नेप्से र कारोबार रकम दुबैमा गिरावट, दुई समूह बाहेक सबै समूह राताम्मे

  २०७६ जेठ १९ गते १५:४२     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । आइतबार कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से बजार बन्द हुँदा १३.७९ अंकले घटेर १३०५.६८ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.०५ प्रतिशत घटी हो ।

दोहोरो अंकले घटेको बजारमा कूल ७५ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल १६६ कम्पनीको २० लाख ७८ हजार कित्ता सेयर सो मूल्यमा किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सको १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार १७३ रुपैयाँ रहेको छ ।

त्यस्तै, कारोबारमा आएका मध्ये दुई समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । कारोबारमा ११ वटा समूह मध्ये होटल र उत्पादनमूलक समूह क्रमशः १२.६१ र १०.११ अंकले बढेको छ । राताम्मे हुने मध्ये सबैभन्दा बढी जीवन बीमा समूह ५९ अंकले ओरालो लागेको छ ।

घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कन्काई विकास बैंक र तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य क्रमशः ९.८८ र ९.८० प्रतिशतले बढेको छ । सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.८२ प्रतिशत गुमाएका छन् ।