अहिलेकाे समय लगानीकर्तालाई शेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर हो- साउद

  २०७६ मंसिर ९ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले यो समय नयाँ लगानीकर्तालाई सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर भएको बताएका छन् । नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको बताउँदै उनले बजारमा लगानी गर्न इच्छुकले आफ्नो क्षमताअनुसारको लगानी गर्दा फाइदा हुने बताएका हुन् ।

आइतबार नेप्सेद्धारा बुटवलमा आयोजित लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रममा सीईओ साउदले सो कुरा बताएका हुन् । साथै, उनले शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली नभएका दाबी गरेका छन् ।

नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुने बताएका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी प्रमुख निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ता नभएकाले बजारमा समस्या देखिएको बताए । बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको बताउँदै उनले अनलाइन प्रणालीमा गएपछि ब्रोकरसँगको समस्या नआउने धारणा राखेका छन् । साथै, उनले शेयर बजारका लगानीकर्तालाई कम्पनीको अध्ययन गरेर मात्रै पूँजी बजारमा प्रवेश गर्न आग्रह गरेका छन् ।

नेप्सले आइतबार बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिएको छ । साथै, बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने नेप्सेले दाबी गरेको छ ।

नेपालमा अहिलेसम्म १६ हजार ५३४ जनाले शेयर बजारमा अनलाइन प्रणालीको प्रयोग गरेका छन् भने प्रदेश नं ५ मा करिब एक हजारले यसको प्रयोग गरेको बताइएको छ ।