२०७६ कार्तिक ७ गते १५:२५ विकासन्युज
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । बिहीबार बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से ६.७३ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६.७३ प्रतिशतले बढेर ११४९ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार कूल १५५ कम्पनीको ३२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको भन्दा करिब दोब्बर बढी कारोबार हो । बुधबारको बजारमासाढे १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका मध्ये ७ वटा कम्पनीको करोडौं रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसमध्ये ६ वटा वाणिज्य बैंक र अर्को हाइड्रो कम्पनी रहेको छ । बिहीबार माछापुच्छ्रे बैंकको सबैभन्दा बढी अर्थात ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ३ करोड ४५ लाख, प्रभु बैंकको एक करोड ९६ लाख, सिद्धार्थ बैंकको एक करोड १३ लाख ६६ हजार र नेपाल बैंकको एक करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हाईड्रोपावर कम्पनीतर्फ रसुवागढी हाईड्रोपावरको एक करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् ।
बजारमा कारोबारमा आएका १२ वटा समूहमध्ये निर्जीवन बीमा समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २१ अंकले उकालो लागेको छ । उत्पादन समूह १६, होटल समूह १२ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । निर्जीवन बीमा समूह ८.१४ अंकले घटेको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । उक्त कम्पनीका सेयरधनीले बिहीबार ८.३३ प्रतिशतका दरले प्रतिकित्ता ८ रुपैयाँ बढी कमाएका हुन् ।
बजारमा विभिन्न कम्पनीहरुले त्रैमासिक विवरण सार्वजनिक गर्ने बेला भएको र त्यसको असर बजारमा देखिन थाल्ने भएपछि सेयर बजारमा सुधार आएको हो । सोही अवसर पारि केही बाठा लगानीकर्ताहरुले बजारमा कारोबारमा रहेको मध्यबाट राम्रा राम्रा कम्पनी छानी मौकाको फाइदा उठाउन थालेको देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.