उन्नति लघुवित्तको एजीएम पुस २९ गते, लाभांशसहित सञ्चालकको बैठक भत्ता बढाउने विशेष प्रस्ताव

  २०७६ पुष ७ गते १०:५७     विकासन्युज

काठमाडौं । उन्तति लघुवित्त वित्तीय संस्थाको पाचौं वार्षिक साधारणसभा(एजीएम) आगामी पुस २९ गते बस्दै छ । उक्त सभा सो दिन बिहान १०ः३० बजे रुपन्देहीको चिल्ड्रेनपार्कस्थित होटल पौवामा बस्ने भएको हो ।

सभाले शेयरधनीलाई हालको चुक्ता पुँजीको ३८.६० प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, सभाले कर प्रयोजनको लागि चुक्ता पुँजीको २.०३ प्रतिशत नगद लाभांश प्रस्तावलाई स्वीकृत गर्ने छ ।

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने तथा यस सम्बन्धि सम्पूर्ण प्रस्तावहरुलाई सभाले अनुमोदन गर्ने छ । बोनस शेयरपश्चात संस्थाको चुक्ता पुँजी १२ करोड २३ लाख रुपैयाँ र सहकार्य लघुवित्त वित्तीय संस्थाको साउनसम्मको चुक्ता पुँजी तथा कल इन एडभान्स समेत गरी चुक्ता पुँजी तीन करोड ६२ लाख ५० हजार रुपैयाँ हुनेछ । शेयर आदान प्रदान अनुपात(शेयर स्वाप रेसियो) सहकार्य लघुवित्तको १०० कित्ता शेयर उन्नति लघुवित्तको ७५ कित्ता शेयर(अर्थात १ः०.७५) तोकिएको छ । उक्त शेयर प्रदान भए पश्चात कायम चुक्ता पुँजी २ करोड ७१ लाख रुपैयाँ गरी कूल चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ नाघ्ने संस्थाले जनाएको छ ।

साथै, सभाले सञ्चालक समितिको बैठक तथा सुविधा वृद्धि गर्ने विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ ।

सभामा जाने प्रयोजनका लागि आगामी पुस १५ गते संस्थाको बुक क्लोज हुने भएको छ । नेप्सेमा पुस १४ गतेसम्म कारोबार गरेका शेयरधनीहरुले सो मात्राको लाभांश पाउने तथा सभामा सहभागि हुन पाउने छन् ।