पनि त्यस्तै हुने हो कि ? आजजनताको गुनासो जनप्रतिनिधिप्रति छ– उहाँहरू मत माग्न आउनुहुन्छ तर विजयी भएर गएपछि फर्केर आउनुहुन्न । जनप्रतिनिधिले जनताको घरमा आउने/जाने गर्नुपर्छ । मतदाताको घरमा जाँदा हामीलाई सहज हुन्छ । जनताको घरआँगनमा पुग्दैमा कोही नेता तथा सांसदहरू साना हुँदैनन् । म सामान्य जीवनशैली अपनाउनेछु । गाउँबाट आएको जनप्रतिनिधि हुनाले गाउँलाई कहिल्यै पनि बिर्सन्न हुन्न भन्ने मान्यता राखेर हिँडेको छु । समाजका सबै तह र तप्काका मानिसहरूसँग नीति निर्माणको विषयमा छलफल गर्नेछु । सार्वजनिक सुनुवाइ गर्ने तथा मन्थन गर्नुपर्ने भएकाले जनप्रतिनिधिको मन बदलिनु हुन्न भन्ने पक्षमा रहेको छु । राजनीतिलाई पेशा बनाएर होइन, यसलाई त उत्पादन तथा विकासमा जोड्नुपर्छ भन्ने मान्यतामा म छु । म राजनीतिमा लागेकै कारण परिवारको सदस्यलाई सुविधा दिनुहुन्न भन्ने मान्यता बोकेको छु । भ्रष्टाचार र परिवारवाद हाबी नहोस् भनी म सचेत रहनेछु । आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउने तपाईंको पार्टीको दाबी छ । देश बनाउने रास्वपाको योजना के हो ? पार्टीले घोषणापत्रमार्फत केही दिनमा आफ्नो योजना अवश्य सार्वजनिक गर्नेछ । वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरिएको छ । जेनजी आन्दोलनको मुद्दाहरू स्थापित गराउनु छ । शासकीय स्वरुप परिवर्तन गराउनुपर्ने छ । प्रदेशको संरचना खर्चिलो र भड्किलो हुनुहुँदैन भनेका छौ । अहिलेको व्यवस्थालाई टेक्दै समृद्धितर्फ अगाडि बढ्नेछौं । व्यवस्था परिवर्तन भएकाले समाज र जनताको जीवनस्तर सुधार गर्न सक्ने व्यवस्था लागू गर्नेछौं । मुख्य कुरा भ्रष्टाचार र दलाल नोकरशाहीको अन्त्य गर्ने भन्ने छ । सुशासन कायम गर्ने हाम्रो अर्को योजना हो । भ्रष्टाचार काण्डमा छानबिन गर्ने आयोग गठन गरेर मिहिन ढंगले अध्ययन गर्नेछौं । जेनजी पुस्ताको मागलाई स्थापित गरेर सबैलाई समेट्नेछौं । हाम्रो पार्टीले शिक्षा, स्वास्थ्य र समृद्धिमा अगाडि बढेर काम गर्ने कुरामा म ढुक्क छु ।

सिन्धुली–२ : मत विभाजन र पूर्वमाओवादी विवादले लेखनाथलाई असहज

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनको परम्परागत शक्ति–सन्तुलन बदलिने संकेत देखिएको छ । अघिल्ला दुई संसदीय निर्वाचनमा माओवादी धार विजयी भए पनि गठबन्धन विघटन र आन्तरिक विभाजनले यसपटक प्रतिस्पर्धा गत दुई निर्वाचनको भन्दा फरक बनेको हो । उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल २७ हजार ५१७ मतसहित निर्वाचित भएका थिए । त्यस निर्वाचनमा कांग्रेसको समर्थन माओवादीलाई थियो । तर, यसपटक कांग्रेसले आफ्नै उमेदवार अघि सारेपछि माओवादीको अघिल्लो मताधार कमजोर बन्ने देखिएको छ ।  त्यसमाथि पूर्वमाओवादी नेताहरूबीचको विवादले पनि माओवादी धारको मत विभाजन हुने सम्भावना बढाएको छ । यसले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई अप्ठ्यारोमा पार्ने निश्चितजस्तै छ ।  अघिल्लो निर्वाचनको निकटतम प्रतिस्पर्धी एमाले गठबन्धनविहीन अवस्थामा मत बढाउने दाउमा देखिएको छ । तथ्यांकले पनि पूर्वमाओवादी धारको विभाजनले नेकपा र उक्त दलका उम्मेदवार दाहाललाई सिन्धुली–२ अब सुरक्षित क्षेत्र नहुने निश्चित देखिन्छ । यसपटकको नतिजा मत विभाजनको गणितले तय गर्नेछ । दोहोरिएर निर्वाचित हुने लक्ष्यसहित नेकपाका उम्मेदवार  दाहाल चुनावी मैदानमा उत्रिएका छन् । तर, कांग्रेसको छुट्टै उम्मेदवारी र पूर्वमाओवादीभित्रको आन्तरिक विवादका कारण उनको जित सहज देखिँदैन । दाहाललाई नेकपा एमालेका मनोजजंग थापाले चुनौती दिँदै छन् । २०७९ मा पाँच दलीय गठबन्धनका बाबजुद राम्रो मत ल्याएका थापाको उम्मेदवारी दाहालका लागि सबैभन्दा ठुलो चुनौती भएको सिन्धुलीका राजनीतिक विश्लेषक द्वारिका काफ्लेले जानकारी दिए । नेपाली कांग्रेसकी उम्मेदवार सुशीला थिङ पनि यस क्षेत्रकी लोकप्रिय उम्मेदवार हुन् । उनको उपस्थितिले पनि यस क्षेत्रको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ । सिन्धुली–२ लाई लामो समयदेखि माओवादी प्रभाव क्षेत्रका रूपमा लिइँदै आएको छ । संविधान जारीपछिका संसदीय निर्वाचनमा २०७४ मा हरिबोल गजुरेल र २०७९ मा लेखनाथ दाहाल यही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गजुरेल सिन्धुली–३ बाट विजयी भएका थिए, जुन क्षेत्र संविधानपछिको पुनर्संरचनामा हालको सिन्धुली–२ बनेको हो । मैदानमा एक्लै दाहाल  २०७९ को निर्वाचनमा सत्ता गठबन्धनका कारण कांग्रेसको समर्थन पाएका दाहाल यसपटक भने एक्लै मैदानमा छन् । कांग्रेसले आफ्नै उम्मेदवार थिङलाई अघि सारेपछि लेखनाथको आधार कमजोर बन्न पुगेको ‍हो । त्यसैगरी, पूर्वमाओवादीभित्रको विवाद अर्को ठूलो चुनौती बनेको छ । तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल मिलेर बनेको नेकपाबाट लेखनाथले उम्मेदवारी दिएका भए पनि सोही धारका नेता महेश्वर दाहाल भने स्वतन्त्र उम्मेदवार बनी मैदानमा उत्रिएका छन् । महेश्वरलाई पूर्वमन्त्रीसमेत रहेका हरिबोल गजुरेलको समर्थन छ । गजुरेल पुष्पकमल दाहाल नेतृत्वको तेस्रो सरकारका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहिसकेका व्यक्ति हुन् । दुईपटक यही क्षेत्रबाट निर्वाचित गजुरेलको समर्थन नपाउनु लेखनाथको कमजोर कडीका रूपमा हेरिएको छ । गजुरेलको समर्थन पाएसँगै महेश्वरले लेखनाथको मत काट्ने परिस्थिति बनेको स्थानीयहरू बताउँछन् । एमाले र कांग्रेस दुवै बलियो दाबेदार एमालेले २०७९ कै उम्मेदवार थापालाई पुनः मैदानमा उतारेको छ । अघिल्लो चुनावमा लेखनाथले २७ हजार ५१७ मत ल्याएर जित्दा थापा २१ हजार ६८७ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । गठबन्धन टुटेको र पूर्वमाओवादी विभाजित भएको अवस्थाले यसपटक थापालाई बलियो प्रतिस्पर्धी बनाएको छ । थापाले सामाजिक एकता, संविधान रक्षा, शिक्षा, रोजगारी र आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएर मत मागिरहेको एमाले जिल्ला कमिटी सदस्य विमला पाण्डेले जानकारी दिइन् । कांग्रेसबाट उम्मेदवार बनेकी थिङ पनि चुनावी प्रतिस्पर्धामा प्रभावशाली मानिन्छिन् । विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद तथा कांग्रेस संसदीय दलकी सचेतक रहेकी थिङलाई पार्टीले यसपटक प्रत्यक्षतर्फ अघि सारेको हो । उनी कांग्रेसको ऐतिहासिक योगदान र लोकतान्त्रिक मूल्यलाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा रहेको कांग्रेस सिन्धुलीका नेता मोहन बरालले जानकारी दिए ।  तर थिङलाई पनि लेखनाथकै जस्तो उनकै दलका बागी उम्मेदवार चुनौती बनेका छन् । नेपाली कांग्रेसको दुई कार्यकाल उपसभापति रहिसकेका खड्कबहादुर वाइवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । वाइवाको उम्मेदवारी थिङका लागि चुनौती बनेको स्थानीय राजनीतिक विश्लेषक काफ्लेले जानकारी दिए । अघिल्लो चुनावको परिणाम सिन्धुली–२ अन्तर्गत कमलामाई नगरपालिकाका केही वडा, हरिहरपुरगढी, मरिण, सुनकोसी र घ्याङलेख गाउँपालिका पर्छन् । निर्वाचन २०७९ लाई हेर्दा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनतर्फ लेखनाथको जित भएपनि समानुपातिक मत परिणाममा एमाले यो क्षेत्रको पहिलो दल हो । एमालेलाई नेकपाले पछ्याएको छ भने कांग्रेस तेस्रो बनेको देखिन्छ । समानुपातिकमा एमालेले १७ हजार १४९ मत पाएको थियो । तत्कालीन माओवादीले १५ हजार ८२६ र कांग्रेसले १३ हजार ३४९ मत पाएको थियो । उक्त निर्वाचनमा चौथो भएको रास्वपाले ३ हजार ९५४ मत पाएको थियो । स्वतन्त्र र वैकल्पिक शक्तिहरू पूर्वमाओवादी नेता महेश्वर दाहाल मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशीष गजुरेल, राप्रपाबाट मुकुन्दप्रसाद गजुरेल, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु लगायत थुप्रै दल र स्वतन्त्र उम्मेदवारहरूले यस पटक मूलधारभन्दा बाहिरका वैकल्पिक शक्तिलाई मतदान गर्न आग्रह गरेका छन् ।  रास्वपाका उम्मेदवार आशीष गजुरेल आफूलाई बौद्धिक र विषयविज्ञ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सुशासन र नीतिगत सुधारको एजेण्डामा रहेका छन् । महेश्वर दाहाल भने भ्रष्टाचारविरुद्ध कडा अडान र जिम्मेवार राजनीतिक पहल आवश्यक भएको सन्देशसहित मत मागिरहेको बताउँछन् । सिन्धुली–२ मा यसपटक एमाले, कांग्रेस र पूर्वमाओवादी धारबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको विश्लेषक काफ्लेले बताए ।  स्थानीय समीकरण र अन्तिम समयमा कसले कसको मत काट्छ भन्नेमा परिणाम निर्भर रहने उनले बताए । मत विभाजनको यही सम्भावनाले सिन्धुली–२ लाई अत्यन्त प्रतिस्पर्धात्मक बनाएको काफ्लेको भनाइ छ । यस क्षेत्रमा एमाले, कांग्रेस र नेकपाबाट क्रमश: थापा, थिङ र लेखनाथ उम्मेदवार रहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशीष गजुरेल, राप्रपाबाट मुकुन्दप्रसाद गजुरेल, नेमकिपाबाट रामेश्वरी कोजु, प्रलोपा निर्मल कुमार स्याङ्तान, स्वतन्त्र महेश्वर दाहाल र खड्कबहादुर वाइवासहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

आफैलाई भोट हाल्न नपाउने प्रधानमन्त्रीका दाबेदारहरू

काठमाडौं । निर्वाचनमा हार/जित ह‍ुनु सामान्य विषय हो । एक मतको फरकले पनि हार/जितको अवस्था सिर्जना गर्छ । तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका दाबेदार उम्मेदवारहरूले आफै उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा आफैले मतदान गर्न नपाउने भएका छन् । आफू उठेको क्षेत्रभन्दा बाहिर मतदाता नामावली भएकाले उनीहरूले भोट हाल्न नपाउने भएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।  आफूलाई प्रधानमन्त्रीको दावी गर्नेहरूले आफ्नो निर्वाचन क्षेत्रमा आफैले मतदान गर्न नपाउनु विरोधाभासको उच्चतम दृष्टान्त भएको चर्चा हुन थालेको छ । यो पछिल्लो समय स्थापित हुँदै गएको अवसरवादी राजनीतिक प्रवृत्तिको प्रतिफल पनि हो । यसले नेपाली राजनीति अवसरवादतर्फ अग्रसर हुँदै गएको बताउँछन् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी । आसन्न निर्वाचनका प्रमुख दाबेदारहरूको अवस्था हेर्दा दृश्य झन् स्पष्ट देखिन्छ । जस–जसले आफूलाई प्रधानमन्त्रीको दाबेदार भनिरहेका छन् तिनै तिनैको मतदाता नामावली एकठाउँ र उम्मेदवारी अर्कै ठाउँमा रहेको छ । प्रधानमन्त्रीका दाबेदार तथा विघटित संसदमा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ । तर उनी उम्मेदवार बनेका छन् झापा–५ बाट । ओली सोही क्षेत्रका बासिन्दा हुन् । आफै हुर्केबढेको क्षेत्रबाट ओलीले आफ्नो नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा ल्याएका छन् । यस्तै, प्रधानमन्त्रीका अर्का दाबेदार तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको मतदाता काठमाडौं महानगरपालिका कालोपुलमा रहेको छ । तर थापाले उम्मेदवारी भने सर्लाही–४ बाट दिएका छन् । थापाले तीन पटक जितेको काठमाडौं ४ छोडेर सर्लाही- ४ रोजेका छन् । थापाले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । थापा विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका सभापति हुन् । काठमाडौं महानगरपालिकामा लोकप्रिय मतसहित मेयर पदमा निर्वाचित बालेन्द्र साहको मतदाता नामावली काठमाडौं महानगरपालिकाको सिनामंगलमा रहे पनि उनी झापा–५ बाट चुनावी मैदानमा छन् । रास्वपाका वरिष्ठ नेतासमेत रहेका उनले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । प्रधानमन्त्रीका अर्का दाबेदार पुष्पकमल दाहालको मतदाता नामावली चितवनको भरतपुर महानगरपालिकामा भए पनि उनी पूर्वी–रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका संयोजक दाहालले २०६४ यता कुनै पनि निर्वाचन क्षेत्रमा दोहोरिएर विजय हासिल गरेका छैनन् । प्रधानमन्त्रीको दाबेदारीमा रहेका कुनै पनि उम्मेदवारको उम्मेदवारी आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा देखिँदैन ।  मतदातासम्बन्धी ऐनअनुसार उम्मेदवार बन्न देशभित्र जुनसुकै ठाउँमा मतदाता नामावली भए पनि पुग्छ, तर मतदान गर्न भने आफ्नो नाम सूचीकृत भएको मतदान केन्द्रमै पुग्नुपर्ने व्यवस्था छ । यही कानुनी संरचनाका कारण यी सबै नेताहरूले चुनावको दिन आफ्नो नाम रहेको ठाउँमै पुगेर मात्र मतदान गर्न सक्छन् तर आफ्नो क्षेत्र छाडेर अन्यत्र गएपछि उनीहरूले मतदान गर्न पाउने छैनन् । नेताहरूले आफूले मत हाल्न नपाउने अवस्था आउँदा पनि निर्वाचन क्षेत्र परिवर्तन गर्नुका पछाडि मुख्यतः चार कारण रहेको वरिष्ठ अधिवक्ता केसी बताउँछन् । केसीका अनुसार पहिलो कारण जितको खोजी नै हो । यही अंकगणितको खेलमा नेताहरूले स्थान बदल्छन् । केसीका अनुसार नेताहरूले कमजोर प्रतिस्पर्धी, अनुकूल मतदाता र पार्टी संगठन बलियो भएको क्षेत्र रोज्छन् । जित सुनिश्चित हुने सम्भावनालाई प्राथमिकता दिँदा व्यक्तिगत मताधिकार दोस्रो स्थानमा पर्ने गरेको केसीको बुझाइ छ । दोस्रो हो, सुरक्षित सिटको राजनीति । केसीका अनुसार स्थानीय स्तरमा अनिश्चितता देखिएपछि राष्ट्रिय हैसियतका नेताहरू सुरक्षित क्षेत्रतर्फ सर्ने प्रवृत्ति बढेको छ । यसले उनीहरूलाई संसद् प्रवेश त सजिलो बनाउँछ, तर स्थानीय प्रतिनिधित्व कमजोर बनाउँछ ।  तेस्रो, पार्टी रणनीति हो । पार्टी नेतृत्वले रणनीतिक रूपमा हेभीवेट उम्मेदवार पठाएर क्षेत्र सुरक्षित गर्न खोज्छ । त्यो नेता त्यही क्षेत्रको मतदाता हो कि होइन भन्ने प्रश्न त्यो बेला गौण बन्छ । चौथो, सत्ता–केन्द्रित राजनीति । आजको निर्वाचन प्रतिस्पर्धा स्थानीय आवश्यकता भन्दा पनि केन्द्रको शक्ति समीकरणमा केन्द्रित हुँदै गएको छ । प्रधानमन्त्री बन्ने सम्भावना भएका नेताका लागि कुन क्षेत्रबाट जितिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । उनीहरूका लागि कुन क्षेत्रमा मेरो मताधिकार छ भन्ने विषय गौण रहन्छ । यो प्रवृत्तिले छोटो अवधिमा नेताहरूलाई फाइदा दिए पनि दीर्घकालीन अवस्थामा गम्भीर प्रश्न उठाउँछ । राजनीतिक विश्लेषकहरू यसमा नैतिकताको प्रश्न महत्त्वपूर्ण रहेको बताउँछन् । राजनीतिक विश्लेषक परशुराम घिमिरे मतदातालाई मतदान गर्न आह्वान गर्ने नेता आफैले त्यो क्षेत्रमा मत हाल्न नपाउनु प्रतीकात्मक रूपमा कमजोर सन्देश रहेको बताउँछन् ।  यसले स्थानीय प्रतिनिधित्वमा यसले ठुलो क्षति पुर्‍याउँछ । क्षेत्र नबुझेका, स्थानीय सरोकारसँग प्रत्यक्ष सम्बन्ध नराख्ने प्रतिनिधि निर्वाचित हुँदा स्थानीय मुद्दा ओझेलमा पर्न सक्छन् । अर्का विश्लेषक तथा राजनीतिशास्त्रका उपप्राध्यापक अर्जुनध्वज अर्यालले यसले राजनीतिप्रति वितृष्णा उत्पन्न गर्न सक्ने सम्भावना रहेको बताउँछन् । अर्याल भन्छन्, ‘मतदाता नै नभएको नेता हाम्रो क्षेत्रमा आएर जित्ने, भन्ने धारणा बढ्दै जाँदा नागरिकमा राजनीति प्रति असन्तोष बढ्न सक्छ ।’ उनका अनुसार यसले नेतृत्व र जनताबीच दूरी बढ्न सक्छ । मतदाता नामावली र उम्मेदवारी क्षेत्र फरक–फरक हुँदा नेता र मतदाताबीचको भावनात्मक तथा उत्तरदायित्वको सम्बन्ध कमजोर हुन सक्छ । अधिवक्तासमेत रहेका विश्लेषक घिमिरे आफैलाई मतदान गर्न नपाउने गरी निर्वाचन क्षेत्र सर्ने प्रवृत्ति कानुनी रूपमा गलत नभए पनि राजनीतिक नैतिकता र प्रतिनिधित्वको मर्मसँग ठोकिने विषय रहेको बताउँछन् ।

स्विङ क्षेत्र काठमाडौं–८ मा विराजभक्तले जोगाउलान् त विरासत ?

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ फेरि एकपटक चुनावी बहसको केन्द्रमा छ । राजधानीको सबैभन्दा कोरभित्र पर्ने यो क्षेत्रलाई राजनीतिक रूपमा स्विङ क्षेत्रका रूपमा हेरिँदै आएको छ । यस क्षेत्रका मतदाताको निर्णय प्रत्येक निर्वाचनपिच्छे बदलिँदै आएको देखिन्छ । विगतका निर्वाचन परिणाम हेर्दा काठमाडौं– ८ मा कुनै एक दलको निरन्तर वर्चस्व स्थापित हुन सकेको देखिँदैन । २०६३ पछि काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरियो । त्यसपछि यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरू समावेश गरिएको छ । यस्तै, नागार्जुन नगरपालिकाका ४ र ५ वडा यस क्षेत्रमा पारिएको छ । काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरिएपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी यस क्षेत्रबाट निर्वाचित भएर पहिलो संविधान सभामा प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा पनि जोशी नै निर्वाचित भए ।  २०७४ मा भने नेकपा एमालेले कांग्रेसलाई पराजित गर्दै सिट आफ्नो पक्षमा पारेको थियो । यस निर्वाचनमा जीवनराम श्रेष्ठ निर्वाचित भए । यी नतिजाले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यस क्षेत्रमा लामो समयदेखि चल्दै आएको देखिन्छ । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले काठमाडौं–८ को राजनीतिक चरित्रमा नयाँ मोड ल्यायो । परम्परागत ठूला दललाई पछि पार्दै वैकल्पिक धारका उम्मेदवारले सफलता हासिल गरेपछि यस क्षेत्रका मतदाताले नयाँ अनुहार र फरक राजनीतिक एजेन्डालाई पनि अवसर दिन सक्ने सन्देश गएको थियो । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका थिए । यसले काठमाडौं–८ लाई केवल कांग्रेस–एमालेको प्रतिस्पर्धामा सीमित नराखी बहुपक्षीय प्रतिस्पर्धाको क्षेत्रका रूपमा स्थापित गरिदिएको छ । हाल यस क्षेत्रमा पर्ने अधिकांश स्थान विगतमा एमालेकी साहना प्रधानले जितिरहेको क्षेत्र पर्दछ । २०४८ र ०५१ मा गरेर दुई पटक प्रतिनिधि सभा सदस्यमा प्रधानले जित हासिल गरेकी थिइन् । ०५६ मा भने एमालेकै अष्टलक्ष्मी शाक्य विजयी भएकी थिइन् । स्थानीय सावित्रा राजभण्डारीका अनुसार यस क्षेत्रका हरेक टोल र वडामा कांग्रेस, एमाले र रास्वपाको उस्तैउस्तै प्रभाव र पकड रहेको छ । यी दलबाहेक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा स्वतन्त्र समूहको उपस्थिति कमजोर नरहेको राजभण्डारीले जानकारी दिइन् । यही कारण आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको व्यक्तित्व, स्थानीय मुद्दाप्रतिको पकडले निर्णायक भूमिका खेल्ने राजभण्डारीको तर्क रहेको छ । आगामी निर्वाचनलाई हेर्दा काठमाडौ–८ मा पुनः कडा प्रतिस्पर्धा हुने लगभग निश्चित देखिन्छ । परम्परागत दलहरू आ-आफ्नो संगठन बलियो बनाउन प्रयासरत छन् । नयाँ र वैकल्पिक शक्तिहरूले अघिल्लो निर्वाचनको सफलतालाई निरन्तरता दिन खोजिरहेका छन् । सबै दलले यस क्षेत्रका मतदाताको मन जित्न विकास, सुशासन र सहरी व्यवस्थापनजस्ता मुद्दा मुख्य एजेन्डा बनाउने अनुमान गरिएको छ । विगतको उतारचढावपूर्ण नतिजा र वर्तमान राजनीतिक अवस्थालाई हेर्दा काठमाडौं–८ को चुनावी परिणाम अन्तिम समयसम्म अनिश्चित रहने सम्भावना उच्च छ । यही अनिश्चितताले यो क्षेत्रलाई आगामी निर्वाचनको सबैभन्दा चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्ये एक बनाएको छ ।  यस क्षेत्रका निवर्तमान सांसद विराजभक्त श्रेष्ठ दोस्रोपटक लोकप्रिय मतसहित पुनः प्रतिनिधि सभा पुग्ने लक्ष्यसहित निर्वाचनमा होमिएका छन् । गत निर्वाचनमा ८ हजार १०४ मतसहित निर्वाचित श्रेष्ठ यस पटकका पनि प्रबल दावेदार हुन् । अघिल्लो निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट मैदानमा उत्रिएका सुमन सायमी नेकपा प्रवेश गरेर मैदानमा उत्रिएका छन् । अघिल्लोपटक उपविजेता बनेका सायमी अहिले जित निकाल्न चाहन्छन् । पहिलोपटक प्रतिनिधि सभाको मैदानमा देखिएका एमालेका राजेश शाक्य ०४८ देखिको विरासत फर्काउने ध्यानमा छन् । स्थानीय स्तरमा निकै सक्रिय साहना शाक्य र अष्टलक्ष्मीको विरासत फर्काउने मेसोमा उनी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले नवीन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । राजभण्डारीले पनि आफ्ना श्रीमानले दुईपटक जितेको स्थानमा पुन जित निकाल्न चाहन्छिन् ।  २२ प्रतिस्पर्धी उम्मेदवारहरू विभिन्न दल र स्वतन्त्र हैसियतमा मैदानमा रहेको यस क्षेत्रमा रास्वपा, एमाले र कांग्रेस मुख्य दाबेदार रहेको नागार्जुन ५ का प्रकाश गिरी बताउँछन् । सामान्यतया निर्वाचन यिनै दलका अगाडि पछाडि नै घुमेको जस्तो देखिन्छ । कालीमाटीका सरोज श्रेष्ठ भने यो क्षेत्रका मतदाताको ट्रेण्ड बागी रहेकोले अहिलेसम्म नामै नसुनिएको उम्मेदवार पनि अगाडि आउन सक्ने दाबी गर्छन् । यस क्षेत्रका उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवीन शाही, जनता समाजवादी पार्टी (जसपा) बाट सरोजराज वैद्म, नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ उम्मेदवार रहेका छन् । यसैगरी, दिनेश शाहीले नेपाल जनता संरक्षण पार्टीबाट उम्मेदवारी दिएका छन् । रेशमबहादुर सुनार संयुक्त नागरिक पार्टीबाट मैदानमा छन् । राजेन्द्रप्रसाद शाहले नेपाल कम्युनिष्ट पार्टी संयुक्त र शिव सुन्दर कर्माचार्यले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका छन् ।     सलाम सिंह लामा, राजन खड्गी, विजय डंगोल, छत्र कुमार पाख्रिन, मुक्तिनाथ शर्मा,  खगेश रंजितकार, मुना न्यौपाने पाण्डे, तुलसा श्रेष्ठ महर्जन, विकास खड्गी, सुनिता महर्जन र सुशीला नेपालीले स्वतन्त्र उम्मेदवारी दिँदै मैदानमा छन् ।    

क्षेत्र नम्बर ९२ देखि गुल्मी–२ सम्म बदलिँदो जनमतको कथा

काठमाडौं । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का घरघरमा अहिले चुनावको रौनक छ । स्थानीय ९५ वर्षीय बुद्धिप्रसाद भुसाल भन्छन्, ‘यो क्षेत्रमा २००४ सालको पञ्चायत चुनावमा पनि उत्तिकै रौनक थियो । त्यो रौनक अहिलेपनि उस्तै छ । भुसालको अनुभवमा २०१५ को आमचुनाव त वडादशैंजस्तै थियो ।’  जिल्लाको तत्कालीन ९२ नम्बर निर्वाचन क्षेत्र हालको निर्वाचन क्षेत्र नम्बर २ हो । उक्त क्षेत्र २०१५ मा पनि हाईप्रोफाइल उम्मेदवारका कारण चर्चामा रहेको थियो । २०१५ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेता नीलाम्बर पन्थीका कारण चर्चामा थियो । २०१५ मा उच्च मतसहित निर्वाचित भएका पन्थी २०४८ मा राष्ट्रिय सभा सदस्यसमेत भएका थिए भने हाल यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट चौथो जित र एक हारसहित पाँचवटा निर्वाचनको अनुभव बोकेर छैटौं प्रतिस्पर्धामा रहेका छन् ।  फर्केर हेर्दा  २०१५ सालको आमनिर्वाचनमा देशलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । यो निर्वाचनमा ७८६ जना उम्मेदवारले भाग लिएका थिए । देशको कुल जनसंख्या करिब ८५ लाख ५० हजार रहेको थियो । यस निर्वाचनमा ४२ दशमलव १८ प्रतिशत मत खसेको थियो । गुल्मीको हाल निर्वाचन क्षेत्र नम्बर २ त्यतिखेर निर्वाचन क्षेत्र नम्बर ९२ थियो । उक्त ९२ नं निर्वाचन क्षेत्रमा धुर्कोट, इस्मा, मुसिकोट र मदाने समावेश थिए । यस क्षेत्रका प्रमुख दलहरूमा नेपाली कांग्रेस, राष्ट्रवादी गोर्खा परिषद, संयुक्त प्रजातान्त्रिक पार्टी, नेपाल प्रजा परिषद र प्रजातान्त्रिक महासभा पार्टीका उम्मेदवारहरू मैदानमा थिए । नेपाली कांग्रेसका उम्मेदवार नीलाम्बर पन्थीले ८ हजार मत प्राप्त गरेको डा. हरिप्रसाद भण्डारीले वस्तु स्मारिकाको यस क्षेत्रको निर्वाचन इतिहास भन्ने लेखमा उल्लेख गरेका छन् ।  पन्थीलाई टक्कर दिएका राष्ट्रवादी गोर्खा परिषद्का प्रेमबहादुर मल्लले    झुपडी चिन्हमा ६ हजार मत ल्याएका थिए । संयुक्त प्रजातान्त्रिक पार्टीका केशरजङ माझीले    ३ हजार मत प्राप्त गरेको डा. भण्डारीले उल्लेख गरेका छन् । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्वर ९२ बाट नेपाल प्रजा परिषद्का गोपालप्रसाद श्रेष्ठले २ हजार र प्रजातान्त्रिक महासभाका शमशेरबहादुर मल्लले १ हजार मत प्राप्त गरेका थिए । डा. भण्डारीका अनसार निर्वाचनअघि मतदाताको सूची गाउँगाउँमा संकलन गरिएको थियो । त्यो बेलामा करिब ४० हजार मतदाता थिए । मतदान नोट–समान टिकटमा गरिन्थ्यो । मतपत्र बाकसमा खसालिएपछि बाकसहरू इस्मा रजस्थल लगेर खुला चौरमा सर्वसाधारणको उपस्थितिमा मतगणना गरिएको भण्डारीले लेखेका छन् । उक्त निर्वाचनको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार निलाम्बर पन्थी सबैभन्दा बढी मत प्राप्त गरी विजयी भएका थिए । संयुक्त जनआन्दोलन २०४६ को सफलतापछि कांग्रेस, वाम मोर्चा र नागरिक समाज सम्मिलित अन्तरिम सरकार बन्यो ।  सोही सरकारले जारी गरेको नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ बैशाख २९ गते आम निर्वाचन सम्पन्न भयो ।  यस अघि २०१५ को निर्वाचनमा क्षेत्र नम्बर ९२ रहेको निर्वाचन क्षेत्र गुल्मी निर्वाचन क्षेत्र नम्बर ३ बन्यो । २०१५ मा कांग्रेसले जितेको उक्त क्षेत्रमा २०४८ मा पनि आफ्नो जित निकाल्यो । कांग्रेसका रुद्रमणि शर्माले १३ हजार ७३२ मत प्राप्त गरेका थिए । शर्माका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टंकप्रसाद पोखरेलले शर्माले भन्दा ३३५ मत कम ल्याएका थिए । पोखरेलले १३ हजार ३९७ मत पाएका थिए ।  २०१५ र २०४८ मा जित निकालेको कांग्रेसले यसपछि भने लय गुमाउँदै गयो । २०५१ को मध्यावधि निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेले पहिलो पटक जित निकाल्न सफल भयो । यस क्षेत्रमा २०४८ कै उम्मेदवार २०५१ मा पनि प्रतिस्पर्धामा थिए । मध्यावधि निर्वाचन २०५१ मा एमालेका पोखरेलले १४ हजार ३९७ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका शर्मा ७३२ मत कम ल्याएर पराजित भए । शर्माले १३ हजार ६६५ मत ल्याएका थिए । ०५६ मा पनि एमालेकै गोकर्णराज विष्ट उक्त क्षेत्रबाट निर्वाचित भए । विष्टले १८ हजार २० मत ल्याउँदा कांग्रेसका त्रैलोक्य प्रताप सेनले १५ हजार ७६४ मत प्राप्त गरेका थिए ।  तर २०६४ को पहिलो संविधान सभा निर्वाचनमा यस क्षेत्रमा एमाले ह्याट्रिक जित निकाल्नबाट भने चुक्यो । उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादीका चन्द्रबहादुर थापा सागरले विष्टलाई पराजित गरेका थिए । कांग्रेसका सुरेश भुसाल भने तेस्रो भएका थिए ।  थापा १६ हजार ५८१ मत प्राप्त गरी विजयी हुँदा विष्टले १५ हजार ८८१ मत प्राप्त गरेका थिए भने भुसालले १० हजार मत पाएका थिए । २०७० मा भने विष्टले सानदार कमब्याक गरे । उक्त निर्वाचनमा विष्टले १५ हजार १२ मत ल्याए भने नेपाली कांग्रेसका सेनले ८ हजार ७४५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवार बामदेव क्षेत्रीले ५ हजार २४२ मत ल्याएका थिए । यसपछि भने एमालेले लगातार जित हासिल गर्दै आएको छ । राज्य पुनर्संरचनापछि पहिलोपटक साविककाे ३ नं. क्षेत्र सबै र १ र २ निर्वाचन क्षेत्रका केही भाग जोडेर निर्वाचन क्षेत्र नम्बर २ भएपछि भएको आम निर्वाचन २०७४ मा एमालेका विष्टले ३४ हजार ६१८ मत पाएर जित निकालेका थिए । विष्टसँग पराजित कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए । यस्तै, २०७९ मा पनि एमालेका विष्टले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई पराजित गरेका थिए । विजेता विष्टले २८ हजार ५८५ मत ल्याएका थिए । उपविजेता बनेकी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन् ।  एमालेकै अग्रता कायम रहन सक्ने सम्भावना गुल्मी जिल्ला आगामी प्रतिनिधि सभा निर्वाचनको प्राथमिक दृष्टिकोणमा राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ । विगतका निर्वाचनमा क्षेत्रीय मतदाताले एमालेका उम्मेदवारलाई लगातार विजयी बनाएका थिए र २०७९ को नतिजाले यस ट्रेन्डलाई पुष्टिसमेत गरेको छ । यस आधारमा आगामी निर्वाचनमा पनि एमालेले यस क्षेत्रमा अग्रता कायम राख्न सक्ने सम्भावना उच्च देखिन्छ । एमाले नेताहरूका अनुसार गुल्मी‑२ मा एमालेप्रतिको जनसमर्थन बलियो रहेको छ । यहाँका ग्रामीण क्षेत्रका मतदाताले परम्परागत रूपमा पार्टीको स्थायित्व र विकासमूलक अभियानमा विश्वास देखाउँदै आएको एमालेका स्थानीय नेता विमल घिमिरेले दाबी गरे । यस क्षेत्रमा एमालेले पार्टी उपाध्यक्ष समेत रहेका निवर्तमान सांसद विष्टलाई नै उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि केही वडामा आफ्नो समर्थन बढाउन सक्ने सम्भावना रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् । कांग्रेसले विगतमा हेर्‍यौं अरूलाई, यसपटक भने कांग्रेसलाई हेर्न आग्रह गरेको स्थानीय नेता रविन्द्र घिमिरेले बताए । कांग्रेसले लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ २०७४ मा भएको स्थानीय चुनावमा रेसुंगा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । यसैगरी, २०७९ मा सम्पन्न आमनिर्वाचनमा प्रदेश सभा सदस्यमा उनी पराजित भएका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी नेपाल प्रहरीका निवृत्त प्रहरी नायव उपरीक्षक हुन् ।  त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ । उनी निजी विद्यालय सञ्चालक हुन् । उनी विशेषगरी मुसिकोट नगरपालिका क्षेत्रमा परिचित नेता हुन् ।

धनकुटामा राईबीच कडा प्रतिस्पर्धा, कांग्रेस र एमालेलाई प्रतिष्ठाको लडाइँ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलोमा गई मतदातासँग भोट मागिरहेका छन् । धनकुटामा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । एकमात्र क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट दिनेश राई उम्मेदवार बनेका छन् । उनी कांग्रेस जिल्ला सभापति पनि हुन् । धनकुटामा कांग्रेसको तर्फबाट शक्तिशाली दाबेदार मानिएका सुनिलबहादुर थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि राईले टिकट पाएका हुन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका थापा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । जबकि २०७० को निर्वाचनमा तिनै राईलाई पराजित गर्दै थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित भएका थिए ।  थापा राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । पिताको विरासत थाम्न नसकेर उनी नेपाली कांग्रेसमा समाहित भएका हुन् । कांग्रेसबाट टिकट पाएका राई धनकुटा तरुण दलको पूर्वअध्यक्ष, धनकुटा क्याम्पसको नेविसंघ पूर्वसभापति र महाधिवेशन प्रतिनिधिसमेत हुन् । यसपालि कोशी प्रदेशबाट नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अगुवाइ पनि उनै राईले गरेका थिए ।  राई धनकुटा कांग्रेसमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् । पार्टीभित्र फरक विचार र विरोधी स्वभाव भएकैले उनी धनकुटाको भूगोलमा भिजेका छन् । आगामी निर्वाचनमा आफ्नो पक्षमा मत पार्ने गरी उनी हाल घरदैलो अभियानमा पुगिसकेका छन् । कांग्रेसले फ्रेस र विवादरहित उम्मेदवार उठाएकाले निर्वाचित हुन सक्ने स्थनीय बताउँछन् । कांग्रेसका उम्मेदवार राईले पनि आफूले सहजै जित हासिल गर्ने बताए । ‘हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग हो । नयाँ वा पुरानो कुनै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन मात्र एमालेसँग हो,’ उनले भने । गत निर्वाचनमा वाम गठबन्धनको विरुद्धमा बागी उम्मेदवार खडा गरिएकाले पनि कांग्रेसको उम्मेदवार पराजित भएको उनको भनाइ छ । यसपटक सबै दलका सिंगल-सिंगल उम्मेदवार उठेकाले कांग्रेसले जित हासिल गर्ने उनको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा धेरै मत लिए पनि आफ्नो जित सुनिश्चित रहेको राईले जिकिर गरे ।  नेकपा एमालेले भने दुई पटक विजयी भइसकेका उम्मेदवार राजेन्द्र राईलाई उठाएको छ । राई धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन् । २०७० को संविधान सभा निर्वाचनमा पराजित भएपनि उनले २०७४ र २०७९ को निर्वाचनमा जित हासिल गरेका थिए । गत निर्वाचनमा राईले ३० हजार १०१ मत प्राप्त गरेका थिए । राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भइसकेका छन् । धनकुटाको मतदातालाई रिझाउन सकेकै कारण उनी दुई पटक निर्वाचित भएका हुन् । राई २०४७ सालमा अनेरास्ववियूको धनकुटा अध्यक्ष थिए । एमालेका तर्फबाट २०४९ मा तत्कालीन जिल्ला विकास समिति सदस्य बनेका उनी २०५४ मा जिविस उप-सभापतिसमेत भएका थिए ।  २०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर पार्टीमा काम गरेको अनुभव राईसँग छ । राईले निर्वाचित भएर गएपछि विकासका काम धेरै गरेकाले उनीप्रति धेरै मतदाताहरू आशावादी रहेकाे एमालेका नेताहरू बताउँछन् ।  तर कर्मचारीवृत्तमा भने राईको छवि राम्रो देखिँदैन । दुई वर्षअघि उनले पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियो सार्वजनिक भएको थियो । यद्यपि पार्टीले उनै राईलाई पुनः टिकट दिएको छ । उनी अहिले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । राईलाई तेस्रोपटक विजयी गराउन धनकुटा एमालेले वडा-वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसार अभियान सुरु गरिसकेको एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष शिव आङ्ला लिम्बु बताउँछन् । एमालेको उम्मेदवारले हार्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे ।  ‘अन्य राजनीतिक दलका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गर्न थालिसकेका छन् । राम्रो उम्मेदवार भएकैले अरू दलका कार्यकर्ता एमालेमा आकर्षित भएका छन्,’ अध्यक्ष लिम्बु भन्छन्, ‘जिल्लाभरका अधिकांश मतदाताहरू हाम्रो उम्मेदवारप्रति सकारात्मक छन् । हाम्रो उम्मेदवार विजयी हुनेमा सतप्रतिशत ढुक्क छौं ।’ गत निर्वाचनमा अन्य दलले गठबन्धन गर्दा पनि जित्न सफल भएको उनले स्मरण गराए ।  ‘फागुन २१ गते हुने निर्वाचनमा सबै दलका उम्मेदवारहरू सिंगल-सिंगल चुनावी मैदानमा छन् । सहजै विजयी हासिल गर्नेमा हामी विश्वस्त छौं,’ उनले प्रस्ट पारे । एमालेको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न अन्य दलका उम्मेदवार नभएको लिम्बुले जिकिर गरे । ‘हाम्रो प्रतिस्पर्धा भयो भने कांग्रेसको उम्मेदवारसँग मात्र हुन्छ । नयाँ दलका कुनै पनि उम्मेदवारसँग प्रतिस्पर्धा हुन्न । हामीसँग प्रतिस्पर्धा गर्ने कुनै पनि योग्य उम्मेदवार देखा परेका छैनन्,’ उनले सुनाए । रास्वपाको तर्फबाट उम्मेदवार दिनेश भण्डारी छन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले धनकुटामा उम्मेदवार उठाएको थिएन ।  धनकुटा रास्वपाका सभापति बालानन्द दाहालले पार्टीले तोकेको उम्मेदवारीलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसार गरिरहेको बताए । मतदाताको प्रतिक्रिया सकारात्मक पाइएकाले रास्वपा उम्मेदवारले राम्रो मत प्राप्त गर्न सक्ने उनको बुझाइ छ । ‘मतदातालाई पटक-पटक झुक्याउने काम भएको छ,’ उनले भने, ‘पुराना दलले मतदातालाई झुक्याएको कारण हाम्रो दलप्रति धेरै मतदाताहरू सकारात्मक रहेका छन् ।’ ‘रास्वपासँग ठूला दलका उम्मेदवारहरू आत्तिएका छन् । हाम्रो उम्मेदवारको प्रतिस्पर्धा ठूला दलसँग हुनेछ,’ उनको दाबी छ । क-कसले दिए उम्मेदवारी ? नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविवन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईले उम्मेदवारी दर्ता गराएका छन् । मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । ११९ वटा मतदानस्थल र १६६ वटा मतदान केन्द्र रहेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंलाई प्रश्न– झापामा सुरक्षा चुनौती बढेकै हो ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल या उम्मेदवारलाई जुलुस र घरदैलो नगर्न निर्देशन दियो । फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका छन् । यही सिलसिलामा झापामा निर्वाचनको माहोल बढिरहँदा जुलुसजस्ता अन्य गतिविधि गर्न नपाउने भएपछि विकासन्युजले झापाका सहायक जिल्ला प्रमुख अधिकारी तेज प्रकाश प्रसाईंसँग गरेको संक्षिप्त संवाद गरेको छ । अहिले पनि झापाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरू बिहानदेखि मतदातासँग भेटघाट गरिरहनु भएको छ ? निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारसँग निर्वाचन आचार संहिताको विषयलाई लिएर पर्याप्त छलफल गरेको थियो । तर राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना नगरेकाले जिल्ला प्रशासन कार्यालयले बाध्य भएर विज्ञप्ति निकाल्नु परेको हो । झापा जिल्लाको चुनावी माहोल हेर्दा सुरक्षाको दृष्टिकोणले अलिक संवेदनशील जस्तो देखिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशीले मतदानस्थलसमेत बढेका छन् । यसरी विज्ञप्ति निकाल्नुमा हामीले कसैलाई अवरोध गर्नु होइन । दलले गरेको वाचाहरू पुरा गर्नलाई स्मरण मात्र गराएका हौं । उम्मेदवारहरूको सुरक्षा र गर्न नसकेकाले नै जुलुस तथा घरदैलो कार्यक्रम रोक्न निर्देशन दिनु भएको हो ? निर्वाचनका लागि दलका उम्मेदवारले प्रारम्भिक घरदैलो सुरु गरिसकेका छन् । धेरै स्थानीयले विभिन्न दलका उम्मेदवारले घरदैलो अभियान चलाइसकेको भनेर खबर गर्ने गरेका छन् । यहाँ त्यस्तो छिटफुट घटना घटेमा हामी जिम्मेवार हुँदैनौं भनेर फोनमार्फत जानकारी गराउने कार्य भइरहेको छ । बाटो छेकेर सभा वा भेला गर्ने गरेको सुरक्षाको संवेदनशीलतालाई ख्याल गरेर हामीले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएका हौं । निर्वाचन आचारसंहितालाई देखाएर उम्मेदवारको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार रोक्न मिल्छ र ? उम्मेदवारलाई हामीले स्वतन्त्र रूपमा हिँडडुल गर्न रोकेका छैनौं । विभिन्न दलका उम्मेदवारलाई निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मात्र काम गर्नलाई निर्देशन दिएका छौं । दलले जारी गरेको घोषणापत्र निर्वाचन आयोगको निर्वाचन अधिकृत कार्यालयमा बुझाएपछि मात्र उम्मेदवारले घरदैलो गर्न पाउँछन् । धेरै उम्मेदवारहरूले अहिले घरदैलो कार्यक्रम गर्न थालिसक्नु भएको छ । हामीले निर्वाचन आचारसंहिता मात्र पालना गर्न भनेका छौं । दलले आफ्नो पार्टीको कमिटी गठन गर्न विभिन्न भेटघाट गर्न पाउने छन् । दलका सामान्य भेटघाटलाई हामीले रोक्न मिल्दैन ।  झापामा सुरक्षा चुनौती बढेकै हो ? निर्वाचनको सुरक्षालाई लिएरमा झापामा जोखिम बढेकै छ । कता–कता दलको गतिविधिलाई लिएर हामीले अलिक शंकास्पद दृष्टिले हेरिरहेका छौं । सुरक्षालाई हामीले एकदमै ध्यान दिएका छौं । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न र भयरहित वातावरणमा होस भनेर हामीले अगाडिबाट सचेत गराएका छौं । यसपालिको निर्वाचनमा झापामा अति संवेदनशील मतदानस्थलको संख्या वृद्धि भएको छ । सम्भावित दुर्घटना हुन नसकोस भनेर हामीले विभिन्न सुरक्षाका रणनीति अपनाएका छौं । निर्वाचनमा सहभागी दललाई संयमित हुन पनि आग्रह गरिरहेका छौं । झापामा २८५ वटा मतदान स्थल र ८१५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान स्थल ४३, संवेदनशील १४७ र अति संवेदनशील ९५ मतदानस्थल रहेका छन् ।

सुनसरी ४ मा पूर्वमन्त्रीको भीडन्त : ह्याट्रिक दौडमा कार्की र बदला लिने दाउमा जगदीश

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।  सुनसरीको क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्की सोही क्षेत्रबाट विजयी भएका थिए । दुई पटक निर्वाचित भइसकेका कार्की फागुन २१ गते हुने निर्वाचनमा ह्याट्रिक बनाउने तामझामसहित चुनावी मैदानमा कार्की कस्सेर लागिपरेका छन् । गत निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । उनी तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार थिए । पार्टी र सत्तामा पहुँच राख्दै आइरहेका खोज्ने कार्की लाई गत निर्वाचनमा जस्तो सहज छैन । गठबन्धन हुँदा पनि उनी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले मात्र विजयी भएका थिए । ४ नम्बर क्षेत्रका स्थानीयहरू उनलाई पर्यटक उम्मेदवार भन्ने गर्दछन् । भोजपुरमा पटक–पटक पराजित भएपछि कार्की सुनसरीतिर झरेका थिए ।  २०५१, २०५६ र २०६४ सालका तीनपटक चुनाव लडे पनि उनी पराजित भए ।  पहाडबाट तराई झरेसँगै उनी दुईपटक निर्वाचित भइसकेका छन् । स्थानीयहरू कार्कीसँग असन्तुष्ट छन् । दुई–दुई पटक सांसद भइसक्दा पनि केही गर्न नसकेको गुनासो उनीहरूको छ । घरदैलो अभियान व्यस्त कार्कीले हाल मतदाताहरूको प्रश्नको सामना गरिरहेका छन् ।  ४ नम्बर क्षेत्रबाट जितेर गएका व्यक्ति देशको प्रधानमन्त्री र मन्त्री बनिसके पनि यस क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको मतदाताहरूले आरोप लगाउने गरेका छन् । अहिलेको चुनावी घरदैलो कार्यक्रममा पहिलाजस्तो छैन । मतदाताहरूले उम्मेदवारहरूलाई विभिन्न प्रश्न गर्न थालेका छन् । धेरैले ‘पुरानाले केही गर्न सकेनन्’ भनी परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्दै आएको सुनिन्छ । सुनसरी ४ मा यसपटक कार्कीले पाइरहेको मत अन्यत्र जान सक्ने सम्भावना धेरै छ । किनभने स्थानीय स्तरका नेताहरूले टिकट नपाएकाले धेरैजना उनीप्रति रुष्ट बनेका छन् । नेपाली कांग्रेसमा नेतृत्त्व परिवर्तन भएको छ । गगन थापा सभापति भएका छन् । प्रतिनिधि सभाको निर्वाचन दिने टिकटमा उनै थापाले हस्ताक्षर गरेका छन् । यद्यपि कार्की विशेष महाधिवेशनको विपक्षमा थिए । उनी देउवा समूहमा भए पनि टिकट पाएका छन् । कार्यकर्ता र मतदाताले साथ दिएमा ४ नम्बर क्षेत्रमा पुनः ह्याट्रिक गर्ने प्रयासमा उनी छन् । यसैगरी, एमालेले पनि पुनः गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोर्याएको छ । कोशी प्रदेशका पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन् । एमालेले उनलाई अन्तिम समयमा आएर टिकट प्रदान गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल हुसेन अन्सारीलाई उम्मेदवारीको टिकट दिएको थियो । हुसेन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए । जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका थिए ।  पार्टीले सुरुमा कुसियैतलाई नै टिकट दिएको थियो । पछि एमालेमा प्रवेश गरेका हुसेनलाई टिकट दिएपछि सुनसरी एमालेमा तरंग फैलियो । चौतर्फी विरोधस्वरूप भएपछि कुसियैतले टिकट पाएका छन् ।  पार्टीले पनि यसवर्ष नेपाली कांग्रेसको उम्मेदवार कार्र्कीलाई टक्कर दिनसक्ने उम्मेदवारको रूपमा ठानेर उनैलाई टिकट दियो । २०७९ को निर्वाचनमा मात्र ११२ मतले कुसियैत पराजित भएका थिए । उनले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । सुनसरी– ४ कुसियैतको स्थानीय क्षेत्र भएकाले पनि उनलाई यस पटकको निर्वाचनमा मत प्राप्त गर्न कुनै कठिनाइ नहुने बुझिएको छ । उक्त निर्वाचन क्षेत्रमा कुसियैत समुदायका मानिसहरूको बाहुल्याता रहेको छ ।  गत निर्वाचनमा भन्दा एमालेको मत बढ्ने अपेक्षा पनि गरिएको छ । भर्खरै पार्टी परिवर्तन गरेका अब्दुल हुसेनका कारण कांग्रेसको मत कुसियैततर्फ जानसक्ने आंकलन स्थानीयस्तरमा हुन थालेको छ । प्रदेश सभामा निर्वाचित भएर गइसकेका कारण पाउने मत नहराउनेमा उनी विश्वस्त छन् । हेभीवेटको उम्मेदवार भएकाले कांग्रेसको जित पक्का नेपाली कांग्रेसका ४ नम्बरको क्षेत्रीय सभापति ऐयुब अन्सारीले यस पटकको निर्वाचनमा सहजै जित हासिल गर्ने बताए । ‘नेपाली कांग्रेसका उम्मदेवार मत माग्न घरदैलोमा लागिसक्नु भएको छ,’ उनले भने, ‘पटक–पटक जितेको उम्मेदवार हुनु भएकाले हाम्रो उम्मेदवारको विजयी हुने विश्वास छ ।’ धेरै उम्मेदवार उठेकाले मत विभाजन हुने भएकाले कांग्रेसको उम्मेदवारलाई फाइदा हुने देखिएको उनले बताए । ‘कांग्रेसले उठाएको उम्मेदवार हेभीवेटको हुनुहुन्छ र मन्त्रीसमेत भइसकेकाले यसपटक पनि यहाँको मतदाताले उहाँलाई विजयी गराउनु हुने कुरामा म ढुक्क छु,’ अन्सारीले भने । कांग्रेसको नेतृत्व फेरिएकाले हाम्रो उम्मेदवारले मत बढाउने उनको भनाइ छ । कांग्रेसको उम्मेदवारप्रति बाहिर कहीँ कतै नकरात्मक टिप्पणी नआएको उनको दावी छ ।  यसपटकको जित एमालेकै हो एमाले रामधुनी नगरपालिका नगर कमिटी सचिवालय  सदस्य कमल कार्कीले गत निर्वाचनमा एमालेको उम्मेदवार झिनो मतले पराजित भएकाले यसपटक विजयी हुने विश्वास व्यक्त गरे ।  अहिले एमालेका संगठित कार्यकर्ताहरू टोल–टोलमा आफ्नो उम्मेदवारलाई कसरी विजयी गराउने भनेर गृहकार्य गरिरहेको उनले बताए । ‘गत निर्वाचनमा कसरी एमालेका उम्मेदवार पराजित भए त्यसको समीक्षा गरेर अगाडि बढ्नेछौ,’ उनले भने, ‘हाम्रा कमजोरी कहाँ–कहाँ भए त्यसको पहिचान गरेर उम्मेदवारलाई विजयी बनाउने छौं ।’ कांग्रेसका उम्मेदवारप्रति यस क्षेत्रका मतदाता सन्तुष्ट नभएकाले एमालेको उम्मेदवारको विजयी सुनिश्चित भएको उनले दाबी गरे । ४ नम्बर क्षेत्रमा नयाँ दलले पुराना दलका उम्मेदवारलाई चुनौती दिन नसक्ने उनको ठहर छ । ‘एमालेको उम्मेदवारले पाउने मत यसपालि बढ्नेछ,’ नगर कमिटी सचिवालय सदस्य कार्की भन्छन्, ‘मत बढ्नु भनेको हाम्रो जित सुनिश्चित हो । एमालेबाट निर्वाचित स्थानीय तहका उम्मेदवारले कहाँ-कहाँ के-के  विकास त्यसको समीक्षा भइरहेको छ ।’ स्थानीय तहमा एमालेका जनप्रतिनिधिले विकासका मुद्दालाई लिएर उठाएकाले यस क्षेत्रमा एमालेको उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । अन्य को–को छन् उम्मेदवार ? महमद महफुज अन्सारी नेपाल कम्युनिष्ट पार्टी, दीपक कुमार साह रास्वपा, प्रेमप्रसाद भट्टराई राप्रपा, सबिता यादव जनता समाजवादी पार्टी, नेपाल,  कपलेश्वर यादव जनमत पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, मनकुमार राई मंगोल नेशनल अर्गनाइजेशन, रमेश कुमार शाह नेपाल जनता पार्टी, सत्य नारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी संयुक्त, एयुव अंसारी समावेशी समाजवादी पार्टी नेपाल, मो सदिक मिया संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विष्णुर राना श्रम संस्कृति पार्टी,  भेषराज बजगाई नेपाल कम्युनिष्ट पार्टी माओवादी, समिद खान राष्ट्र निर्माण दल नेपाल, तवरेज आलम अंसारी आम जनता पार्टी, शर्मानन्द खतिवडा स्वतन्त्र, तेजनारायण गोईत स्वतन्त्र, बुधेश्वर यादव स्वतन्त्र, मो गुलाब अंसारी स्वतन्त्र, पार्वती मुखिया स्वतन्त्र, मो तजमुल मिया स्वतन्त्र, अंकित कार्की स्वतन्त्र, हरि पराजुली स्वतन्त्र, महेन्द्र सुनचौरी स्वतन्त्र, रोजन विश्वकर्मा स्वतन्त्र, देवनारायण महत्तो स्वतन्त्र, कुन्दन कौसिक स्वतन्त्र, जलाल मिया स्वतन्त्र, फुल कुमारी खान स्वतन्त्र, उपेन्द्र कुमार साह स्वतन्त्र र स्वतन्त्र यमुना केसी लगायतका उम्मेदवार छन् । सुनसरी निर्वाचन कार्यालयका अनुसार ४ नम्बर क्षेत्रमा ४२ वटा मतदानस्थल छन् । १५० वटा मतदान केन्द्र रहेका छन् ।  उक्त क्षेत्रमा कोशी गाउँपालिकाको १ देखि ७ नम्बर वडा,  बराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा, रामधुनी नगरपालिका ४,  इनरूवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५,६ र ७ नम्बर वडा पर्छन् ।