२०७६ पुष २१ गते १५:३३ विकासन्युज
काठमाडौं । सोमबारको नेप्से परिसूचक १२००.६९ अंकमा पुगेको छ । जुन गत तीन महिना यताकै उच्च बिन्दु हो । गत भदौ २२ गते ११७८ बिन्दुमा रहेको नेप्से परिसूचक सोमबार १८.२६ अंकले बढेर १२ सय बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले बढेको हो ।
नेप्से परिसूचक तीन दिनमा लगातार ३४ अंकले बढेको छ । गत बिहीबार ११६६.२२ अंकमा रहेको नेप्से सोमबार १२००.६९ अंकमा पुगेको छ । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९३ अंकले बढेर २६० अंकमा पुगेको छ ।
गत बुधबारदेखि सोमबारसम्मको नेप्से चार्ट
बजारमा परिसूचमा मात्रै नभएर शेयर कारोबारमा पनि सुधार देखिएको छ । सोमबार मात्रै कूल १७८ कम्पनीको ८४ करोड २५ लाख रुपैयाँ शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन ८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको ३ करोड ७० लाख, शिवम् सिमेन्टस्को ३ करोड ६६ लाख र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका ट्रेडिङ् समूह बाहेक बाँकी सबै समूह हरिया देखिएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा बढी ३३ अंकले उकालो लागेको छ । ट्रेडिङ् समूह भने १२.२६ अंकले ओरालो लागेको छ ।
सोमबार वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । संस्थाको शेयर मूल्य प्रतिकित्ता ७४२ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.